ghar sansar

गणतन्त्रलाई गिज्याउने वादीका यी झोपडी, सरकार छ मुकदर्शक

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिकामा राजनीतिक दलका नेता कार्यकर्ता आसन्न संघिय निर्वाचनमा आफ्नो जित सुनिश्चित गर्न प्रचारप्रसारमा लागि सकेका छन् । वडा तथा टोलगत रुपमा संगठन विस्तार, बैठक, पार्टी प्रवेशका कार्यक्रम अघि बढाउँदै आएका छन् । तर बादी समुदायलाई भने राजनीतिक दलको चुनावले अहिलेसम्म छोएको छैन । उनीहरुलाई एक छाक टार्नकै सकस छ ।

दोधारा चाँदनी नगरपालिका ३ र ६ का वादी बस्तीलाई निर्वाचनमा कस्ता व्यक्तिलाई जिताउने भन्दा पनि बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने निकै चिन्ताले पिरोलेको छ । उसो त गएको स्थानिय निर्वाचनमा सबै दलका नेता तथा कार्यकर्ता भोट माग्न वादी समुदायको घर नपुगेको पनि होईनन् । तर गाँस, बास र कपासका लागि अल्झिएका उनीहरुलाई दलका नेताहरुले दिने आश्वासनले छोएको पाईदैन ।

mahostaw

चुनावमा दोधारा चाँदनी नगरपालिकामा काँग्रेंस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी, एकिकृत सामाजवादी, स्वतन्त्र लगायत दलका नेताले पालिकालाई समृद्ध तथा विकासको मूलधारमा ल्याउँछु भन्दै आए पनि अब हुने निर्वाचनमा मान्छे हेरेर भोट हाल्ने वादी परिवारहरु बताउँछन् । देशमा कमजोर अर्थतन्त्रको कारण जनताको पीडा दिन प्रतिदिन बढेको उनीहरु बताउँछन् ।

वादी घर परिवारको एक छाक टार्ने समस्याले थप पिरलो रहेको पाईन्छ । गाउँ बस्तीमा ज्याला मजुदरी नपाएपछि दोधारा चाँदनीको बादी परिवारको दैनिकी अझ कष्टकर बन्दै गएको छ् । दोधारा चाँदनीमा बस्दै आएका बादी परिवारले सरकारले आफूहरुको वेवास्ता गर्दै आएको गुनासो गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका ३ बडवाल टोलका बादी घर परिवारले केही महिना अघि मात्रै स्थानीय सरकार र केही स्थानीयको पहलमा तत्कालिन माओवादी सशस्त्र जनयुद्धमा छाडेको जग्गा फिर्ता पाए पनि केही वादी घर परिवारले जग्गा पाएका छैनन् । बडवाल टोल बस्ने रेशम बादीको जग्गा अझैसम्म फिर्ता नपाएको उनीहरु बताउँछन् । जग्गा नपाएपछि रेशम बादीको छिमेकीको जग्गामा त्रिपालको झुपडी बनाएर दिनचर्या बिताउँदै आएको छ । वर्षौदेखि पछौटपन र गरिबीमा बाँच्न उनीहरु बाध्य छन् ।

नाच्ने, गाउने र मादल बनाउने वर्षौ देखिको पुख्यौली पेशाबाट अब बाँच्न सक्ने अवस्था नरहेको रेशम वादीको भनाई छ । पहिले पहिले बाउ बाजेले मादल बेचेर गीत गाउँदै अरुलाई मनोरञ्जन दिएर जीवन चलाए पनि अचेल आधुनिक बाजाको विकाससंगै अब वादी समुदाय पुख्र्यौली पेशाले धान्नै नसक्ने स्थितिमा पुगेको छ ।

पछिल्लो समय वादी समुदायका युवा रोजगारीका लागि भारतका विभिन्न शहरमा जाने गरेका छन् । ‘गाउँ घरमा पनि काम नपाइने र जगबुडा र महाकाली नदीमा माछा मारेर खान सक्ने अवस्था छैन । माछा पनि पाईदैन् । गाउँमा कतै काम पनि पाईदैन । केही गर्ने वातावरण पनि छैन्, अर्को तिर हामीहरु संग पैसा पनि छैन् । त्यसैले सदियौ देखि पिछडिएका वादी समुदायको हितका लागि पनि सरकारले विशेष कार्यक्रम ल्याएर सहयोग गर्नु पथ्र्योे’ रेशम बादीले भने– ‘अझै मुक्तिको लागि लडाई लड्दैछौं ।’

जगबुडा नदी र महाकाली नदीको किनारमा विगत लामो समय देखि नदीको माछा र नजिकै रहेको भारतीय जंगलबाट न्युरो (वनमा पाईने सागपात) बाट आश्रित भएर बादी घर परिवार बाँची रहेका छन् । लामो समयदेखि आफूहरुले समस्या भोगिरहेको भए पनि कसैले पनि सुनुवाई नगरेको बादी घर परिवारको गुनासो छ ।

‘हामीले स्थानिय सरकारलाई बारम्बार आफूहरुका पीडा सुनाउदा समेत आश्वासन बाहेक अरु केही पाउन सकेनौ’ उनीहरु भन्छन् । तीन तहका सरकार भएर पनि राज्यको मूलधारबाट टाढा रहेका दोधारा चाँदनी नगरपालिका ३ र ६ का वादीले पाउनु पर्ने सेवा, सुविधाबाट वञ्चित गरिनु दुर्भाग्यपूर्ण भएको स्थानीय बताउँछन् ।

त्रिपालको सहारामा जोखिम मोलेर बस्दै बादी परिवारले सुरक्षित बासस्थान सहितको पुर्नस्थापना गरि दिनका लागि सरोकारवाला पक्षलाई आग्रह समेत गरे ।

 

Himal dental
सम्बन्धित
Loading...