

महेन्द्रनगर । तिहार मनाउन भारतबाट घर फर्किँदै गरेका बैतडीका हरिश भण्डारीको बाटोमै मृत्यु भएको छ ।
बैतडीको पाटन नगरपालिका–६ का ४९ वर्षीय भण्डारी महेन्द्रनगरबाट बैतडीतर्फ आउँदै गरेको सुपप्र ०२ ००१ ख १०३१ नम्बरको बसमा यात्रा गरिरहेका बेला सोमबार राति बसभित्रै बेहोस अवस्थामा फेला परेका थिए ।

सोमबार राति करिब १२ः३० बजे पाटन बजार पुगेपछि बसभित्रै बेहोस भेटिएका उनलाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन लगिएको थियो ।
त्यहाँ उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बैतडी रेफर गरिएका भण्डारीलाई मंगलबार बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् ।
रोजगारीका लागि भारतमा रहेका भण्डारी तिहार मनाउन घर फर्किरहेका बेला बाटोमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।
