ghar sansar

यस पटक पूरा हुन्छ त संसदमा पुग्ने प्रधानपञ्च जोशीको सपना

महेन्द्रनगर । भीमदत्तमा अहिलेसम्म लगातार कसैले पनि दुई पटक जित्न सकेको छैन, मैले जिते, जितेर प्रधान पञ्च भए, बहुदल आएपछि दुई पटकसम्म चुनाव लडि सकेको छ, नतिजा पाउन सकेन’ असोज २२ गते मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मदेवारी दर्तापछि एमाले राप्रपाले साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा राप्रपाका नेता धर्मराज जोशीले भनेका थिए,‘पार्टीको आकार सानो छ, जनताले पनि मलाई तपाई त हामी छाड्ने थिएनौ, तर पार्टी सानो भयो भने, अब जग नै सानो बनाएर ठूलो घर बनाउन सक्ने कुरा हुँदैन, त्यसैले यस पटक फेरि एमालेसित सहकार्य गरी चुनावी मैदानमा आएको छु ।’

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा तालमेल गरी चुनावी मैदानमा होमिएका एमाले र राप्रपाले तालमेलको सन्देश दिन उम्मेदवारी दर्ताको दिन साँझ संयुक्त पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा दुबै दलका उम्मेदवार सहित नेता सहभागी भएका थिए ।

mahostaw

दुई दलीय चुनावी तालमेल अनुसार कञ्चनपुर ३ क मा राप्रपाका सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मराज जोशी प्रदेश सभा सदस्यका उम्मेदवार भएका छन् । पञ्चायतकालमा दुई पटक भीमदत्त नगरपालिका .(तत्कालिन महेन्द्रनगर नगर पञ्चायत) का लगातार चुनाव जितेर प्रधानपञ्च भएका जोशी यस प्रदेश साँसदका लागि चुनावी मैदानमा आएका छन् । २६ वर्षमै पहिलो पटक प्रधानपञ्च भएका उनी अहिले ६९ वर्ष पुगेका छन् ।

‘जनताले मलाई दुई पटक प्रधान पञ्च दिए, जिल्ला पञ्चायत सदस्य दिए, चुनाव लडे नतिजा आउन सकेन, पार्टी टुटफुटबाट कमजोर भयो’ उनले भने,‘ मलाई पनि एक पटक फेरि जनतामा गएर मत मागौ भन्ने इच्छा त थियो, राजेन्द्र लिङ्देन आएपछि यो इच्छा पलाएर आयो, एक पटक संसदमा पुगौ भनेर यस पटक चुनाव लडेको छु ।’

बहुदल स्थापनापछिका निर्वाचनका पराजयलाई फर्काउन उनी एमालेसित तालमेल गरी चुनावी मैदानमा आएका छन् । उनी २०५१ को मध्यावधि निर्वाचन र २०७० मा संविधान सभा निर्वाचन लडेका छन् । त्यस अघि उनी स्थानीय तह निर्वाचन लडेका थिए । ती सबै निर्वाचनमा उनीसित जनताले पार्टी सानो भएकाले सहयोग गर्न नसकिएको दुखेसो सुनेका थिए । एमालेसित चुनावी तालमेल गरेपछि उनी प्रदेश सभा सदस्य निर्वाचन जित्नेमा ढुक्क देखिएका छन् ।

जोशी प्रधानपञ्च हुँदा गरिएका कामले पनि वासिन्दामा परिचित छन् । उनी त्यस बेला मानवीय, समयावधि र पूर्वाधार गरी विकास निर्माण कार्यलाई तीन तहमा विभाजन गरी प्राथमिकता दिएको बताउँछन् ।

‘त्यो बेला मानवीय भनेर घाँडीघाँचमा नभई नहुने पानीको सुविधा गर्न थियो, समयावधिकमा शिक्षा, स्वास्थ्यका कुरालाई राखिएको थियो’ उनी सम्झिन्छन्,‘यातायात, खेलकूद, संचरना निर्माणलाई पूर्वाधार अन्र्तगत राखेर अघि बढाएका थियौ ।’

