

नेत्र प्रकाश पन्त
इनम सापकोटा प्रकरणलाई एउटा व्यक्तिको पक्राउ वा आपराधिक अनुसन्धानका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। यससँग जोडिएका राजनीतिक सम्बन्ध, न्यायिक पहुँच, प्रहरी प्रशासन, आर्थिक स्वार्थ र सम्भावित बाह्य प्रभावलाई एकीकृत रूपमा विश्लेषण गर्न आवश्यक छ ।
यसका केही महत्त्वपूर्ण राजनीतिक आयाम छन् :
१. बालेनको राजनीतिक रणनीति र आन्तरिक शक्ति संघर्ष
इनम सापकोटा बालेन शाहका चुनावी सहकर्मी तथा झापा–५ को चुनावी अभियानसँग जोडिएको दाबी सार्वजनिक भएको छ । यस्तो सम्बन्ध पुष्टि भएमा प्रश्न उठ्छ—यो पक्राउ सामान्य अनुसन्धान हो कि आफ्नै राजनीतिक वृत्तभित्रको शक्ति सन्तुलन बदल्ने रणनीतिक घटनाक्रम पनि हो? आफ्ना आलोचक वा असहज पात्रलाई नियन्त्रण गर्ने उद्देश्य त थिएन? अथवा कसैले प्रधानमन्त्रीको नाम र निकटता दुरुपयोग गरिरहेको थियो ।
२. न्यायालय, प्रहरी र राजनीतिक नेतृत्वमाथिको प्रभाव सापकोटाको सम्पर्कमा उच्चपदस्थ प्रहरी अधिकारी, न्यायिक व्यक्तित्व र राजनीतिक पात्रहरू रहेको विवरणले राज्यका संस्थाहरूमा अनौपचारिक शक्ति केन्द्रको प्रभावबारे गम्भीर प्रश्न उठाएको छ। कानुन र संस्थागत प्रक्रियाभन्दा व्यक्तिगत पहुँच बलियो हुँदै गएको त छैन ?
३. ठूला आर्थिक घराना र बिचौलियाको संरक्षण
दीपक भट्ट लगायत विवादित आर्थिक कारोबारसँग जोडिएका व्यक्तिहरूसम्मको सम्पर्कले यो प्रकरणलाई आर्थिक स्वार्थको कोणबाट पनि हेर्नुपर्ने बनाएको छ। वास्तविक प्रश्न सापकोटाले कसलाई चिने भन्ने होइन, उनको पहुँचबाट कसले लाभ लियो, कुन आर्थिक वा राजनीतिक स्वार्थ पूरा भयो र पर्दापछाडिका लाभग्राही को हुन् भन्ने हो ।
४. भारत तथा अन्य अन्तर्राष्ट्रिय शक्तिको भूराजनीतिक स्वार्थ

नेपालको राजनीतिक अस्थिरता र कमजोर संस्थागत संरचनाबाट लाभ लिन खोज्ने बाह्य शक्ति हुन सक्छन्। नेतृत्व परिवर्तन, राजनीतिक दलहरूको कमजोरी र राज्यका संस्थाप्रतिको अविश्वास बढ्दा कसलाई फाइदा पुग्छ? सापकोटाको विदेशी सम्पर्क र आर्थिक सम्बन्धको पनि निष्पक्ष अनुसन्धान हुनुपर्छ। तर कुनै मुलुकको प्रत्यक्ष संलग्नता प्रमाणित नभएसम्म त्यसलाई निष्कर्ष मान्न मिल्दैन ।
५. रवि–बालेन सम्बन्ध र नयाँ सत्ता समीकरण सरकारभित्र वा सत्तालाई समर्थन गर्ने राजनीतिक शक्तिहरूबीच प्रभाव, निर्णय अधिकार र भविष्यको नेतृत्वलाई लिएर प्रतिस्पर्धा छ कि ? यो प्रकरणले कुनै समूहलाई कमजोर र अर्को समूहलाई बलियो बनाउने राजनीतिक अवसर त सिर्जना गरिरहेको छैन? सत्ताभित्रको वास्तविक शक्ति केन्द्र बुझ्न यो कोण पनि महत्त्वपूर्ण छ ।
६. निष्पक्ष अनुसन्धान कि राजनीतिक सुविधा अनुसार पात्र छनोट ?
