
आफ्नो निर्वाचन क्षेत्रमा जग्गा नापी तीव्र बनाउँदै साँसद महता, दोधारा चाँदनीपछि भीमदत्तमा पनि जग्गा नापजाँच सुरु, श्रीलंका टोलबाट सुरुवात

महेन्द्रनगर । कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिह महताले आफ्नो निर्वाचन क्षेत्रमा जग्गा नाप जाँच कार्य तीव्रता दिन थालेका छन् । तीन दिन अघि दोधारा चाँदनी नगरपालिकाबाट जग्गा नाप सुरु गराएका साँसद महताले बिहीबारदेखि भीमदत्त नगरपालिका १० मा सुरुवात गराएका छन् ।
भीमदत्त नगरपालिका १० को श्रीलंका टोलबाट जग्गा नाप जाँच सुरु भएको छ । भीमदत्त नगरपालिका ९ मा पनि जग्गा नाप जाँच सुरु भएको छ ।

कञ्चनपुरमा भीमदत्त नगरपालिकामा सबैभन्दा जग्गा समस्या समाधान कार्य सबैभन्दा सुस्त भएको बताइन्छ ।
दोधारा चाँदनी, भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकाको ८ नम्बर वडा साँसद महताको निर्वाचन क्षेत्रमा पर्छ ।
मंगलबार साँसद महता दोधारा चाँदनी नगरपालिका १० कुतियावकर पुगेपछि जग्गा नाप जाँच कार्य सुरु भएको थियो ।
साँसद महताले दोधारा चाँदनीमा जग्गा नाप जाँच सम्बन्धि कार्य बासिन्दाका लागि महत्वपूर्ण र सुखद सुरुवात भएको बताएका थिए ।
‘वर्षौंदेखि जग्गाधनी पुर्जा प्राप्तिको प्रतीक्षामा रहनुभएका स्थानीय बासिन्दाका लागि यो महत्वपूर्ण र सुखद सुरुवात हो। जग्गासम्बन्धी समस्या समाधान गर्ने दिशामा अघि बढेको यस प्रक्रियालाई व्यवस्थित र शीघ्र रूपमा सम्पन्न गर्न सम्बन्धित सबै पक्षको सक्रिय सहयोगको अपेक्षा गर्दछौँ’ उनले भने ।
्२०८२ को फागुन २१ गते भएको निर्वाचनमा महताले जग्गा समस्या समाधान गर्ने प्रतिवद्वता गरेका थिए । त्यसका लागि उनले केही दिन अघि महताले प्रशासन कार्यालयमा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखसित जग्गा समस्या समाधानका छ्लफल गरेका थिए ।
भूमि व्यवस्था, कृषि सहकारी तथा समान्य प्रशासन मन्त्री प्रतिभा रावल केही महिना अघि आफै दोधारा चाँदनी पुगेर भूमि समस्या समाधान प्रतिवद्वता गरेकी थिइन् ।

दोधारा चाँदनी १० कुतियाकबरमा ३६ परिवार बसोबास गर्छन । जोगबुडा र महाकाली नदीको छेउमा भएको बस्ती २०२२ देखि बसोबास थालिएको हो ।
अहिले ऐलानी जग्गामा नाप जाच सुरु गरिएको हो । रास्वपा नेतृत्वको सरकार बनेपछि सरकारको एक सय दिने कामको सूचिमा जग्गा समस्या समावेश थियो ।
दोधारा चाँदनी १० का वडा सिंहले बाढीको सधै त्रास भएको बस्तीबाट पूर्जा बितरण सबैका लागि सुखद भएको बताए । २०२२ देखि बस्दै आएको बस्तीका वासिन्दा हालसम्म ऐलानी जग्गा भोगचलन गर्दै आएका छन् ।
बस्तीमा पुगेको साँसद सहितको टोलीमा दोधारा चाँदनीका उप मेयर गंगा जोशी सहभागी भएका छन् । उप मेयर जोशी सोमबार पनि कुतियाकवरमा जग्गा नाप जाँच उद्घाटनमा सहभागी भएकी थिइन् ।
वस्तीमा जग्गा नापजाँच सुरु भएपछि साँसद महताले दोधारा चाँदनीका जनतालाई कुतियाकबरबाटै जग्गाको मालिक बनाउने प्रक्रिया सुरु गरिएको बताए ।
‘जनतालाई भूमि अधिकार लालपुर्जा शिघ्र वितरणमा हामीलाई ढिलोचाँडो गर्ने कुनै छुट छैन, ‘उनले भने, ‘फिल्डमा काममा क्रममा कुनै समस्या आए हामीलाई भन्नु हामीले तुरुन्तै सम्बन्धित निकायमा प्रस्ताव अघि सारेर समाधान गछौँ, जनतालाई अब कसरी भएपनि दुःखमुक्त गर्नु पर्छ ।’
कुतियाकबरमा सबै फाइल अवस्थित बसोबासी छन् । २०२२ देखि बसेको बस्तीमा २०७४ मा जग्गा नाप जाँच भएको थियो । अहिले फेरि नाप जाँच सुरु भएको छ ।
दोधारा चाँदनीमा हालसम्म वडा नं. ४, ६ र ७ मा जग्गा नापी कार्य सुरु हुन सकेको छैन । विगतका आयोगले दिएका केही सेतो पूर्जालाई रातो बनाएर यस अघि वितरण गरिएको छ ।
दोधारा चाँदनी नगरपालिका भूमि व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चन्द्र ओझाले उनले पहिलो दिन वस्तीको सबै भोगचलन गरिएको जमिनको प्वाईन्ट लिने र त्यसपछि फाराम र भोगचलनका आधारमा व्यक्ति व्यक्तिको नापचाँज गरिने बताए ।
यस पटक वस्ती स्तमा जग्गा नाप जाँच सकिएपछि जग्गाधनी पूर्जा प्रक्रिया सुरु गरिने ओझाले बताए ।
