
दोधारा चाँदनीमा बफरजोन विरुद्ध वासिन्दा, मेयर लिम्बु भन्छन् –मध्यवर्ती आवश्यकता हो कि, होईन भनेर बहस चल्नु पर्छ
पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकामा छाडा पशु चौपायाले स्थानीय किसानको खेतीपाती नष्ट गर्न थालेपछि नियन्त्रणका लागि नगरपालिकाले सामुदायिक बनहरुमा काञ्जी खोर निमार्ण गरी छाडा चौपाया राख्न थालेपछि शुक्लाफाँटा राष्ट्रिय निकुन्ज कार्यालयले आपत्ति जनाउदै सामुदायिक वनलाई छाडा पशु चौपाया व्यवस्थापनका लागि प्रयोजन नगर्न भनेको छ ।
सामुदायिक वन जुन प्रयोजनको लागि हस्तान्तरण गरिएको हो, सो भन्दा बाहिर गई मध्यवर्ती सामुदायिक वनको विधान, कार्य योजना विपरित कार्य नगर्न, नगराउन हुन् मध्यवर्ती सामुदायिक वनहरुले आफ्नो विधान, कार्य योजना विपरित कार्य वा कानुन बर्खिलाप काम नगर्न दोस्रो पटक सामुदायिक वनलाई पत्राचार गरेको छ ।

दोधारा चाँदनी नगरपालिकामा छाडा पशु चौपाया नियन्त्रणको लागी खाली जग्गा नभएको कारण नगरपालिकाले सामुदायिक वनमा काँञ्जी खोर निमार्ण गरि छाडा पशु चौपायालाई राख्दै गर्दा शुक्लाफाँटा राष्ट्रिय निकुन्जले आपत्ति प्रकट गरी सामुदायिक वनको विधान तथा कार्य योजना विपरित भनेको छ ।
दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले मध्यवर्ती क्षेत्र घोषणाले नगरपालिका क्षेत्रमा थुप्रै विकास निर्माण कार्यमा अवरोध गर्दै आएको जनाउँदै आफ्नो बुझाईमा मध्यवर्ती आजको आवश्यकता हो की होईन भन्ने विषयमा अब बहस चल्नु पर्ने बताए ।
छाडा पशु चौपाया व्यवस्थापन मात्रै नभई महाकाली नदीमा तटबन्ध निमार्ण कार्यमा समेत बफरजोन अवरोध भईरहेको सामाजिक सञ्जालमा लेखेका छन् ।
‘बफरजोनको दोस्रो पत्र । स्थानीय स्तरबाटै बारम्बार वार्डेन कार्यालयमा छाडा चौपाया सामुदायिक वनबाट हटाई दिनु प¥यो भनी फोन गएको कारणले यस्तो पत्र पठाउन वार्डन कार्यालय बाध्य भएको हो भन्ने स्थानिय जनता तथा वन समितिकै बुझाई रहेको छ ।
यसै विषयलाई लिएर आज छलफल तथा हस्ताक्षर कार्यक्रम दोधारा चाँदनी नगरपालिका वडा नं. २ को वन समितिले राखेको जानकारी गराउँदछु । चैतको महिना ३ करोड ८५ लाखको तटबन्द (बन्दा) को ठेक्काको काम नदीबाट गिट्टी, ढुंगा र बालुवा निकाल्न नदिदा ठेक्काको काम हुन सकेन् ।
बांँधको उचाई कम छ । यस पटक पनि पोहर सालको जसरी बाढी डुबान नहोला भन्न सकिदैन् । हाम्रो नगरपालिकाको बजेटबाट वर्षेनी सामुदायिक वनको तारबार गर्न म्याचिङ्ग फण्डको नाममा बजेट खर्च हुन्छ । तर हिसाब किताब कसैलाई थाहा हँुदैन ।
आज दुई महिनाको लागि अस्थायी रुपमा रातीको लागि मात्र तारबार गरेर छाडा चौपाया राख्दा पनि बारम्बार पत्राचार गरेर समितिका साथीहरुलाई स्पष्टीकरण मागेर सताउने काम भईराखेको छ । अब जनताले बोल्ने समय आएको छ कि, छाडा चौपायालाई रातीको लागि मात्र भए पनि थुनेर राख्ने की नराख्ने ? थुनेर राखेको मन नपरेको भए त्यो पनि भन्दिनु प¥यो । नगरपालिकाले विकासको काम काटेर त्यसैमा बजेट खर्च गरेर छाडा चौपाया व्यवस्थापन गर्ने भन्छन् भने, त्यो पनि हामी गर्न तयार छौ र गर्न पनि सक्छौ । मेरो बुझाईमा बफरजोन आजको आवस्यकता हो की होईन भन्ने विषयमा अब बहस चल्नु पर्छ । वनको महत्व सबैले बुझेका छन् । वन जोगाउनु पर्छ सबैलाई थाहा छ । तर वन जोगाउने नाममा विकासको काम रोकिनु कति जायज हो ? त्यो कुरा पनि बुझ्नु जरुरी छ । वन मानिसले वनाउने चिज हो भने मानिसलाई चाहिने विकास भन्दा वन ठूलो कुरा हुनै सक्दैन् । आवश्कताको आधारमा मानिसले वन आफै निर्माण गर्ने गर्दछ । कृपया सबैको विचार आवस’ दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
