
भीमदत्त १६ मा तीन भारतीय फिरन्ते नागरिकले गरे दिन दहाडै घरभित्र पसेर चोरी, भृकुटी नजिक खाल्डोमा भेटियो चोरिएको रकम

महेन्द्रनगर । भीमदत्त नगरपालिका १६ बाह्रसिङ्गे चोकस्थित एक स्थानीयको घरमा चोरी भएको छ ।
आइतबार दिउँसो भारतीय घुमन्ते फिरन्ते (कन्जड) समुदायका तीन जनाले घरभित्र पसेर स्थानीय देबी थापाको घरमा चोरी गरेका हुन् ।
थापा परिवार घर बाहिर निस्केको बेला उनीहरुले घरमा दराज फोडेर नगद एक लाख २४ हजार रकम चोरी गरेका छन् ।
थापा परिवार घर फर्केपछि चोरी भएको थाहा पाएका थिए । त्यसपछि प्रहरीलाई जानकारी गराएपछि चोरी गरिएको एक लाख १४ हजार रकम भृकुटी माध्यमिक विद्यालय छेउ सटरको जमिन मुनि खाल्डोमा पोलिपिथनमा लुकार राखेको अवस्थामा भेटिएको छ ।

मझगाउँस्थित अस्थायी प्रहरी विट र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली चोरीपछि खटिएको थियो ।
प्रहरीले चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । अर्का एक जना फरार भएका छन् । उनको खोजी भई रहेको जानकारी प्रहरीले दिएको छ ।
भीमदत्त नगरपालिका १६ का स्थानीय विवेक साउँदले घरमा कोही नभएको बेला चोरी भएपछि तत्काल प्रहरीलाई घट्ना सम्बन्धि जानकारी दिएको बताए ।
‘वहाँ थापाज्यूको घरमा कोही नभएको बेला घरभित्र पसेर दराज तोडेर पैसा चोरी भएको रहेछ, घर फर्केपछि थाह पाउने बित्तिक्कै प्रहरीलाई जानकारी दिइयो’ उनले भने ।
प्रहरीका अनुसार भृकुटीका सटरको जमिन मुनि खाल्डो खनेर रकम राखिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले चोरीमा संलग्नलाई हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।