जोशीको कार्यलयमा ३४ विद्यालय, स्थानीय पार्क, स्मारक क्षेत्र निर्माणका कार्य गरिएका थिए । उनले धार्मिक आस्थाका आधारमा सबै मन्दिरलाई पूजापाठका लागि ५० देखि एक सय रुपैँयासम्म दिने व्यवस्था गरेका थिए । २०३९ मा पहिलो पटक प्रधानपञ्च भएका उनी त्यसपछि २०४३ मा फेरि दोस्रो पटक निर्वाचित भएका थिए । २०४६ मा बहुदल आएपछि दोस्रो कार्यकाल पूरा नहुँदा सत्ताबाट बाहिरिन पुगेका थिए ।

भीमदत्तमा बालिग मताधिकारका आधारमा चुनिने उनी भीमदत्तको पहिलो जनप्रतिनिधि हुन् । २०३४ मा स्थापना भएको भीमदत्तमा त्यस अघि १८ वडाका सभासद्बाट प्रधानपञ्च चुनिने व्यवस्था थिए । तत्कालिन महेन्द्रनगर नगर पञ्चायतका पहिलो प्रधान स्वर्गिय मोहन रावल सभासद्बाट चुनिएका थिए ।

डडेल्धुरा पुख्र्यौलीका जोशी २०३३ मा पञ्चायत चुनाव लड्न अघि सरेका थिए । तत्कालिन भुजेला गाउँ पञ्चायतको उप प्रधानका लागि तयारी गरेका उनी महेन्द्रनगर पञ्चायत बनेपछि तत्कालिन ११ नं. वडामा सभासद्मा निर्वाचित भएका थिए । त्यस बेला १८ वडाबाट ५ जनाका दरले सभासद् चयन गरी प्रधान पञ्च उप प्रधानपञ्च छान्ने व्यवस्था थियो । जोशी सभासद् भएको दुई वर्षपछि २०३५ मा जिल्ला पञ्चायत सदस्य भएका थिए ।

जोशी पञ्चायत सदस्य भएको बेलामा २०३६ मा जनमत संग्रह भएपछि उनी प्रधान पञ्च भएका हुन् । जनमत संग्रहमा सबै वासिन्दाका घरसम्म पुगेर उनले आफूलाई बलियो बनाएका थिए । त्यस बेला आफूल जग्गा नापीको काममा सहयोग गरेको उनी बताउँछन् । ‘जनमत संग्रहमा काम गर्दा धेरै जनाका घरदैलोमा पुगे, त्यहीं बेला जग्गा नापी नक्साको काम सुरु भयो, मैले सहयोग गरे’ उनले भने,‘मान्छे जग्गामा सहयोग गरेको नबिर्सने रहेछन्, त्यो अहिलेसम्म सम्झिएका छन् ।’

बहुदलीय वा सुधारिएको सहितको व्यवस्था सहितमा जनमत संग्रह भएको थियो । जोशीले बालिग मताधिकार सहितका सुधारका आधारमा सुधारिएको पञ्चायती व्यवस्थालाई समर्थन गरेका थिए । त्यसको तीन वर्ष भएको निर्वाचनमा उनी बालिग मताधिकारका आधारमा तत्कालिन महेन्द्रनगर नगर पञ्चायतको पहिलो प्रधान पञ्च निर्वाचित भएका हुन् । त्यसपछि उनी २०४६ मा बहुदल पुनःस्थापना नभएपछि लगातार ७ वर्ष प्रधानपञ्च भएका थिए ।

अहिले प्रदेश सभा सदस्यका उम्मेदवार भएर उनले आफूलाई पञ्चायत, बहुदल र गणतन्त्रात्मक शासन व्यवस्थामा चुनाव लड्ने नेता बनाएका छन् । ‘मैले तीन पञ्चायतदेखि अहिलेसम्मको राजनीति देखे, एक समय थियो राजाको गुणगान जसले गायो, त्यसले बढी फाईदा लियो, अर्को जसलmे राजालाई बढी गाली गरे, त्यसले फाईदा लिए’ उनले भने,‘मैले यी दुबै शासन व्यवस्था देखे ।’

