

महेन्द्रनगर । १० औं राष्ट्रिय खेलकूद प्रतियोगिताको सुदूरपश्चिम प्रदेश छनौटमा बझाङ्गले फुल कन्टयाक्टमा ८ स्वर्ण जितेको छ ।
महेन्द्रनगरस्थित कबर्ड हलमा जारी छनौट प्रतियोगितामा आइतबार बझाङ्गले उत्कृष्ठ प्रदर्शन गर्दै ८ स्वर्ण जितेर पहिलो भएको छ ।
फुट कन्टयाक्टमा कञ्चनपुरले ५ र बाजुराले एक स्वर्ण जितेको छ । प्रदेश छनौट अन्र्तगत कुस्तीका खेलाडी शनिबार छनौट भएका थिए । अन्य ५ खेलको छनौट जारी छ ।
कञ्चनपुर जिल्ला खेलकूद विकास समितिका कोषाध्यक्ष राम बहादुर खड्काले सोमबार सबै खेलको छनौट सकिने जानकारी दिए ।
कबर्ड हलमा ८ खेलको छनौट जारी छ । त्यसमध्ये हक्की टीम प्रतिस्पर्धा नगरी सिधैं राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ ।

कञ्चनपुर बाहेक सुदूरपश्चिमका अन्य जिल्लामा हक्कीको टीम नभएकाले प्रतिस्पर्धा नहुने कोषाध्यक्ष खड्काले बताए ।
जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख गोपाल दत्त भट्टले हक्की बाहेक अन्य तेक्वान्दो, कराँते, कबड्डी, फुल कन्ट्याक्ट, आइटीएफ, कुस्ती, जुडो का खेलाडी छनौट हुने बताए ।
तेक्वान्दो र कबड्डीको राष्ट्रिय प्रतियोगिताका लागि महिला र पुरुष १२÷१२ खेलाडी छनौट हुने छन् ।
कराँतेमा महिला पुरुष ११÷११, फुल कन्ट्याक्ट ७ पुरुष ५ महिला र आइटीएफ १३ पुरुष ११ महिला छनौट हुन लागेका छन् । कुस्तीमा ७ महिला र जुडोमा ५ पुरुष राष्ट्रिय प्रतियोगिता खेल्न छनौट हुने जानकारी दिइएको छ ।
यस अघि जिल्ला स्तरीय प्रतियोगितामा प्रदेश छनौट प्रतियोगिताका लागि कञ्चनपुरबाट तीन सय ८१ खेलाडी छनौट भएका थिए । उनीहरु २३ खेलका खेलाडी हुन् ।
जिल्ला छनौटका लागि ९ सय ५ खेलाडीले आवेदन दिएका थिए । कञ्चनपुरमा फुटबल ३६, भलिबल २८, लथलेटिक २५, क्रिकेट ३२, कबडी २८, बास्केटबल २४, ह्याडबल २४, ब्याडमिन्टन १३, टेबुलटेनिस ९, बुद्धिचाल ११, बक्सिङ्ग १३, उसु ९, तेक्वान्दो २६, कराँते २३, खोखो २२, फुलकन्ट्याक्ट १४, कुस्ती २१, आई आईटिएकफ तेक्वान्दो २६, सुटिङ्ग १३, जुडो ६, रग्बी २२, भारोत्तोलन ६ र जिम्नाटीका १ जना खेलाडी छनौट भएका छन् ।
