दोधारा चाँदनीमा सशस्त्र प्रहरीको हालत, बिओपीबाटै एक किलोमिटर टाढा पर्ने क्षेत्र अतिक्रमण हुँदा पनि भएन थाहा
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ३ जामुनाघारी स्थित नेपाल(भारत सीमा स्तम्भ नं. १४ नजिक भारतीय वन विभागले नेपाली भूमिमा गर्न लागेको वृक्षारोपण स्थानीयको विरोधपछि रोकिएको छ । स्थानीयको विरोधपछि सीमा क्षेत्रमा पुगेको सशस्त्र प्रहरीले वृक्षारोपणका लागि गाडिएका पिलर भत्काएको छ ।
भारतीय वन विभागले आफ्नो क्षेत्रमा पर्ने भन्दै नेपालको झण्डै ५ बिगाहा चरिचरन क्षेत्र वृक्षारोपण गर्न थालेको थियो । भारतले आफ्नो दुई सय बिगाहामा वृक्षारोपण गर्न लागेको छ । भारतीय वन विभागले वृक्षारोपण गर्न लागेको नेपाली भूमि देवीस्थानस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टबाट एक किलोमिटर दुरीमा पर्छ । एक किलोमिटर दुरीको क्षेत्रमा भूमि कब्जा गरी वृक्षारोपणका लागि पिल्लर गाड्दासम्म सशस्त्र प्रहरी बेखबर देखिएको छ ।
स्थानीयको विरोधले वृक्षारोपण रोकिएपछि मात्रै सशस्त्र प्रहरी अतिक्रमित भूमिमा पुगेको छ । स्थानीयको विरोध छलेर नेपाली भूमिमा गाडिएका पिलर भने सशस्त्रले हटाएको छ । ‘सशस्त्रले सीमा हेर्न पर्ने हो, खै किन हो, यति नजिकको ठाउँमा यति पिलर गाड्दासम्म देखेन’ स्थानीयले भने,‘सबैले विरोध गरी रोकिएपछि मात्रै सशस्त्र प्रहरी पुगेको छ ।’
जमुनाघारीस्थित नेपाली भूमि अतिक्रमण भएपछि सशस्त्र प्रहरीको भूमिकामाथि आशंका बढेको छ । सशस्त्र प्रहरीको पोष्ट नजिक गरिएको अतिक्रमणले सशस्त्र प्रहरीमाथि लाग्दै तस्करसित मिलेमताको आशंकालाई बलियो बनाएको छ ।
भारतीय अतिक्रमण विरुद्ध स्थानीय र जनप्रतिनिधि सशक्त रुपमा उभिएका छन् । सशस्त्र प्रहरी बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी निरीक्षक चन्द्रदेव भट्ट पनि जनप्रतिनिधि सहित अतिक्रमित स्थानमा पुगेका छन् ।
उनी दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु, वडा अध्यक्ष हरसिंह धनाडी, एमाले कञ्चनपुर जिल्ला सदस्य राजिव खड्का सहित जमुनाघारी पुगेको छ ।
दोधारा चाँदनी नगरपालिका ३ का वडाध्यक्ष धनाडीले बुधबार बिहानदेखि भारती वन विभागले वृक्षरोपणको लागि खम्बा गाड्दै गरेको अवस्थामा स्थानिहरुको सहयोगमा उक्त कार्य रोक्ने काम भएको बताए ।
चरिचरनको रुपमा रहेको झण्डै ५ बिगाहा नेपाली भूमिलाई भारतीयले वृक्षारोपण गर्ने तयारीमा रहेको उनले बताए । ‘नेपाली भूमिमा वृृक्षारोपण गर्नका लागि खम्बा गाड्ने कार्य अघि बढाएका थिए, हामीले रोक्यौ’ उनले भने ।
भारतीयले सीमा क्षेत्रमा रहेको जामुना आधारभूत विद्यालयलाई समेत आफ्नो देशको विद्यालय भन्न थालेको स्थानियले बताए ।
जामुनाघारीको सिमा क्षेत्रमा बुधबार बिहान देखि भारतीय पक्षले नेपाली भुमी कब्जा गर्ने प्रयास गरिएपछि सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट देबीस्थानको टोली मध्यरातसम्म उक्त क्षेत्रमा गस्तीमा खटिएको थियो ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का सशस्त्र प्रहरी निरीक्षक चन्द्र देब भट्टले नेपाली भुमीमा भारतीयले गाडेको ७ वटा पोल (खम्बा) उखेलेर फालेको बताए ।
सरकारले सीमा अपराध नियन्त्रण सहित भूमि अतिक्रमण रोक्न देवीसथान सहित दोधारा चाँदनी नगरपालिका आधा दर्जन स्थानमा सशस्त्र प्रहरीका पोष्ट राखेको छ । यस अघि दोधारा चाँदनीमा एउटै सशस्त्र प्रहरीको बिओपी थियो ।