बहुदल स्थापनापछि राजनीतिमा सक्रिय भएर लागेका उनी २०४९ को पहिलो स्थानीय निकाय निर्वाचनमा चुनाव लडे । उनी काँग्रेस नेता यज्ञराज जोशीसित पराजित भएका थिए । जोशीलाई त्यस अघि उनले २०३९ र २०४३ मा प्रधान पञ्चमा चुनाव हराएका थिए ।

पञ्चायतकालका प्रतिस्पर्धी दुबै जोशी २०५४ मा पनि फेरि नगर प्रमुखमा प्रतिस्र्धी बने । एमालेका स्वर्गिय नेता सूर्य बहादुर कुँबरले निर्वाचित भएको चुनावमा उनी ४ सय ८० मतले पछि परेका थिए । २०४९ का निर्वाचित जोशी भने तेस्रो भएका थिए । ‘एमालेका बामदेब गौतम गृहमन्त्री थिए, चुनावमा के भयो भयो, म ४सय ८० मतले मात्रै हारे’ उनले भने,‘त्यति बेला हाम्रो पार्टीबाट त कोही पनि केन्द्रका नेता आउँदैन्थे, धाँधली भएपछि मैले जित्न सकेन ।’

स्थानीय निकाय निर्वाचन अघि उनी २०५१ का कञ्चनपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएका थिए । त्यस बेला उनले ५ हजार ६ सय मत पाएका थिए । २०५४ पछि चुनावपछि उनी २०७० मा संविधान सभा सदस्य चुनाव लडेका थिए । उनी एमालेलाई पछि पार्दै तेस्रो भएका थिए । त्यस अघिका निर्वाचनमा उनले काँग्रेसलाई साथ दिएका थिए ।

२०६५ को संविधान सभा उप निर्वाचनमा पञ्चायतकाल प्रतिस्पर्धी यज्ञराज जोशीलाई साथ दिए । माओवादी केन्द्रले जितेको उप निर्वाचनमा एमालेबाट निरुदेवी पाल चुनाव लडेकी थिइन् । अहिले जोशी र पाल एक अर्कालाई जिताउन लागेका छन् । पाल कञ्चनपुर ३ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार छन् ।

‘पार्टी विभाजनका कारण अवस्था राम्रो हुन सकेन, उम्मेदवार हुन पनि कोही नमान्ने भएपछि २०७० मा चुनाव लडे, मत राम्रो नै आयो, संविधान सभा चुनावमा काँग्रेसलाई सहयोग गरे,’ उनले भने,‘अहिले त्यस बेला मैले जोशीलाई सहयोग गरेको थिए, पाल पनि उम्मेदवार हुनु भएको थियो, अहिले पाल र म चुनावी मैदानमा एक अर्काका सहयोगी भएर गएका छौ, यो संयोग नै हो ।’

पञ्चायत कालमा पनि उनी आफूले अप्रत्यक्ष रुपमा प्रजातन्त्रलाई समर्थन गरेको बताउँछन् । पहिलो पटक प्रधानपञ्च भएपछि उनी विपी कोइरालाको श्रद्धाञ्जली सभामा गएपछि अञ्चलाधीश उनीसित असन्तुष्ट भएका थिए । काँग्रेस नेता तारणी प्रसाद चटौतको घरमा राखिएको श्रद्धाञ्जली सभामा उनी सहभागी भएका थिए । ‘ अञ्चलाधीशलाई मरेपछि दुस्मनी गर्न हुँदै भनेको थिए’ उनले भने, ‘स्वर्गिय पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आउँदासम्म पनि समर्थन गरेको थिए ।’

राप्रपा कञ्चनपुरमा १० वर्षसम्म सचिव भएका उनी केन्द्रीय आमन्त्रित सदस्य हुँदै अहिले केन्द्रीय सदस्य भएर सुदूरपश्चिम प्रदेश अध्यक्ष भएका छन् । एमालेसित राष्ट्रियता सहितका एजेण्डा समानता भएकाले चुनावी तालमेल गरिएको उनी बताउँछन् । ‘मलाई एक पटक जनताले दिएको मतको आधारमा संसदमा पुगौ भन्ने इच्छा थियो’ उनले भने,‘यस पटक म आशावादी छु, सबैबाट सहयोग पाउने आश छ ।’

Himal dental
सम्बन्धित
Loading...