

डिल्लीराज पन्त
महेन्द्रनगर । कञ्चनपुर ३ का साँसद ज्ञानेन्द्र सिंह महताले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकलाई यसपटक कुनै पनि हालतमा जग्गाधनी पुर्जा उपलब्ध गराउने बताएका छन् ।

भीमदत्त नगरपालिका–९ जमुनाभाडीस्थित बादी बस्तीमा जग्गा नापजाँचको काम सुरु भएको सन्दर्भमा स्थानीय नागरिकसँगको भेटघाट तथा छलफलका क्रममा सांसद महताले कुनैपनि हालतमा पूर्जा दिइने बताए ।
यसअघि भीमदत्त नगरपालिका–१० श्रीलङ्का टोलमा जग्गा नापजाँचको काम सम्पन्न भइसकेको छ। वडा नम्बर ९ को जमुनाभाडीस्थित बादी बस्तीमा समेत आजदेखि नापजाँचको काम अघि बढाइएको हो ।

स्थानीय नागरिकसँगको छलफलमा सांसद महताले जग्गाधनी पुर्जा वितरणको प्रक्रिया कुनै पनि हालतमा नरोकिने स्पष्ट पार्दै आवश्यक परे कानुन संशोधन गरेर भए पनि नागरिकलाई जमिनको स्वामित्व दिलाइने बताए। “यस पटक जग्गाधनी पुर्जा कुनै पनि हालतमा रोकिन्न। आवश्यक परे कानुन संशोधन हुन्छ, तर जनतालाई धोका हुँदैन,” उनले भने ।
उनले आफूहरू राजनीति गर्न नभई जनताको काम गर्न आएको उल्लेख गर्दै जनतासँग गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए ।
“हामीलाई राजनीति गर्नु छैन, जनताको काम गर्न आएका हौँ। त्यसैले जनताको काम पूरा गर्ने हाम्रो प्रतिबद्धता हो,” सांसद महताले भने ।
वर्षौंदेखि भूमिको स्वामित्वबाट वञ्चित नागरिकलाई अब पनि आश्वासनमै सीमित राख्न नहुने बताउँदै उनले नापजाँच, प्रमाणीकरण तथा अन्य प्रशासनिक प्रक्रिया छिटो सम्पन्न गर्न सम्बन्धित निकायसँग आग्रह गरे ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिकको भूमिसम्बन्धी समस्या समाधान आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै महताले नागरिकलाई जग्गाको वास्तविक स्वामित्व दिलाउने कामलाई निष्कर्षमा पु¥याउन निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
