महेन्द्रनगर । सरकारले मंसिर ४ गते संघ र प्रदेश सभा सदस्यको निर्वाचन घोषणा गरेपछि सत्तारुढ गठबन्धनले चुनावी तालमेल गर्ने निर्णय गरेको छ । गठबन्धनले भदौ मसान्तसम्मको समय सीमा दिएर चुनावी तालमेलका लागि सीट बाँडफाँटको खाका बनाउन कार्यदल पनि गठन गरेको छ ।
सत्तारुढ गठबन्धको निर्णयपछि कञ्चनपुरमा चुनावी तालमेललाई लिएर चर्चा हुन थालेका छन् । यस अघि स्थानीय तह निर्वाचनमा सीट बाँडफाँटमा सहमति नभएपछि अन्तिममा सत्तारुढ दलहरु मित्रवत प्रतिस्पर्धा गरी चुनाव लडेका थिए । काँग्रेसित सीट बाँडफाँटमा सहमति नभएपछि माओवादी र समाजवादी चुनाव लडेका थिए ।
आगामी निर्वाचनमा पनि दलहरु मित्रवत प्रतिस्पर्धा गरी चुनाव लड्ने कि केन्द्रीय निर्णय अनुसार तालमेल गरी चुनाव जाने बहस थालिएको छ । स्थानीय तह निर्वाचनमा काँग्रेसले स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने नीति लिएको थियो ।
अहिले काँग्रेस तालमेल सम्बन्धी आफ्नो छुट्टै नीति नलिएर गठबन्धन गर्ने निर्णय गरेको छ । त्यस आधारमा आगामी निर्वाचनमा सत्तारुढ गठबन्धन आवद्ध दलहरुबीच चुनावी तालमेल हुने सम्भावना बलियो छ ।
सत्तारुढ गठबन्धनमा काँग्र्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतका दलहरु छन् । गठबन्धनका यी सबै दलमध्ये काँग्रेस, माओवादी र समाजवादीबीच सीट बाँडफाँट गरी अघि बढ्नु पर्ने देखिएको छ ।
कञ्चनपुरमा प्रतिनिधि सभाका ३ र प्रदेश सभाका ६ सीट छन् । २०७४ को निर्वाचनमा प्रतिनिधि सभा र प्रदेशका सबै ९ सीट तत्कालिन वाम गठबन्धनले जितेको थियो । वाम गठबन्धनमा एमालेले दुई प्रतिनिध सभा र प्रदेश सभा ४ सीट जितेको थियो । माओवादी केन्द्रले प्रतिनिधि सभाका १ र प्रदेश सभाका दुई सीट जितेको थियो ।
काँग्रेस प्रतिनिधि सभा र प्रदेश सभाका सबै सीट गुमाउन बाध्य भएको थियो । २०७० को दोस्रो संविधान सभा सदस्य निर्वाचनमा ३ ओटै निर्वाचनमा क्षेत्रमा निर्वाचित काँग्रेस नेता पराजित भएका थिए । उनीहरु सबै अहिले चुनाव लड्ने तयारीमा लागेका छन् ।
अघिल्लो हारको बदला लिन उनीहरुले चुनाव लड्ने मनस्थिति बनाएर आन्तरिक तयारीमा लागि सकेका छन् । काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्री रमेश लेखकले स्थानीय तहबाटै आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय भएका छन् । उनी अहिले पनि आफ्नो क्षेत्रमा नेता कार्यकर्ता भेटघाट सहितका विभिन्न कार्यक्रममा व्यस्त भएका छन् ।
कञ्चनपुर प्रतिनिधि सभा क्षेत्र नं. ३
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ अन्य दुई क्षेत्रको तुलनामा चुनावमा बढी चर्चा पाउने गर्छ । अघिल्लो निर्वाचनमा काँग्रेसका केन्द्रीय सदस्य लेखक वाम गठबन्धनका एमाले उम्मेदवार डा. दिपक प्रसाद भट्टसित २५८ मत अन्तरले पराजित भएका थिए । २०५६ र २०७० मा चुनाव जितेका उनी आफ्नै भाई नाता पर्ने भट्टसित पराजित भएका थिए ।
२०५१ को मध्यावधि निर्वाचन जितेपछि एमाले २०७४ मा एमालेले दोस्रो पटक यस क्षेत्रमा जित हात पारेको थियो । कञ्चनपुर क्षेत्र नं. ३ मा लगातार दोस्रो कार्यकाल कुनै दलले पनि चुनाव जितेको रेकर्ड छैन । यस क्षेत्रमा भीमदत्त नगरपालिका, दोधारा चाँदनी नगरपालिका र बेदकोट नगरपालिका ८ नम्बर वडा पर्छ ।
प्रदेश सभामा प्रदेश क मा वाम गठबन्धनका प्रकाश रावल र प्रदेश सभा ख मा माओवादी केन्द्रका मान बहादुर सुनारले जितेका थिए । प्रदेश क मा एमाले उम्मेदवार भएर चुनाव जितेका रावल अहिले एकीकृत समाजवादीमा छन् । काँग्रेस लेखक, माओवादीका सुनार र समाजवादीका रावल तीनै जना अहिले सत्तारुढ गठबन्धनमा छन् । स्थानीय तह निर्वाचनबाट काँग्रेसको भीमदत्त नगरपालिकामा बलियो र दोधारा चाँदनी नगरपालिकामा कमजोर अवस्था देखिएको थियो ।
