एमाले नेता खरेलले नागरिकता विधेयक विरुद्ध बनाए फेसबुकको प्रोफाइल तस्बिर कालो, भन्छन्– मुटु नै छिया छिया भयो
महेन्द्रनगर । नेकपा(एमाले) केन्द्रीय लेखा आयोग सदस्य ईश्वरी प्रसाद खरेलले नागरिकता ऐन संशोधन विधेयक पारित भएको विरोधमा फेसबुकको प्रोफाईल तस्बिर कालो बनाएका छन् । प्रतिनिधि सभाबाट विधेयक पारित भएपछि उनले फेसबुकमा मुटु छिया पारेको दिन भन्दै आफ्नो फेसबुक प्रोफाइल कालो बनाएका हुन् ।
सरकारले सात वर्ष अघि संसदमा दर्ता गरेको नागरिकता ऐन सम्बन्धी संशोधन विधेयक शुक्रबार प्रतिनिधि सभाबाट पारित भएको थियो । विधेयक पारित भएपछि फेसबुक प्रोफाइल तस्बिर कालो बनाएर उनी फेसबुकमा सरकार विरुद्ध खनिएका छन् ।
सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको दिल्ली भ्रमणलाई व्यङ्ग्य गर्दै उनले कारिन्दा भेट्दा नागरिकता दिएको र भारतीय प्रधानमन्त्री भेटेको भए देशै दिने उल्लेख गरेका छन् ।
उनले भनेका छन्,‘कारिन्दा भेट्दा नागरिकता दिऔ, ख्वामित भेटेको भए देशै दिन थियौ ।’