

महेन्द्रनगर । काँग्रेस नेता कमल राज चटौत शनिबार बिहानै भीमदत्त ६ को डा अधिवेशनका लागि निर्वाचन स्थल पुगे। उनी काँग्रेस कञ्चनपुर ३ को प्रदेश क को सभापति छन् ।
निर्वाचन अधिकृतलाई निर्वाचन प्रक्रियामा सहयोग, नेता कार्यकर्तासित कुराकानी, भेटघाटमा उनी दिन भरि व्यस्त भए ।
वडा अधिवेशनमा सहभागी उनको अघिल्लो १४ औ महाधिवेशन जस्तो ढुक्क मन भने छैन । उनी यसलाई परिस्थितिको उपज मान्छन् ।
चटौतले १४ औ महाधिवेशन जसरी सबै नेता कार्यकर्ता सहभागी नहँुदा दुःख लागेको बताए । उनी परिस्थितिले अहिलेको अवस्था आएको बताउँछन् ।
चटौत भविष्यमा फेरि एक हुनेमा भने आशावादी छन् । भन्छन्, ‘दुःख त लागेको छ, समय नै हो, परिस्थितिले यस्तो भएको हो, भविष्य मा एक हुने नै छौ ।’
चटौत सहित भीमदत्त ६ का काङ्ग्रेस नेताहरु सुदूरपश्चिम सरकारका पूर्व मन्त्री बहादुर थापा, काँग्रेस कञ्चनपुरका पूर्व कोषाध्यक्ष कृष्ण कुवर क्षेत्री, महाधिवेशनका केन्द्रिय प्रतिनिधि पदम राज पन्त लगायत नेता सहभागी थिए ।
काङ्ग्रेस कञ्चनपुरका पूर्व कोषाध्यक्ष क्षेत्रीले २०८४ को सनिर्वाचन अघि पार्टी एक ठाउमा आउने दाबी गरे । ‘अहिले दुई ठाउँमा देखिए पनि भोलि दुबैले आउनु पर्ने एकै ठाउँमा हो’ उनले भने ।
भीमदत्त १८ को वडा अधिवेशनमा सहभागी हरिदत्त पाण्डेय काँग्रेसभित्र केही नेताको जुगाको लडाई चलि रहेको बताउँछन् । केही समय अलग भएर पनि एक ठाउँमा आउन पर्ने पाण्डेय बताउँछन् । ‘केही नेताको जुगाको लडाई हो, एक त हुने हुनु पर्ने नै हो, तर कहिले हुन्छ’ उनी भन्छन् ।
काँग्रेस बिशेष महाधिवेशन पछि पार्टीका दुई समूह भएर १५ औ महाधिवेशन गर्ने सम्म पुगेका छन् ।
गगन थापा नेतृत्वको काँग्रेस संस्थापनले असोज ३ गते वडा अधिवेशन गरेको छ । संस्थापन इतर निवर्तमान सभापति शेर बहादुर देउवा समूहले असोज १५ गते वडा अधिवेशन घोषणा गरेको छ ।
देउवा समूहले पार्टी एकताका लागि आधिकारिकता बिबाद सर्वोच्च अदालतबाट किनारा नलागेसम्म म संस्थापनले घोषित अधिवेशन रोक्नु पर्ने शर्त अघि सारेको थियो ।
संस्थापनले रोके आफूहरु आफ्नो निर्वाचन कार्यक्रम रोक्ने बताएको थियो । देउवा समूह अदालतमा बिशेष महाधिवेशनको आधिकारिकता बिचाराधिन भएको र १४ औ कार्य समितिले १५ औ महाधिवेशन गर्ने अधिकार भएको दाबी गर्दै आएको छ ।
भदौ तेस्रो साता गृह जिल्लाका कार्यक्रममा काँग्रेस नेता रमेश लेखकले पार्टी एकताका लागि दुबैले घोषित अधिवेशन रोक्नु पर्ने र अदालतको आदेश पर्खिनु पर्ने शर्त राखेका थिए ।
काङ्ग्रेस संस्थापनले केही दिनका लागि वडा अधिवेशन मिति हेरफेर गरी असोज ३ र ४ गते अधिवेशन गरेपछि देउवा समूह पनि घोषित कार्यक्रम अनुसार असोज १५ गते अधिवेशन गर्ने नेताहरु बताउँछन् ।

