कञ्चनपुर रेडक्रसको १६ औं अधिवेशन : पाँच पदाधिकारी र महिला सदस्य निर्विरोध, अन्य पदका लागि शनिबार मतदान
महेन्द्रनगर । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको १६ औं अधिवेशनमा पाँच पदाधिकारी र महिला सदस्य निर्विरोध भएका छन् । रेडक्रसमा मन्त्री, कोषाध्यक्ष, उप मन्त्री र उप कोषाध्यक्ष निर्विरोध भएका छन् ।
मन्त्रीमा रघुनाथ भट्ट, कोषाध्यक्षमा थिरेन्द्र चन्द, उप मन्त्रीमा मधु बोहरा र उप कोषाध्यक्षमा ईश्वरा भट्ट निर्विरोध भएका छन् । उनीहरुमध्ये मन्त्री भट्ट तेस्रो र कोषाध्यक्ष भट्टको चौथो कार्यकाल हो ।
उप मन्त्री बोहरा पनि दोहोरिएकी छन् । कोषाध्यक्ष भट्ट बहालावाला प्रधानाध्यापक र उप मन्त्री बोहरा अवकाश प्राप्त प्रधानाध्यापक हुन् । अघिल्लो निर्वाचनमा सदस्य जितेकी भट्टले उप कोषाध्यक्ष ललित रेग्मीको निधन भएपछि जिम्मेवारी वहन गरेकी थिइन् ।
अविधेशनमा तीन महिला सदस्य पनि निर्विरोध भएका छन् । उनीहरुमा कविता जोशी, जुना आग्री र कल्पना कुमारी श्रेष्ठ छन् । तीन सदस्यका लागि चार जनाले उम्मेदवारी दिएका थिए । पछि एक जनाको उम्मेदवारी फिर्ता भएपछि उनीहरु निर्विरोध भएका हुन् । अन्य ७ सदस्यका लागि १४ जना चुनावी प्रतिस्पर्धामा छन् ।
रेडक्रसका सभापति सहित पदाधिकारी र सदस्यका लागि शनिबार मतदान गर्ने तयारी गरिएको छ ।
सभापतिमा वर्तमान सभापति टेकराज उप्रेती र मदनराज पाण्डेय उम्मेदवार भएका छन् । महिला उप सभापतिमा मन्जु दाहाल जोशी र धनेश्वरी भट्ट, खुल्ला सभापतिमा नर बहादुर राना र जनकराज जोशी उम्मेदवार भएका छन् ।