
महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमा प्रदेश बाहिरका योजना समेटिएपछि विवादित बनेको छ ।
प्रदेशको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा लुम्बिनी प्रदेशको दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ को सिरङगी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुट्याइएको देखिएको छ ।
सिरङगी खोलाको लागि प्रदेश सरकारले १० लाख र कालीखोलामा तटबन्ध निमार्णका लागि १० लाख बजेट छुट्याइएको प्रदेश सरकारको आर्थिक वर्ष ०७९÷०८० को वार्षिक विकास कार्यक्रममा उल्लेख छ ।
यस्तै रजापुर नगरपालिका ७ गिठुवा टोल दाङमा राप्ती नदी नियन्त्रणका लागि पनि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । उक्त योजनाको लागि पनि प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको हो ।
यता प्रदेशको आर्थिक मामिला मन्त्रालयका अनुसार अन्य प्रदेशका योजना वार्षिक विकास कार्यक्रममा समावेश हुनुमा प्रदेश सरकारको दोष छैन । मन्त्रालयका प्रदेश सचिव जितेन्द्र बस्नेतले संघीय सरकारले सशर्त अनुदान मार्फत पठाएका कार्यक्रमलाई हुवहु प्रदेश सरकारले प्रकाशन गरेको बताए ।
अनुदान मार्फत संघीय सरकारले ७ अर्ब बढीका योजना प्रदेश सरकारलाई पठाएको छ,’ बस्नेतले दिनेशखबरलाई भने, ‘ती कार्यक्रम परिवर्तन गर्ने अधिकार प्रदेश सरकारसंग छैन। प्रदेश सरकारले त संघीय सरकारले पठाएका कार्यक्रम वार्षिक विकास कार्यक्रममा समावेश गर्ने मात्रै हो ।’