काङ्ग्रेसका दुवै समूह अधिवेशन गर्न थाले पनि नेता कायर््कर्ता अझै पनि पार्टी एक हुने आशले आ आफ्ना समूहमा सहभागी हुन थालेका छन् ।
उनीहरु अन्तिम सम्म मिलेर काङ्ग्रेस एक बनाउनु पर्ने बताउँछन् ।
काँग्रेस नेता भीमदत्त नगरपालिकाका पूर्व उप मेयर यज्ञ राज चटौतले पार्टी बिभाजन हुन कुनै पनि हालतमा ठिक नहुने बताए ।
‘यो त कुनै हालतमा ठिक होइन, बिभाजन त राम्रो हँुदै होइन नि’ उनले भने, ‘अन्तिम सम्म पनि मिलेर एक हुनु पर्छ, मिलेन भने त एउटाले आधिकारिकता पाउने कुरा हुन्छ नै ।’
चटौत भीमदत्त १७ बाट क्षेत्रीय प्रतिनिधि चुनिएका छन् । उनी २०४९ मा उप मेयर भएका थिए ।
वडा अधिवेशनमा आएका रतन बहादुर हमालले पार्टी एक नभएर अधिवेशन हुदा कार्यकर्ता खिन्न हुन पुगेको बताउँछन् ।
शनिवारदेखि कञ्चनपुरका सबै ९२ वडामा अधिवेशन सुरु भएको हो । भीमदत्तको ११, बेदकोट ८ र दोधारा चादनी ५ नम्बर बाहेक अन्य वडामा सर्वसम्मत वडा समिति र क्षेत्रीय प्रतिनिधि चुनिएका छन् ।
बेदकोट ८ मा आइतबार वडा समिति चयन भएको छ । कञ्चनपुर १ मा सबै भन्दा वढी ३२ वडा छन् ।
काँग्रेस महाधिवेशका लागि केन्द्रिय प्रतिनिधि पन्त पार्टी एक हुने गरी अहिलेसम्म प्रयास हुँदै आएको बताउँछन् ।
पार्टीले आफूलाई केन्द्रिय प्रतिनिधिको जिम्मेवारी दिएपछि जिल्लाका सबै नेतासित छलफल गरिएको बताउँछन् ।
बिशेष महाधिवेशन पछि मिल्ने प्रयास भएको पन्तले बताए ।
काँग्रेसका बौद्धिक नेता लालमनी पाण्डेय पार्टी संस्थापनको निर्वाचन बिधान अनुसार नभएको बताउँछन् । ‘यो पार्टी बिधान अनुसारको होइन, यो त देशमा अस्थिरता चाहने शक्तिले पार्टी बिभाजन गर्न खोजेको हो’ उनले भने,बिधि बिधान मिचेर अधिवेशन गरिनु हँुदैन थियो ।’
काँग्रेस १४ औ महाधिवेशनबाट जिल्ला सचिव भएका भीम भट्ट असोज ३ को अधिवेशनले पार्टी बिभाजनतिर धकेलेको उल्लेख गर्दै अझै पनि वार्ता र छलफल गरी एकता कायम राख्न सकिने झिनो सम्भावना भएको बताउँछन् ।
‘बिशेष महाधिवेशनको भ्यालिड हुने नहुने कुरा अदालतको हातमा छ, भोसल १४ औ महाधिवेशनको निर्वाचित समितिले नै १५ औ गर्ने कुरा हुन सक्छ’ सचिव भट्टले भने, ‘त्यसैले यी कुरा नगरी अहिले वडा अधिवेशन गर्न नहुने हो ।’
सचिव भट्टले अधिवेशनमा कुनै पनि ५१ प्रतिशत सदस्य नपुगेको जानकारी आएकाले निर्वाचनको वैधता पनि समस्यामा पर्न सक्ने बताए ।
उनले अझै पनि पार्टी एकताका लागि सबैको सहमति र सहकार्य हुनु पर्ने बताए । ‘हामीलाई त सरासर यो निर्वाचन मान्य छैन, निर्वाचन त सीटिङ्ग समितिले गर्ने हो’ उनले भने ।
