

महेन्द्रनगर । काँग्रेस पार्टी कार्यालयमा मंगलबार काँग्रेस संस्थापन इतर समूहको भीमदत्त नगर अधिवेशन उद्घाटन समापन गर्र्दै नगर उप सभापति दिपेन्द्र विष्टले स्वर्गिय नगर सभापति अच्युतराज कलौनी आफूहरुसित नभएकोमा दुःख व्यक्त गर्दै उनलाई श्रद्धाञ्जली दिएका थिए ।
नगर उप सभापति विष्टले नगर अधिवेशन उद्घाटन कार्यक्रमको अध्यक्षतामा गरेका थिए । काँग्रेस निवर्तमान केन्द्रीय सदस्य पूर्व मन्त्री एनपी साउदको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम गरिएको थियो ।
‘आज म यो मञ्चमा आएर बोल्दै गर्दा निकै दुःखी छ, मेरो नेता आज हामीसित यो मञ्चमा हुनु हुन्न, उमेरमा त म भन्दा जुनियर हुन्, तर मलाई राजनीतिमा सक्रिय गराउने जुझारु नेता अच्युतराज कलौनी नहुँदा म खुसी छैन, निकै दुःखी छु’ विष्टले भने, ‘वहाँको आत्माको शान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गर्दछु ।’
काँग्रेस १४ औं महाधिवेशनमा कलौनी नगर सभापतिमा निर्वाचित हुँदा विष्ट उनकै टीमबाट उप सभापति भएका थिए ।
१४ औं महाधिवेशनमा आशिष खत्रीलाई पराजित गरी कलौनी नगर सभापति भएका थिए । कलौनीको टीमबाट उप सभापति विष्ट, सुशिल कुमार भट्ट, सचिव राहुल भट्ट, नितु भट्ट, सह सचिव केशवराज पाण्डेय नन्दराज पन्त निर्वाचित भएका थिए ।
कलौनी टीमलाई काँग्रेस नेता रमेश लेखकको साथ थियो । अहिले नगर अधिवेशन उद्घाटन गरेका साउँदका टीमका खत्री सहित सबै पराजित भएका थिए ।
१४ औं महाधिवेशनसम्म पुग्दा विष्टले १४ औं टीमका आफ्नै सारथी कलौनी सहित उप सभापति सुशिल भट्ट र सह सचिव केशव पाण्डेय आफूबाट टाढा पाएका छन् ।
उनीहरुमध्ये कलौनीको दुई वर्ष अघि निधन भएको थियो । त्यस बाहेक भट्ट र पाण्डेय काँग्रेस विशेष महाधिवेशनपछि संस्थापन पुगेका छन् । १४ औं महाधिवेशन नग उप सभापति केही दिन अघि संस्थापनबाट नगर सभापति भई सकेका छन् ।
१४ औं महाधिवेशनका सचिवद्वय भट्ट दुबै जना विष्टसित छन् । विष्ट नगर अधिवेशनबाट नेतृत्वको दाबेदार छन् । उनीसंगै निवर्तमान सचिव राहुल भट्ट प्रतिस्पर्धी भएका छन् ।
१४ औं महाधिवेशनमा एकै टीमका सारथी अहिले काँग्रेस संस्थापन इतर समूहको अधिवेशनमा भिड्ने अन्तिम तयारीमा छन् ।

निवर्तमान सचिव नितु भट्ट भने नगर समिति बाहिर भएकी छन् । उनी महाधिवेशन प्रतिनिधि हुने मनस्थितिमा भएको नेताहरु बताउँछन् ।

नगर अधिवेशन उद्घाटन सञ्चालन गर्दै निवर्तमान सचिव भट्टले पनि तत्कालिन सभापति कलौनीलाई हक्की नेता भन्दै श्रद्धाञ्जली दिइन् ।
‘आज यो कार्यक्रम सञ्चालन गर्दै गर्दा हामीले गुमाउनु पुगेका नगर सभापति अच्युतराज कलौनीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु’ उनले भनिन् ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य मधुदेबी भारती र भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक जोशीले स्वर्गिय कलौैनीको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको उल्लेख गरे ।
भीमदत्त नगरपालिका १८ स्थित मामा भान्जा चोकमा २०८१ माघ १९ गते मृत भेटिएका थिए । कलौनीलाई घर परिवारले रहस्यमय भन्दै आएका छन् ।
काँग्रेसमा विद्यार्थी राजनीतिबाट आएका उनी नेपाल विद्यार्थी संघका केन्द्रीय सह–महामन्त्री भएर १४ औं महाधिवेशनमा नगर सभापति भएका थिए । त्यस अघि १३ औं उनी पदमराज अवस्थीसित पराजित भएका थिए ।
नगर सभापति भएपछि उनले पार्टीभित्रका गुट हटाउने घोषणा गरेका थिए ।
अहिले काँग्रेस दुई समूहमा बाँडिएर १५ औं महाधिवेशन थालिएको छ । काँगे्रस संस्थापनले असोज ७ गते नगर अधिवेशन गरेको थियो ।
संस्थापन इतरको नगर अधिवेशन सुरु भएपछि काँग्रेसका युवा नेता शिवराज भट्टले सामाजिक सञ्जालबाट स्वर्गिय कलौनीलाई श्रद्धाञ्जली दिएका छन् ।
उनले कलौनीको तस्बिर र १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारीको नामावली पोष्ट गर्दै सम्झनाले अत्यन्तै दुःखद बनाएको उल्लेख गरेका छन् ।
‘आज स्वर्गीय नेपाली काङ्ग्रेसका नेता होनहार युवा जुन सधैं भनिराख्नु हुन्थ्यो राजनीति मा ब्यक्तिगत स्वार्थ भन्दा माथि आफ्नो पार्टी पंक्ति र नेतृत्व नै हमेसा हुनुपर्छ स्वार्थका पछि लागेर बिचलित हुनु हुँदैन । वहाँले नेतृत्व गरि राखेको १४ औं महाधिवेशनको नगर कार्य समितिको कार्यकाल पूरा भएर आज नियमित १५ औं महाधिवेशन अन्र्तगत नगर कार्य समितिको बन्द सत्र चली रहँदा गहँभरि आंँशुको साथै हृदय भरि अत्यन्तै सम्झनाका साथ हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना’ उनले भनेका छन् ।
काँग्रेस भीमदत्त नगर अधिवेशनमा सहमति हुन नसकेपछि बिहीबार विहानदेखि चुनाव हुने भएको छ । नगर समितिका सभापति, उप सभापति र सचिवमा चुनाव हुन लागेको हो ।
काँग्रेस कञ्चनपुर ३ का क्षेत्रीय सभापति केशब चन्दले पार्टीमा कलौनीको सधैं अभाव खड्की रहने बताए ।
‘यो अभाव हामी कहिल्यै पूर्ति गर्न सक्दैनौ, वहाँको योगदान, हिम्मत र पार्टी लगानीलाई सम्मान गर्दै अघि बढ्छौ’ उनले भने ।
