

महेन्द्रनगर । पूर्व गृहमन्त्री रमेश लेखक आइतबार महेन्द्रनगरस्थित घरबाट दोधारा चाँदनी नगरपालिका स्तरीय कार्यकर्ता भेटघाटका लागि निस्कन अघि नेता कार्यकर्ता पुगि सकेका थिए ।
भृकुटी माध्यमिक विद्यालय दक्षिण पश्चिममा लेखकको पक्की घर छ । काठमाडांैबाट शनिबार गृह जिल्ला आएपछि लेखक घरमा बसेका हुन् । उनी १० बजेपछि दोधारा चाँदनी नगरपालिका कार्यक्रमका लागि निस्किएका थिए ।
‘यो घर अचेल यस्तो देखिएछ, मलाई त यस्तो होला भन्ने लागेकै थिएन’ घर बाहिर भेटिएका भीमदत्त नगरपालिका ५ का सुरेश खड्काले भने, ‘मर्मत सम्भार गरी पहिलेकै जस्तो बनाइएको रहेछ ।’
गत वर्ष भदौ २४ गतेका दिन घर खण्डहर र विद्रुप बनेको स्मरण खड्काले गरे । घरको दोस्रो तलाको रेलिङ्गलका केही भागमा अझै पनि कालो मुस्लो टाँसिएको छ ।
जेन जी आन्दोलनमा भदौ २४ गते तत्कालिन गृह मन्त्री लेखकको घरमा आगजनी तोडफोड गरिएको थियो । यस बाहेक बेदकाट नगरपालिका ८ स्थित घर पनि आगजनी गरी ध्वस्त गरिएको थियो ।
लेखकले बजारको घर मर्मत सम्भार गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा आगजनीपछि निस्केको समूहले बेदकोट घरमा आगजनी गरेपछि लेखकको बजार घरमा आएको थियो ।
घर आगजनी भएपछि लेखकले आएर दुबै घर हेरेका थिए । त्यसपछि उनी तीन चार पटक महेन्द्रनगर आएका छन् । उनी काठमाडांैबाट आएपछि अहिले प्रायः बजारको घरमा बस्ने गरेका छन् ।

अहिले काठमाडांैबाट आएपछि लेखक यहीं घरमा बसेर राजनीतिक तथा व्यक्तिगत भेटघाट र छलफल गरि रहेका छन् । आमाको निधनपछि बरखी(वार्षिकी) बसेकाले लेखक घर बाहिर कम निस्कने गरेका छन् ।
गत वर्ष सरकारको गृहमन्त्री भएर आएका लेखक यहीं घरमा बसेर काठमाडांै फर्किएका थिए ।
निर्माण व्यवसायी संघ कञ्चनपुरको साधारण सभा तथा अधिवेशन उद्घाटनका आएका उनले आफ्नो निर्वाचन क्षेत्रको भीमदत्त र दोधारा चाँदनीका वासिन्दासित भेटघाट गरेका थिए ।
भदौ २२ गते लेखक काठमाडांै फर्किएको दोस्रो दिन भदौ २३ गते जेन जी आन्दोलन भएको थियो ।
तत्कालिन सरकारले सामाजिक सञ्जालमा लगाएको प्रतिवन्ध र भ्रष्टाचार विरुद्ध जेन जी सडकमा आएका थिए ।

आन्दोलन चर्किएपछि प्रहरीले बल प्रयोग गर्दा १९ जनाको ज्यान गएपछि देशभर फैलिएको थियो ।
त्यसपछि तत्कालिन गृहमन्त्री लेखकले नैतिकताका आधारमा राजीनामा दिएका थिए ।
लेखकले गृहमन्त्रीबाट राजीनामा दिएपछि अर्को दिन भदौ २४ गते उनका घरमा आगजनी र तोडफोड गरिएको थियो ।
आगजनी र तोडफोडबाट लेखकका दुबै घरमा ध्वस्त भएका थिए । त्यसपछि बजारको घरमा मर्मत सम्भार गरिएको हो । अहिले लेखक यहीं घरमा बसेका छन् ।
लेखकले गृहमन्त्रीबाट राजीनामा दिएपछि घर सुरक्षाका लागि पुगेका सुरक्षाकर्मीलाई भगाएर आगो लगाइएको थियो ।
गत वर्ष लेखक सत्ता र पार्टी दुबैमा शक्तिशाली नेता थिए । उनी गृहमन्त्रीसंगै काँग्रेस केन्द्रीय सदस्य समेत थिए ।
अहिले लेखकसित यी दुबै छैनन् । काँग्रेस विशेष महाधिवेशनले केन्द्रीय सदस्य गुमेपछि अहिले लेखक काँग्रेसभित्र देउवा समूहका नेता मानिएका छन् ।
आइतबार दोधारा चाँदनीमा गरिएको कार्यकर्ता भेटघाटमा लेखक आफूले पनि पटक पटक आफ्नो समूह भनेर उच्चारण गरेका थिए ।
शनिबार जिल्ला आएपछि उनले अर्का नेता एनपी साउँदसंगै जिल्लाभर काँग्रेसका देउवा समूहका नेता कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गरेका छन् ।
कार्यकर्ता भेटघाट सकिएपछि लेखक बिहीबारसम्म काठमाडौं फर्किने नेताहरु बताउँछन् ।
मंगलबार लेखकले आफ्नै कार्यकर्तासित भेटघाट गर्दा संस्थापन समूहले पार्टी कार्यालयमा कार्यक्रम राखेको छ । यसमा जेन जी आन्दोलन अघि लेखकलाई बलियो साथ दिएका नेताहरु पनि सहभागी भएका छन् ।
पार्टी कार्यालयमा आइतबार लेखकले काँग्रेस विभाजनबाट बचाउन अधिवेशन रोक्न र अदालतको निर्णय पर्खिनु पर्ने बताएका थिए ।
मंगलबार पार्टी कार्यालयमा संस्थापनले कार्यक्रम गर्दा लेखकको घरमा धेरै नेता कार्यकर्ता पुगेका छन् । उनीहरु सबैसित लेखकले भेटघाट गरी समसामयिक राजनीति, काँग्रेसको एकता लगायतका विषयमा कुरा गरेको नेताहरुले बताए ।
सत्ता र पार्टी दुबैबाट बाहिरिएका लेखकको व्यवहार अझै पनि नेता कार्यकर्तासित पुरानो भएको उनीहरु बताउँछन् ।
लेखक व्यवहारिक नेताका रुपमा चिनिन्छन् । पत्रकारिता र वकालत दुबै गरि सकेका उनी २०५६ देखि साँसद भएर चार पटक मन्त्री भइ सकेका छन् ।
