दोधारा चाँदनीमा मेयर लिम्बुले दिलाउन सक्लान त एमालेलाई अग्रता

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकामा नेकपा (एमाले) बाट स्थानीय तह निर्वाचन जितेका मेयर किशोर कुमार लिम्बु सहित जनप्रतिनिधिलाई सम्मान गरिएको छ ।

दोधारा चाँदनी नगरपालिकास्थित हेल्थपोष्टमा प्रतिनिध सभा र प्रदेश सभा सदस्य निर्वाचनको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा एमालेले उनीहरुलाई सम्मान गरेको छ ।

janjyoti campus

एमालेका पोलिटब्युरो सदस्य एवम् सुदूरपश्चिम प्रदेश सह इन्चार्ज र कञ्चनपुर इन्चार्ज निरुदेवी पालले टिका र खादा लगाएर सम्मान गरेका छन् ।

पाँच महिना अघि भएको स्थानीय तह निर्वाचनमा एमालेका निवर्तमान नगर अध्यक्ष लिम्बुले काँग्रेसका सुदूरपश्चिम प्रदेश सह महामन्त्री गोपाल भट्टलाई फराकिलो मत अन्तरले पराजित गरी निर्वाचित भएका थिए ।

अघिल्लो निर्वाचनमा काँग्रेसका नेता बीर बहादुर सुनारसित पराजित लिम्बुले यस पटकलाई ९ सय ३३ मत अन्तरले हराएका हुन् । लिम्बुले ७ हजार १ सय ४ र भट्टले ६ हजार १ सय ७१ मत ल्याएका छन् ।

काँग्रेसले उप मेयर गंगा जोशी सहित वडा नं. १० मात्रै जितेको थियो । एमाले मेयर सहित ६ वडा जितेको थियो । त्यस बाहेक राप्रपा दुई, नेकपा माओवादी केन्द्र र काँग्रेसले एक÷एक वडा जितेका छन् । अघिल्लो निर्वाचनमा एमालेले उप मेयर सहित ४ वडा जितेको थियो ।

एमालले आइतबार सम्पर्क कार्यालय खोलेर आगामी चुनावको तयारी अघि बढाएको छ । मेयर लिम्बु सहितका निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरी एमालेले स्थानीय तह निर्वाचनका मतदातालाई आकर्षित गर्ने मनसाय राखेको छ ।

दोधारा चाँदनीमा मेयर लिम्बुले एमालेलाई स्थानीय तह निर्वाचनको जितसम्म पुगाएका हुन् । एमालेको आठौं जिल्ला अधिवेशन अघिसम्म उनले लगातार दोधारा चाँदनीको एमाले नगर कमिटीको नेतृत्व गरेका छन् । एमाले र माओवादी एकीकरण भएर नेकपा बनेपछि पनि उनी संयोजक भएका थिए ।

नेकपा विघटन भएपछि पनि नेतृत्व लिने आकाँक्षा राखेका उनी सहमतिमा नेतृत्व चयन हुँदा पछि परेका थिए । नगर नेतृत्व लिन नसकेपछि असन्तुष्ट बनेर समानान्तर कमिटी खोलेका उनलाई स्थानीय तह निर्वाचन अघि शान्त पारिएको थियो । त्यसपछि टिकट पाएर चुनाव लडेका उनी निर्वाचित भएका छन् ।

स्थानीय तह निर्वाचनमा निर्वाचित मेयर लिम्बुले आगामी निर्वाचनमा एमालेका लागि दोधारा चाँदनी क्षेत्रमा आफूले पाएको मत पाउने नपाउने भन्नेमा नेता कार्यकर्ताको ध्यान खिचिएको छ । कञ्चनपुर ३ मा चुनाव जित्न दोधारा चाँदनीको मत निर्णायक हुन्छ ।

अघिल्लो निर्वाचनमा एमालेका निवर्तमान साँसद डा. दिपक प्रसाद भट्ट दोधारा चाँदनीमा एक सय ५० मतले मात्रै पछाडि परेका थिए । त्यस निर्वाचनमा दोधारा चाँदनीमा साँसद भट्ट पछाडि पर्ने र भीमदत्तबाट त्यसको पूर्ति गरी चुनाव जित्ने रणनीति बनाइएको थियो । अहिले पनि दोधारा चाँदनीका ती मतदाताको साथ पाउन अपेक्षा एमालेमा देखिएको छ ।

एमालेले त्यसका लागि दोधारा चाँदनीमा पार्टी सम्पर्क कार्यालय खोलेर चुनावी गतिविधि अघि बढाएको छ । दोधारा चाँदनीमा पार्टीका बैठक प्रशिक्षण लगायतका कार्यक्रम यस अघि नै गरिएका छन् ।

दोधारा चाँदनी सहितको कञ्चनपुर क्षेत्र नं. ३ मा एमालेबाट निवर्तमान साँसद डा. दिपक प्रसाद भट्ट र निरुदेवी पाल टिकटका लागि सिफारिश गरिएका छन् । प्रदेश सभा सदस्यमा भने एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट सर्वसम्मत भएका छन् । दोधारा चाँदनीका १० वडा सहित भीमदत्तका ७ वडा गरी प्रदेश सभा ख मा १७ वडा छन् ।

एमालेबाट उम्मेदवारका लागि सिफारिश गरिएका दुबै जना यस क्षेत्रमा चुनाव लडि सकेका छन् । डा. भट्ट अघिल्लो निर्वाचनमा काँग्रेसका पूर्व मन्त्री रमेश लेखकलाई हराएका निर्वाचित भएका हुन् । अर्का उम्मेदवार पाल २०६४ को संविधान सभा उप निर्वाचन लडेकी थिइन् । संविधान सभा सदस्य उप निर्वाचनमा माओवादी केन्द्रका कमल क्षेत्री निर्वाचित भएका थिए ।

प्रदेश सभा सदस्यमा सिफारिश एमाले अध्यक्ष विष्ट २०७४ को चुनावमा भीमदत्त नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । उनी यस पटक प्रदेश सभा सदस्यमा लड्न लागेका हुन् । सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा काँग्रेसका लेखक फेरि चुनाव लड्न लागेका छन् ।

प्रदेश सभामा काँग्रेसका बेल बहादुर राना वा माओवादी केन्द्रका मान बहादुर सुनार आकाँक्षी छन् । अघिल्लो निर्वाचनमा सुनारसित राना चुनाव हारेका थिए ।

दोधारा चाँदनीमा बलियो राजनीतिक शक्ति मानिएका काँग्रेस र राप्रपालाई पराजित गरी २०७४ देखि एमाले बलियो शक्तिका रुपमा आएको हो । साविकका दोधारा र चाँदनी गाविसमा २०४९ देखि जित बाहिर थियो । दोधारा चाँदनीका मेयर लिम्बुले चार दशकपछि ती दुबै शक्तिलाई परास्त गरी जित दिलाएका हुन् ।

ghar sansar
सम्बन्धित
Loading...