ghar sansar

भीमदत्तमा फोहरमैला व्यवस्थापन केन्द्र बनाउन विस्तृत अध्ययनका लागि कार्यदल बनाइने, मेयर बोगटीले लिए जिम्मा

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि विस्तृत अध्ययन गरी कार्यान्वयनका लागि विज्ञ सहितको कार्य दल बनाउने भएको छ । विज्ञ सहितको कार्यदल बनाउने जिम्मा भीमदत्तका मेयर मेयर पदम बोगटीले लिएका छन् ।

भीमदत्तको दोस्रो कार्यपालिका बैठकबाट कार्य दल बनाउने निर्णय गरिएको हो । भीमदत्तमा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो । जग्गा नपाएर फोहरमैला व्यवस्थापन केन्द्र निर्माण अघि बढ्न सकेको छैन । राजनीतिक दलका नेता र स्थानीयले फोहरमैला व्यवस्थापन केन्द्र बनाउन अवरोध गर्दै आएका छन् ।

भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले कार्यपालिका बैठकमा छलफल गरी यसलाई अघि बढाउने निर्णय गरिएको बताए ।

क्षेत्रीय सहरी विकास आयोजनाका लागि फोहरमैला व्यवस्थापन केन्द्र निर्माण पहिलो शर्तका रुपमा छ । फोहरमैला व्यवस्थापन केन्द्रको काम अघि बढ्न नसक्दा आयोजना अन्र्तगत निर्माण हुने ३६ किलोमिटर ढल सहित सबै सडकको निर्माण कार्य अघि बढ्न सकेको छैन । अहिले भीमदत्तमा १४ किलोमटिर सडक निर्माण कार्य मात्रै अघि बढेको छ ।

यो परियोजना एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा सञ्चालित छ । आयोजना अन्र्तगत ६० करोड लगानीमा फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो ।

नगरपालिकाको बजार र आसपासका क्षेत्रमा अहिले दैनिक ७ दशमलव २९ टन फोहर निस्कने गरेको छ । नगरपालिकाले महेन्द्रनगर बजारसहित आसपासका ७०० घरबाट फोहर संकलन गर्दै आएको छ ।

२०३४ सालमा स्थापना गरिएको नगरपालिकामा यसअघि डम्पिङ साइट बनाउन पटक–पटक प्रयत्न गरिएको थियो । यसैबीच भीमदत्त नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले पत्रकार सम्मेलन गरी दुई नगर कार्यपालिका बैठकका निर्णय सार्वजनिक गरेका छन् ।

भीमदत्त नगरपालिकामा पत्रकार सम्मेलन गरी ती दुबै बैठकका निर्णय सार्वजनिक गरिएको छ । स्थानीय तह निर्वाचनबाट भीमदत्तका मेयर पदम बोगटी निर्वाचित भएपछि जेठ १२ गते पहिलो कार्यपालिका बैठक बसेको थियो । त्यसको ८ दिनपछि जेठ २० गते दोस्रो कार्यपालिका बैठक बसेको थियो । खड्कालाई दोस्रो बैठकबाट प्रवक्ताको जिम्मेवारी दिइएको थियो ।

पत्रकार सम्मेलनमा प्रवक्ता खड्काले दुबै बैठकका निर्णय वाचन गरे । उनले आगामी दिनमा पनि सबै बैठकका निर्णय पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाए ।

पहिलो बैठकबाट भीमदत्त नगरपालिका २ उल्टाखाममा यौन हिंसा पीडित बनेकी किशोरीलाई नगद सहयोग सहित उनको उच्च शिक्षा अध्ययनसम्मको जिम्मा लिने, असार ७ गते नगर सभा गर्ने र त्यसको समय तालिका स्वीकृत गर्ने र मतदातालाई धन्यवाद दिने निर्णय गरिएका छन् ।

नगर कार्यपालिका पूर्ण नहुँदै पहिलो बैठक बसेको थियो । नगर कार्यपालिका सदस्यको निर्वाचन भएपछि जेठ २० गते दोस्रो बैठक बसेको थियो ।

कार्यपालिकाको दोस्रो बैठकबाट समिति र उप समिति गठन, गर्भवति महिलालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने, ज्येष्ठ नागरिकको घरदैलोमा मासिक रुपमा स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने, भीमदत्तलाई दुव्र्यसनी मुक्त नगरपालिका बनाउने, विज्ञहरुको रोष्टर तयार गर्ने, आगामी वर्षको नीति, योजना तथा कार्यक्रम तयार गर्ने, विपन्न विद्यार्थीको शिक्षामा पहुँच बढाउन कार्यविधि बनाउने लगायतका निर्णय गरिएका छन् ।

नगर प्रवक्ता खड्काले जिम्मेवारी पाएपछि पहिलो पटक पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन् । उनले नगरपालिकाको विकासका लागि सबै पत्रकारको साथ सहयोग चाहिएको बताए । सम्मेलनमा भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापा, १२ का वडा सदस्य नर बहादुर साउँद, प्रशासकीय अधिकृत हरि सिह धामी, विज्ञ गौराज बहादुर लिम्बू लगायतका सहभागी भए ।

Himal dental
सम्बन्धित
Loading...