
महेन्द्रनगर । कृष्णपुर नगरपालिका–३ देखतभूलीबाट प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आज पत्रकार सम्मेलन गरी डडेल्धुरा अमरगढी नगरपालिका–३ काडेकी ४० वर्षीय मालती मल्ल (सेठी) र वडा नं ३ का जोसिनाका २९ वर्षीय मोहन सार्कीलाई चितुवाको छाला सहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट दुई थान वयस्क चितुवाको छाला बरामद गरिएको छ । बरामद गरिएका छालामा एक ८ फिट ८ इन्च लम्बाइ र ३ फिट चौडाइको रहेको छ। अर्को छाला ७ फिट २ इन्च लम्बाइ र २ फिट ८ इन्च चौडाइको रहेको छ ।

चितुवाको छाला बुधवार साँझ देखतभूली निरञ्जन मल्लको धानबालीमा बोरी भित्र लुकाई राखेको अवस्थामा भेटिएको छ ।
पक्राउ परेका दुवैजना निरञ्जनकै कुखुरा फार्मको काम गर्ने व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।
चितुवाको छाला पहाडी क्षेत्रबाट ल्याएको हुन सक्ने उनले बताए । पक्राउ परेका दुवैजनालाई जिल्ला वन कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको छ ।
