
दल बहादुरका दर्द : ह्विलचेयर घुमाउन सके खान्छन्, नत्र भोकै बस्छन्
भन्छन्– खुट्टा काट्ने पैसा छैन, कुन दिन मर्छु , टुङ्गो छैन

महेन्द्रनगर । तीन दिन अघि शुक्रबार साँझ महेन्द्रनगर बजारको ५ नम्बर गल्लीस्थित नयाँ नेपालमा एक जना अधवैशे व्हिल चेयरमा चढेर चिया पिउँदै बसेका ग्राहकहरुको नजिक पुगे ।
रोकिए लगत्तै उनी एकाएक सहयोग गर्न हजुर, मेरो भत्ता लगाई दिन मेरो केही छैन, खुट्टा यस्तो छ, मागेर खान्छु भन्न थाले । त्यो सुन्ने बित्तिकै इन्जिनियर महादेव जोशीले उठेर रुपैँया दिए । जोशीलाई धन्यवाद भन्दै उनी चिया पसल पछाडि बाटो हुँदै लागे ।
उनी हुन भीमदत्त नगरपालिका ३ का दल बहादुर सुनार । घरमा बस्न नदिएपछि बजार आएर अपाङ्गता भएका सुनार मागेर छाक टार्न ह्विलचेयरमा बजारमा डल्ने गरेका छन् । व्हल चेयरमा बजारका सबै गल्ली पुगेर भेटिने सवैसित सहयोग माग्दै आएका छन् ।
महेन्द्रनगरको सब्जीमण्डीमा बस्ने गरेका उनी बजारमा घुम्न नस्केको दिन भोकै बस्न परेको बताउँछन् । ‘यो ह्विलचेयर घुमाएर खान पुग्छ, नत्र भोकै हुन्छु, उनले भने,‘बजारमा माग्छु, कोही दिन्छ्न्, कोही माग्दैन ।’
बजारमा माग्दा कसैले हामी पनि तपाई जस्तो हौ भनेर भन्ने गरेको उनले सुनाए । ‘मेरो त यस्तो हालत छ, यो हालतमा माग्छु, अरु बाटो पनि छैन’ उनले, ‘हामी पनि तोई जसा छौ भन्दा दुःख लाग्छ ।’
४८ बर्षिय सुनार १० बर्ष अघि भारतबाट फर्केपछि दुख दिन बिताउनु पर्ने अवस्थामा पुगेका छन् ।
भारतबाट घाइते भएर उनी पीडा बोकेर घर फर्किएका थिए । घर आएपछि सहज हुनको सट्टा झन दुःखको भूमरीमा फसेका हुन् ।
भारतको मद्रासमा उनी टेन्ट हाउसमा काम गर्थे । १० बर्ष अघि काम सकेर डेरा फर्किने क्रममा बाटोमा हिँड्दै गर्दा अचानक खाल्डोमा खसेर दाँया खुट्टा र मेरुदण्डमा चोट लाग्यो । त्यसपछि उनी थलिन पुगे । अहिलेसम्म त्यहीं पीडा बोकेर बाचि रहेका छन् ।
दुई दिन लगातार ड्युटी गरी डेरामा फर्केर आराम गर्ने सोच बनाएका खुट्टा भाँचिएपछि अस्पताल भर्ना हुन पुगेका थिए ।

अस्पतालवाट डिस्चार्ज भएपछि काम गर्न सकिने अवस्था भएन ।उनी त्यसपछि घर फर्केर आए ।
उपचार गर्ने पैसा सकिए पछि उनी थप उपचार गर्ने आश बोकेर घर पुगे । घर आए पछि आश निराशा मात्रै बनेन । पछिल्लो पटक उनी आफू जन्मेको घर छाडेर सब्जीमण्डीमा बस्न पुगेका छन् ।
सुनार अविवाहित छन् । आमाको मृत्यु भएपछि बुवाले अर्को बिहे गरेपछि उनका दुःख दिन सुरु भए । आमाले छाडेर गएपछि उनी घर परिवारका नजरमा बोझ बन्न पुगे ।
‘आमा छैन, बुवा छन्, मलाई टेर्दैन, अरु कोही छैन मेरो, त्यसपछि घर छाडेर निस्क्ने बाहेक अरु विकल्प रहेन’ उनले भने ।
भाँचिएको दाँया खुट्टा निको हुन नसकेर क्यान्सर लागेको छ । काट्न नपाए ज्यान जने चिन्ताले उनी छ्टपटिएका छन् ।
पट्टी बाधेर उनले खुट्टाको घाउ छोपेका छन् । मेरुदण्डको पीडा पनि कम छैन उनको । पीडा सुनाउँदै उनी मेरुदण्डको समस्या पनि अरुलाई देखाउँछन् ।
‘खुट्टा र मेरुदण्ड दुबैको समस्याले व्हिल चेयर चलाउन समस्या हुन्छ, वारपार गर्न समस्या हुन्छ’ उनले भने ।
खुट्टाको क्यान्सर उपचार गर्न दुई लाख चाहिने सुनारले बताए । खुट्टा काटे मात्रै निको हुने सल्लाह चिकित्सकले दिएका छन् । ‘यो खुट्टा कटाई दिए मात्रै म बाच्ने हो, नत्र कुन दिन मर्छु’ उनले भने ।
आफूले दुई लाख खर्च जुनीभर बनाउन नसक्ने उनले बताए ।
भीमदत्त ३ नम्बर वडा कर्यालयले दिएको व्हील चेयर उनका लागि मागेर खाने सहारा भएको छ । ‘वडाले दिएको हो, यो पनि नभएको भए मरि सक्थे, माग्न त भएको छ’ उनले भने ।
वडा कार्यालयबाट भत्ता पाउन सके सजिलो हुने उनी बताउँछन् । ‘दाईभाई कसैले पनि सहयोग गरेको छैन’ उनले भने, ‘भत्ता लगाई दिए हुन्थ्यो, पेट पाल्न पुग्थ्यो ।’
