सवारी दुर्घटना घाइते बंकका बोहराको उपचारका लागि दुई लाख बढी सहयोग संकलन, समाजसेवी पन्तले गरे हस्तान्तरण
महेन्द्रनगर । सवारी दुर्घटनामा घाइते कृष्णपुर नगरपालिका १ बंकका शालिभान बोहराका लागि उपचार खर्च संकलन गरिएको छ । भारतको लखनउमा उपचार गरि रहेका बोहराका लागि तेस्रो आँखा युवा क्लबले सहयोग संकलन गरी आइतबार हस्तान्तरण गरेको छ ।
सात महिना अघि दुर्घटनामा परी घाइते भएका बोहराका लागि सालिभान बोहरा बचाउ अभियान सञ्चालन गरी दुई लाख १५ हजार रुपैँया संकलन गरिएको छ । सहयोग रकम आइतबार समाजसेवी लोकेन्द्र प्रसाद पन्तले बोहरा परिवारलाई हस्तान्तरण गरेका छन् ।
कमजोर घरायशी अवस्थाका कारण उपचार गराउन समस्या देखिएपछि समाजसेवी पन्त सहितलाई समावेश गरी सालिभान बोहरा बचाउ अभियान सञ्चालन गरिएको थियो । कृष्णपपुर नगरपालिकाका क्षेत्रमा सञ्चालित अभियानबाट सहयोग रकम संकलन गरिएको छ ।
गत पुस १ गते बोहरा बंकस्थित चौराहामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए । त्यसपछि उपचारका लागि भारत लगिएका बोहराको उपचार गराउन समस्यादेखिएपछि असार ४ गतेदेखि शनिबारसम्म सहयोग रकम संकलन गरिएको थियो ।
‘घरायशी अवस्था कमजोर छ, उपचार खर्च सकिएपछि सहयोग अभियान सञ्चालन गरियो,’ समाजसेवी पन्तले भने,‘यसले उपचारमा केही सहजता हुन्छ ।’
पन्त स्थानीय तह निर्वाचनमा कृष्णपुर नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा समाजसेवी पन्त सहित क्लबका अध्यक्ष मोहन रोकाया, अभियानकर्ता पुष्कर साँउद लगायतका सहभागी भएका छन् ।