

महेन्द्रनगर । भीमदत्त नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका अधिकृत दिपेन्द्र सिंह बिष्ट शुक्रबार आफ्नो कार्यकक्षमा निकै व्यस्त थिए ।
बिष्टले केही समयपछिधेरै कागजात राखेर फाइल तयार गरे । त्यो फाइल बनाएपछि उनी फुर्सदिला देखिए । ‘अचेल हाम्रो काम यस्तै फाइल नै बनाउन पनि भएको छ, यस्तै छ’ उनले भने ।
भीमदत्त नगरपालिकाको शिक्षक दरबन्दी मिलानपछि शिक्षा शाखा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय इकाईलाई जवाफ फर्काउँदा शिक्षा शाखा हैरान हुन पुगेको छ ।
शिक्षक दरबन्दी मिलान , सरुवा र तलब सम्बन्धि ती निकायमा बेनामे उजुरी परेका छन् । उजुरी सहित जवाफका लागि कार्यालय आएका पत्र आएपछि शिक्षा शाखा नियमित कामकाज थाती राखेर जवाफका फायल बनाउने गरिएको छ ।
अख्तियार सहित सबै निकायमा परेका उजुरीको प्रकृति समान भएको शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले बताए ।
‘ती उजुरीमा पटक पटक सरुवा गरेको छ, मनोमानी सरुवा, तलब नदिएकों, बिरामी बिदाको सुविधा खाएको एकै प्रकारको व्यहोरा छ’ उनले भने । एक पछि अर्को पत्र आएपछि कर्मचारी जवाफ दिन धौधौ भएको उनीहरू बताउँछन् ।
‘एकै प्रकृतिका छ्न, एक पछि अर्को आउछ्न, जवाफ दिन धौधौ छ,’ शिक्षा शाखा प्रमुख जोशीले भने, ‘कागजात खोज्न समस्या छ, जवाफ दिनै पर्यो ।’
सुरुमा शिक्षा शाखाका नाम राखेर उजुरी आएकोमा पछिल्लो पटक कर्मचारीका नाम तोकेर परेका उजुरी हालिएका छन् । उजुरीकर्ताले बेनामे उजुरी हालेका छन् । ती उजुरीका बिषय र व्यहोरा पनि समान भएको कर्मचारीहरु बताउँछन् ।
शिक्षक दरबन्दी मिलान पछि उजुरी परेको र अनावश्यक दुख दिने नियतले उजुरी हालिएको हुन सक्ने शाखा प्रमुख जोशीले बताए ।

भीमदत्त नगरपालिका कार्यालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला समन्वय बिकास र शिक्षा तथा समन्वय इकाईबाट जवाफ पेश गर्न पत्र आएका छन् ।
भीमदत्तले नयाँ शैक्षिक सरु भएपछि बैशाख र साउनमा दरबन्दी गरेको थियो ।
दरबन्दी मिलानमा असन्तुष्ट भट्टको अन्तरकालिन आदेश खारेज, आँखाको उपचार गराउनु पर्ने भन्दै निवेदन दिएर बसिन् विदा
भीमदत्तले बैशाखमा गरेको दरबन्दी मिलानमा जानकी कन्या माध्यमिक विद्यालयका प्रधानाध्यापक अन्जुला भट्टले असन्तुष्ट भएकी थिइन् ।
जानकी कन्याबाट जेसिज माबि सरुवा भएकी भट्ट सरुवा विरुद्ध प्रशासकीय अदालत पुगेकी थिइन् ।
अदालतले अन्तरकालिन आदेश जारी गर्दै भट्टको सरुवा सम्बन्धि निर्णय कार्यान्वयन नगर्न आदेश दिएको थियो ।
भीमदत्त नगरपालिका प्रशासकीय अदालतको आदेश विरुद्ध भ्याकेटमा गएको थियो ।
भ्याकेटमा प्रशाकीय अदालतले अन्तरकालिन आदेशलाई निरन्तरता दिएपछि भदौ २९ गते भीमदत्त सर्वोच्च अदालत पुगेको थियो ।
सर्वोच्च अदालतले प्रशाकीय अदालतको आदेश खारेज गरेको थियो ।
सर्वोच्चको भीमदत्तले भट्टलाई बिद्यालयमा हाजिर हुन पत्र पठाएको थियो । त्यसपछि भट्ट आखाको उपचार गर्न पर्ने भन्दै असोज २० गतेदेखि बिदामा बसेकी छन् ।
