
दोधारा चाँदनी नगर अस्पतालमा चार डाक्टर, एचएलाई उपचार जिम्मा, आकस्मिक उपचार कक्षमै वडा अध्यक्ष आक्रोशित

महेन्द्रनगर । दोधारा चाँदनी नगर अस्पतालमा बिरामीको उपचारमा लापरबाही गरिएको भन्दै वडा अध्यक्ष केशब खत्रीले आकस्मिक उपचार कक्षमा आक्रोशित भएका छन् ।
आफ्नो बुहारीलाई अस्पताल लगेर गएका खत्रीले आकस्मिक उपचार कक्षमा बिरामीको उपचारमा डाक्टर नदेखेपछि आक्रोश पोखेका छन् ।
अस्पतालको बेडमा भर्ना एक बालकको अवस्था देखेर खत्री आक्रोशित हुन पुगेका छ्न । उनी आफैले सामाजिक संजालबाट उपचारमा भएको लापरबाहीको दृष्य लाइभ गरेका छन ।
सामाजिक संजालमा लाइभ भिडियोमा अस्पतालका एचए महेन्द्र विष्ट र खत्रीबीच चर्काचर्की भएको छ । बेदकोट नगरपालिका ३ सामादैजीका विष्ट डेढ वर्षदेखि नगर अस्पतालमा कार्यरत छन् ।
शनिबार विष्टको नाइट ड्युटी थियो । वडा अध्यक्ष खत्री र विष्टबीच राति ११ देखि १२ बजेको बीचमा चर्काचर्की भएको बताइन्छ ।
वडा अध्यक्ष खत्रीले ती स्वास्थकर्मीलाई डाक्टर किन नबसेको र बच्चाको ज्यान गएपछि तपाई जिम्मेवार हुने भनेपछि एचएएले बिस्तारै बोल्न भन्दा खत्री आक्रोशित भएका छ्न ।
अस्पतालका ती एचएले डाक्टर आफूलाई सोधेर नगएको र आफूले सक्दो उपचार गरेको बताएका छन् ।

वडा खत्रीलाई उनले तपाई कोलाई मलाई सोधेर भित्र आएको भनेर समेत भनेका छ्न । ती एचएले आफ्नो कुनै गल्ती नभएको भन्दै वडा अध्यक्ष खत्रीसित मुखामुख गरि रहेका छ्न ।
वडा खत्रीले इन्चार्ज गड्डाचौकी भएको र आफूले कुरा गरेको भिडियोमा सुन्न सकिन्छ । नगर अस्पतालका चार डाक्टरमध्ये इन्चार्ज देवेन्द्र सिंह नेगी बाहेक तीन जना बिदामा छन् ।
चार जना डाक्टर भएको अस्पतालमा बिरामी उपचारको जिम्मा एचएलाई भएको भन्दै खत्री झन आक्रोशित भएको देखिएको छ ।
वडा अध्यक्ष खत्रीले अस्पतालमा भ्रष्टाचार र लापरबाही हुने गुनासो हुदै आएको सुने पनि आफैले देखेको बताएक छन् ।
डाक्टरलाई कालोमोसो दल्ने सम्म्को कार्वाही गर्ने वडा अध्यक्ष खत्रीले चेतावनी दिएका छन् ।
एचएसित चर्काचर्कीपछि वडा अध्यक्ष खत्रीले अस्पताल इन्चार्ज नेगीलाई आकस्मिक उपचार कक्षमा बिरामीको उपचारमा गरिएको लापरबाहीबारे जानकारी गराएका छन् ।
इन्चार्ज नेगीसित गरिएको कुराकानीको पनि लाइभ गरेका छन् ।
नगर अस्पताल दोधारा चादनी नगरपाकिका मातहत छ । दोधारा प्राथमिक स्वास्थ केन्द्रलाई स्तरोन्नति गरी अस्पताल बनाइएको हो ।
यस अघि अस्पतालका स्टोर शाखा प्रमुखले इन्चार्जको कम्प्युटर पासपोड दुरुपयोग गरी औषधि खरिद गरेको भन्दै बिबादमा परेको थियो ।
कंचनपुर ३ का साङ्सद ज्ञानेन्द्र सिंह महताले सामजिक सञ्जालबाट यसको खुलासा गरेका थिए ।