यो सबैभन्दा निर्णायक प्रश्न हो । अनुसन्धान सापकोटामा मात्र सीमित हुन्छ कि उनलाई प्रयोग गर्ने, संरक्षण गर्ने र लाभ लिने सबैसम्म पुग्छ? राजनीतिक रूपमा असहज व्यक्तिमाथि मात्र कारबाही हुने र शक्तिशाली पात्रहरू जोगिने अवस्था आयो भने अनुसन्धानमाथि नै प्रश्न उठ्छ। साथै, अनुसन्धानको नाममा प्रेस स्वतन्त्रता र नागरिक अधिकार कुण्ठित हुनु हुँदैन ।
अन्तिम विश्लेषणः यो प्रकरणलाई कुनै एउटा राजनीतिक दलको पक्ष वा विपक्षमा उभिएर मात्र हेर्नु हुँदैन । बालेन, रवि, पुराना राजनीतिक दल, प्रहरी, न्यायालय र आर्थिक घराना—सबैको भूमिका प्रमाणका आधारमा परीक्षण हुनु पर्छ ।
मेरो विचारमा अहिले तीनवटा कुरा सबैभन्दा महत्त्वपूर्ण छन् ।
पहिलो, इनम सापकोटाको वास्तविक राजनीतिक, आर्थिक र संस्थागत सम्पर्क सञ्जाल सार्वजनिक हुनु पर्छ ।
दोस्रो, प्रधानमन्त्रीदेखि न्यायाधीश, प्रहरी अधिकारी र ठूला आर्थिक स्वार्थ समूहसम्म जसको नाम जोडिएको छ, सबैको भूमिका समान कानुनी मापदण्डबाट छानबिन हुनु पर्छ ।
तेस्रो, अनुसन्धानको नाममा राजनीतिक प्रतिशोध, संस्थागत हस्तक्षेप र प्रेस स्वतन्त्रतामाथिको नियन्त्रणलाई कुनै पनि हालतमा उचित ठहर गर्न मिल्दैन ।
चौथो, इनम सापकोटा अन्ततः बालेनबाट परिचालित पात्रका रूपमा चित्रित हुने र पहिले जस्तै यो प्रकरण पनि ‘हात्ती आयो, हात्ती आयो—फुस्सा’ मा सीमित हुने सम्भावना पनि नकार्न सकिँदैन। खगेन्द्र सुनार, स्वर्णिम वाग्लेल गायतलाई भने अनुसन्धानबाट चोख्याएर राजनीतिक रूपमा धोइपखाली गरिने पो हो कि? त्यसैले प्रश्न पक्राउको होइन, अन्ततः कसलाई जोगाइन्छ र कसको स्वार्थ पूरा हुन्छ भन्ने हो ।
अन्तिममा, नेपालमा सरकार कसले चलाइरहेको छ—निर्वाचित राजनीतिक नेतृत्वले, संवैधानिक संस्थाहरूले, कि तिनको पर्दापछाडि बसेर निर्णय प्रभावित गर्ने अदृश्य शक्ति केन्द्रहरूले ?
सरकारको आवश्यकता अनुसार एउटा एउटा पात्रलाई पक्राउ गरेर मूल मुद्दलाई बिषयान्तर गरेर मात्र राज्य बलियो हुँदैन । राज्य बलियो हुनका लागि कानुन सबैका लागि समान हुन ुपर्छ, अनुसन्धान सबैमाथि निष्पक्ष हुनु पर्छ र सरकार स्वयं पनि जवाफदेही हुनु पर्छ ।
