महेन्द्रनगर । भीमदत्त नगरपालिका ३ तिलकपुरका सन्तोस पाण्डेयको घरमा लुटपाट गर्ने दुई भारतीय नागरिकलाई अनुसन्धानका लागि कैलाली कारागारबाट कञ्चनपुर ल्याइएको छ ।
पाण्डेयको घरमा डेरा गरी बस्दै आएका उनीहरुले गत वर्ष माघमा पाण्डेयका घर परिवारका सदस्यलाई विषालु पदार्थ मिसाएको केक खुवाई बेहोस बनाएर लुटपाट गरेका थिए । लुटपाटपछि प्रहरीले उनीहरुको खोजी गर्दै आएको थियो ।
प्रहरी अनुसन्धानका क्रममा उनीहरु कैलाली कारागारमा रहेको खुलेपछि जिल्ला अदालत कैलालीको आदेशमा अनुसन्धानका लागि ल्याइएको हो । लुटपाटमा संलग्न भारतीय नागरिक सेरा जाट (सन्नी) र साहिल शर्मालाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले अनुसन्धानको क्रममा उनीहरु कारागारको थुनामा रहेको खुलेपछि अदालतको आदेश अनुसार अनुसन्धानका लागि हिरासतमा राखिएको बताए । प्रहरी प्रवक्ता शाहका अनुसार उनीहरु दुबै जना डाँका चोरी मुद्दामा कारागार चलान गरिएका हुन् ।
तिलकपुरमा लुटपाटपछि फरार भएका उनीहरु कैलालीमा अर्को लुटपाट गरेपछि पक्राउ परेको प्रहरीको भनाई छ । तिलकपुरस्थित पाण्डेयको घरमा बस्दै आएका उनीहरुले आफूहरुको बर्थडे भएको भन्दै घर परिवारका सदस्यलाई विषादी मिसाएको केक खुवाएका थिए । केक खाएर बेहोस भएपछि नगद र गरगहना लुटेर लगेका थिए ।