

महेन्द्रनगर । अवैध सालको काठ ओसारपसार गरेको आरोपमा बरामद भएको ट्याक्टर सुदूरपश्चिम प्रदेशसभा सदस्य महेशप्रसाद जोशीको नाममा रहेको खुलेको छ ।
कृष्णपुर नगरपालिका–२, वाणीबाट छ गोलिया सालको काठ सहित टयाक्टर नियन्त्रणमा लिएपछि अनुसन्धान सुरु गरिएको थियो ।

आइतबार साँझ इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले से १ त २३६७ नम्बरको ट्याक्टरमा काठ लोड गरेर लैजाँदै गरेको अवस्थामा स्थानीय उमेशप्रसाद कलौनीलाई नियन्त्रणमा लिएको थियो। प्रहरीले ट्याक्टरसहित बरामद गरेको काठको परिमाण ६२ दशमलव ३८ क्युफिट रहेको जनाएको छ ।

घटनापछि वन डिभिजन कार्यालय कञ्चनपुरले अनुसन्धान प्रक्रिया अघि बढाएको छ। कार्यालयले सबडिभिजन वन कार्यालय वाणीका वन अधिकृत निरञ्जन कडाललाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिएको छ। पक्राउ परेका व्यक्तिमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको वन अधिकृत कडालले बताएका छन्। उनले ट्याक्टर जोशीकै नाममा रहेको जानकारी दिए ।
अनुसन्धानका क्रममा स्थानीय कलौनीको खेतमा ढलेको रुख काटेर काठ तयार गरिएको प्रारम्भिक जानकारी प्राप्त भएको बताइएको छ । वन कार्यालयले काठको स्रोतदेखि ओसारपसारमा संलग्न व्यक्तिसम्मको विषयमा अनुसन्धान गरिरहेको छ ।
काठ ओसार्न प्रयोग भएको ट्याक्टरका धनी जोशी वन संरक्षणसँग सम्बन्धित विभिन्न संस्थामा आबद्ध छन्। उनी सामुदायिक वन समन्वय समिति कञ्चनपुरका संस्थापक अध्यक्ष हुन् भने लालझाडी–मोहना संरक्षित वन परिषद्लगायतका संस्थामा पनि आबद्ध छन् ।
तर, जोशीले भने ट्याक्टर घटनामा प्रयोग भएको विषयमा आफूलाई जानकारी नभएको प्रतिक्रिया दिएका छन्। ट्याक्टर तपाईँकै हो कि होइन भन्ने प्रश्नमा उनले ‘मलाई थाहा भएन’ भनेका छन् ।
साभार : दिनेश खबर
