

महेन्द्रनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स लगातार तेस्रो सिजन फाइनल पुग्ने लक्ष्य सहित मैदानमा जाने भएको छ ।

लगातार दुई सिजन उप विजेतामा सीमित भएको सुदूरपश्चिमले यस पटक क्वालिफायर–वानमा साविक विजेता लुम्बिनी लायन्सको सामना गर्ने भएको छ ।
लिग चरणका खेल सकिएसँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको छ । अंक तालिकामा दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले मंगलबार हुने क्वालिफायर–वानमा शीर्ष स्थानको लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ । यो खेल जित्ने टोली सोझै फाइनलमा पुग्नेछ भने पराजित टोलीले पनि फाइनल प्रवेशको अर्को अवसर पाउनेछ ।
सुदूरपश्चिम एनपीएलको तीनवटै सिजन प्लेअफमा पुग्ने एक्लो टोली हो । यस अघिका दुवै सिजन लिग चरणको शीर्ष स्थानमा रहँदै क्वालिफायर–वान खेलेको सुदूरपश्चिमले दुवैपटक फाइनलमा स्थान बनाएको थियो । तर, दुवै फाइनलमा पराजित भएपछि उपाधि जित्ने उसको लक्ष्य अधुरै रह्यो ।
