
जेन जी आन्दोलनमा जलेको पार्टी कार्यालयको हालत सामाजिक सञ्जालमा दर्शाउँदै काँग्रेस नेता गुरुङ्गले गरे १५ औं महाधिवेशन नलड्ने घोषणा

महेन्द्रनगर । नेपाली काँग्रेसका नेता गोपाल गुरुङ्गले १५ आंै महाधिवेशन नलड्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालबाट बिहीबार साँझ नेता गुरुङ्गले महाधिवेशन नलड्ने घोषणा गरेका छन् । १५ औं महाधिवेशनबाट गुरुङ्गले कञ्चनपुर काँग्रेसको नेतृत्व लिने चाहना राखेका थिए ।
गुरुङ्ग यस अघि कञ्चनपुर काँग्रेस उप सभापति भई सकेका छन् । १५ औं महाधिवेशनबाट जिल्ला सभापति हुने चाहना उनले नेता कार्यकर्तासित राखेका थिए ।
अहिले गुरुङ्गले सामाजिक सञ्जालबाट अचानक महाधिवेशन लड्ने घोषणा गरेका छन् ।
‘पार्टी यो अवस्थामा भएको देखेर १५ औं महाधिवेशनमा कुनै पनि पदमा निर्वाचन लड्ने भीष्म प्रतिज्ञा गर्दछु’ उनले सामाजिक सञ्जालमा भनेका छन् ।
गत वर्ष भदौ २४ गते जेन जी आन्दोलनका क्रममा काँग्रेस पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो ।
आगजनी गरिएको कार्यालयलाई अघि मर्मत सम्भार गरी पार्टी कामकाज सञ्चालन गरिएको थियो ।
गुरुङ्ग पार्टी कार्यालयको अवस्था देखेर सामाजिक सञ्जालमा दुःखी भएको उल्लेख गरेका छन् ।
पार्टी कार्यालयमा काँग्रेस संस्थापन र देउवा समूहका एकपछि अर्को कार्यक्रम गरे पनि पार्टी कार्यालय पुनः निर्माणमा ध्यान नदिएको असन्तुष्टि पोखेका छन् ।
काँग्रेस संस्थापन र देउवा समूह पार्टी महाधिवेशन तयारीका लागि पार्टी कार्यालयमा कार्यक्रम गरेका हुन् । देउवा समूहले आइतबार र त्यसको तीन दिनपछि संस्थापनले कार्यक्रम गरेको छ ।

देउवा समूहले पार्टी कार्यालयमा गरेको कार्यक्रमलाई कार्यकर्ता भेला भनेको छ भने संस्थापनले अगुवा कार्यकर्ता भनेर कार्यक्रम गरेको छ ।
‘जलाएको पार्टी कार्यालयमा न बिजुली छ, बत्ती छ, न शौचालय छ, चारैतिर फोहर व्यवस्थापन भएको छैन’ गुरुङ्गले भनेका छन्, ‘हामी देश बनाउने संगठन निर्माण गर्नेहरुमध्ये कसैले पनि भनेनौ सबै मिलीजुली पार्टी कार्यालय पुनः निर्माण गरौ ।’
जेन जी आन्दोलन एक वर्ष पुगेको उल्लेख गर्दै उनले त्यहीं पार्टी कार्यालयभित्र नेता, साँसद, मन्त्री सबैलाई भाषण मात्रै गर्न परेको दुःखेसो गरेका छन् ।
गुरुङ्ग काँग्रेस संस्थापन समूहका हुन् । गत वर्ष काठमाडौंमा भएको विशेष महाधिवेशनमा सहभागी भएका थिए ।
विशेष महाधिवेशन अघि उनी कञ्चनपुर काँग्रेसका तत्कालिन दुई समूहमा रमेश लेखक नजिकका थिए । लेखक नजिक हुन अघि भने उनी कोइराला समूहका नेता थिए ।
विशेष महाधिवेशन अघि कञ्चनपुर काँग्रेसमा तत्कालिन संस्थापन देउवाका रमेश लेखक र एनपी साउद समूह तथा संस्थापन इतर कोइराला समूह छुट्टै थियो ।
पछि कोइराला समूहका अधिकाँश नेता लेखक समूहमा मिसिएका थिए ।
गुरुङ्ग काँग्रेसभित्र पुराना, निष्ठावान् र प्रभावशाली नेता मानिन्छन् । उनी पार्टीभित्र हक्की, मिलनसार र प्रष्ट बोल्ने नेताको पहिचान बनाएका छन् ।
उनी २०७४ को प्रदेश सभा निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट उम्मेदवार भएका थिए । उनले ९ हजार २ सय ९० मत ल्याएका थिए ।
काँग्रेस महाधिवेशन प्रतिनिधि गुरुङ्ग भीमदत्त नगरपालिका ५ का वासिन्दा हुन् ।