भीमदत्तका काँग्रेसका कञ्चनपुर सभापति पदम बोगटी निर्वाचित हुँदा काँग्रेस सुदूरपश्चिम प्रदेशका सह महामन्त्री गोपाल भट्ट दोधारा चाँदनीमा पराजित भएका थिए । दोधारा चाँदनीमा उप मेयर एक वडा मात्रै जितेको काँग्रेसले वडा सदस्यहरु भने जितेको छ ।
यस क्षेत्रमा माओवादी र समाजवादीले प्रतिनिधि सभा नभएर प्रदेशमा दावी गर्न सक्ने बलियो सम्भावना छ । त्यसका लागि प्रदेश क मा रावल र ख मा सुनार फेरि उम्मेदवार हुन सक्ने नेताहरु बताउँछन् । काँग्रेसबाट प्रतिनिधि सभामा लेखक उम्मेदवार निश्चित छ । अघिल्लो निर्वाचनमा यज्ञराज जोशी र बेल बहादुर राना प्रदेश सभा सदस्य लडेका थिए ।
कञ्चनपुर प्रतिनिधि सभा क्षेत्र नं. २
यस क्षेत्रमा काँग्रेसका केन्द्रीय सदस्य एनपी साउँद अघिल्लो निर्वाचनमा वाम गठबन्धनका एमाले उम्मेदवार नर बहादुर धामीसित पराजित भएका थिए । साउँदले यस पटक भीमदत्त नगरपालिका २ उल्टाखामबाट आफ्नो मतादाता परिचयत्र पत्र शुक्लाफाँटा नगरपालिकामा सारेका छन् ।
स्थानीय तह निर्वाचनमा उनले शुक्लाफाँटाबाटै मतदान गरेका थिए । २०५१ को मध्यावधि निर्वाचनमा क्षेत्र नं. ३ बाट पराजित भएपछि साउँद अन्य क्षेत्रबाटै चुनाव लड्दै आएका छन् । शुक्लाफाँटा नगरपालिका, कृष्णपुर नगरपालिका र बेदकोट नगरपालिका यस निर्वाचन क्षेत्रमा पर्छन् । स्थानीय तह निर्वाचनमा शुक्लाफाँटा बाहेक अन्य दुई नगरपालिकामा मेयर उप मेयर सहित अधिकाँश वडा काँग्रेसले जितेको छ । शुक्लाफाँटामा पनि मेयर गुमाएर काँग्रेस उप मेयर बहुमत वडा जितेको छ ।
२०७४ को निर्वाचनमा वाम गठबन्धनबाट प्रदेश क मा महेशदत्त जोशी र ख मा लाल बहादुर खड्का निर्वाचित भएका थिए । उनीहरु पनि अहिले दुबै जना गठबन्धमा छन् । एमालेबाट निर्वाचित खड्का एकीकृत समाजवादीमा छन् ।
काँग्रेस नेता साउँद एमालेका नेता धामीसित ८ हजार मत अन्तरले पराजित भएका थिए । २०७० को निर्वाचनमा भने उनले धामीलाई हराएका थिए । सत्तारुढ गठबन्धनको निर्णय अनुसार यस क्षेत्रमा प्रतिनिधि सभा बाहेक प्रदेश सभामा माओवादी र समाजवादीले दावी गर्न सक्ने सम्भावना छ ।
कञ्चनपुर प्रतिनिधि सभा क्षेत्र नं. १
कञ्चनपुर क्षेत्र नं. १ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसित जोडिन्छ । यस क्षेत्रबाट दाहालकी बुहारी विना मगर चुनाव लड्दै आएकी छन् । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री भएकी मगरले २०७० को चुनावमा काँग्रेसका दिवान सिह विष्टलाई २० हजार मत अन्तरले हराएकी थिइन् । उनी वाम गठबन्धनमा माओवादी केन्द्रबाट उम्मेदवार थिइन् । २०७० को संविधान सभा सदस्य निर्वाचनमा भने उनी विष्टसित पराजित भएका थिइन् ।
काँग्रेसका विष्ट निर्वाचित एमालेका लाल बहादुर विक दोस्रो र मगर तेस्रो भएकी थिइन् । सत्तारुढ गठबन्धनमा साँसद मगरलाई फेरि प्रतिनिधि सभा सदस्य लडाउने सम्भावना छ । काँग्रेस नेता विष्ट पनि आफ्नो निर्वाचन क्षेत्र नछाड्ने मनस्थितिमा छन् । उनी यस पटक अघिल्लो हारको बदला फर्काउने दाउमा छन् ।
स्थानीय तह निर्वाचनमा क्षेत्र नं. १ मा काँग्रेस चुनावी तालमेल विरुद्ध उभिएको थियो । अहिले यस क्षेत्रका दुई स्थानीय तहमा काँग्रेसले जितेको छ । माओवादी केन्द्र र एमालले एक÷एक स्थानीय तह जितेका छन् । यस क्षेत्रमा प्रदेश सभामा दुबै समाजवादीका साँसद छन् ।
वाम गठबन्धनमा एमाले उम्मेदवार भएर चुनाव लडेका तारालामा तामाङ्ग र कुलबीर चौधरी दुबै समाजवादीमा छन् । सत्तारुढ गठबन्धनमा समाजवादीले पनि प्रतिनिधि सभा सदस्यमा तामाङ्गका लागि लबिङ्ग गर्न सक्ने सम्भावना छ ।
तामाङ्ग यस अघि संविधान सभा सदस्य निर्वाचनमा काँग्रेसका एनपी साउँदसित पराजित भएका थिए । सुदूरपश्चिमका प्रदेश सरकारका आर्थिक मन्त्री भई सकेका उनी आफ्नो क्षेत्रमा बलियो नेताका रुपमा परिचित छन् । स्थानीय तह निर्वाचनमा पुनर्वास नगरपालिकाको मेयरमा सामजावादी लडेको थियो ।