
बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष नाथका स्वकीय भन्छन्– सहकारीलाई कारवाही गर्ने निर्णय भएको छैन, छलफल मात्रै भएको हो
महेन्द्रनगर । बेलडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथका स्वकीय सचिव जनकराज गिरीले बेल्डाँडी महिला साना कृषि सहकारी संस्थालाई कारवाही गर्ने निर्णय नभएर सहकारीहरुलाई व्यवस्थित बनाउन छलफल मात्रै गरिएको दावी गरेका छन् ।
उपाध्यक्ष नेतृत्वको मलखाद व्यवस्थापन समितिले बेलडाँडी बाहिरका नागरिकलाई मलखाद दिएको भन्दै कारवाहीको निर्णय गर्न बसेको बैठकमा अध्यक्ष हरिशचन्द्र राना र उपाध्यक्ष नाथबीच भनाभन भएको बाहिर आएपछि गिरीले बेलडाँडी महिला कृषि सहकारी सहित अन्य सहकारीलाई व्यवस्थित रुपमा सञ्चालनका लागि छलफल गरिएको प्रष्टीकरण दिएका हुन् ।
‘त्यो समाचारमा आए जस्तो निर्णय पनि भएको छैन, अध्यक्ष र उपाध्यक्षबीच भनाभन पनि भएको छैन, वहाँहरुबीच एकदमै राम्रो सम्बन्ध छ’ उनले भने,‘यहाँ ४÷५ सहकारी छन्, कसैले २८ सय, कसैले ३६ सयमा मल बेचि रहेको छ, गाउँपालिकाले दररेट बनाएको छ, त्यो अनुसार कसरी गर्ने भनेर छलफल गरिएको हो, हिजो छलफल गरिएपछि अध्यक्ष, उपाध्यक्ष र हाकिमसाप अर्को दिन बसेर निर्णय गर्ने गरी बैठक सकिएको हो ।’
बेलडाँडीका उपाध्यक्ष नाथले बेलडाँडी ५ का नागरिक बनेर सहकारीबाट मलखाद ल्याएका दुई जनालाई देखाएर सहकारीको मलखाद डिपो बन्द गरी कारवाही गर्न लागेकी छन् । त्यसका लागि उनले केही दिन अघि प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशीलाई तीन दिने स्पष्टीकर सोध्न लगाएकी छन् ।
गाउँपालिकाका अध्यक्ष राना भने सहकारीमाथि कारवाही गर्दा अन्य समस्या आउने भन्दै उपाध्यक्षलाई कारवाही गर्न नहुने पक्षमा छन् ।
उपाध्यक्ष नाथले गत वर्ष सहकारी संस्थामाथि तोडफोड गरेपछि उनको सहकारीसित रुष्ट छिन् । सहकारीले उनलाई प्रशासन कार्यालय पुगाएकी उनी माफी मागेपछि क्षतिपूर्ति दिने कागज गरी छुटेकी थिइन् ।
