

महेन्द्रनगर । सुदूरपश्चिम सरकारले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रावललाई सरकारको प्रवक्ता बनाएको छ । बुधवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्री रावललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।
एमाले नेकपा सत्ता गठबन्धनपछि खगराज भट्ट नेतृत्वमा रावल नेकपाबाट मन्त्री भएका हुन् । उनी कञ्चनपुर निर्वाचन क्षेत्र ३ क बाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।
२०७९ मा तत्कालिन नेकपा माओवादी, नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेस चुनाव तालमेल गरी चुनाव लडेका थिए ।
कञ्चनपुर ३ क मा रावलका लागि तत्कालिन समाजवादीले गठबन्धनमा अन्तिमसम्म प्रयास गरेको थियो । माओवादी केन्द्रले अडान नछाडेपछि प्रदेश सभामा गठबन्धन भत्किएको थियो ।
रावल समाजवादीबाट गठबन्धनसित प्रतिस्पर्धा गर्न चुनावी मैदानमा होमिएका थिए । उनी समाजवादीमा आफ्नै पार्टी सहितको एउटा र एमाले राप्रपाको अर्को गठबन्धनसित चुनाव लडेका थिए ।
दुबै गठबन्धनलाई पराजित गरी रावलले दोस्रो पटक प्रदेश सभा सदस्य यात्रालाई निरन्तरता दिएका थिए । यस अघि उनी २०७४ मा पहिलो पटक प्रदेश सभा सदस्य निर्वाचित भई सकेका थिए ।
वन मन्त्रालयमा रावल मन्त्री भएर दोस्रो पटक पुगेका हुन् । यस अघि उनी २०७६ मा राज्यमन्त्री भएका थिए ।

यस पटक रावल भौतिक पूर्वाधार विकास मन्त्री हुने गरी लबिङ्ग अघि बढाएका थिए । उनी नेकपको कञ्चनपुर इन्चार्ज हुन् ।
सत्तारुढ नेकपाभित्र लामो छलफलपछि रावल भौतिक मन्त्रालय छाडेर वन मन्त्रालयमा आएका हुन् । वन मन्त्री भएपछि उनले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका कार्यमा आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।
बुधवार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत क्षेत्रमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै यस दुःखद् समयमा नेपाल सरकारले गरिरहेको उद्धार तथा राहतका कार्यमा ऐक्यबद्धता जनाउने निर्णय गरेको हो ।
बैठकले खोज, उद्धार तथा राहत कार्यमा सरकारलाई सहयोग गर्न सबैमा अपिल गर्ने निर्णय गरेको मन्त्री रावलले जानकारी दिए ।
यसैगरी, धनगढी उपमहानगरपालिका–३ स्थित शान्ति सामुदायिक वनको चार दशमलव ८१ हेक्टर जग्गामा बसपार्क निर्माण गर्ने प्रस्ताव गरेकाले त्यसका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले अघि सारेका दुई वैकल्पिक सडकलाई उच्च प्राथमिकतामा राखी निर्माण गर्ने निर्णयसमेत गरिएको छ । जसअनुसार कञ्चनपुरको कृष्णपुर, डडेल्धुरा, बैतडी र बझाङ जोड्ने दैजी–लिप्ना–जोगबुढा–ढुङ्गादेउरा सडक तथा कञ्चनपुर, डडेल्धुरा र डोटी जोड्ने बैलौरी भन्सार–कलुवापुर–नाइल–बुडर सडक रहेका छन् ।
यस्तै, सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशअन्तर्गतका सबै निकायमा स्तनपान कक्ष स्थापना तथा सञ्चालनमा ल्याउने निर्णयसमेत गरिएको छ ।
ती सबै निकायमा महिला, पुरुष, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका लागि छुट्टाछुट्टै शौचालय निर्माण गर्ने र स्यानिटरी प्याडको सहज तथा नियमित व्यवस्थापन गर्ने निर्णय भएको छ ।
