
महेन्द्रनगर । प्रमुख तीन दल थारु र दलित समुदायलाई प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाउन हच्किएका छन् । प्रतिनिधि र प्रदेश सभा सदस्यका ९ सीटमा तीन दलबाट दुई जना थारु समुदायका उम्मेदवार चुनावी मैदानमा आएका छन् । दलित समुदायका उम्मेदवार शुन्य छन् ।
अघिल्लो निर्वाचनमा दलित समुदायबाट चुनाव लडाउने सत्ता गठबन्धनको नेकपा माओवादी केन्द्र अहिले थारु र दलित दुबैलाई छाडेको छ । काँग्रेस र एमालेबाट थारु समुदायका एक÷एक जना प्रदेश सभा सदस्यमा उम्मेदवार भएका छन् ।

एमालेका केन्द्रीय सदस्य एवम् कञ्चनपुर सह इन्चार्ज कृपाराम राना निर्वाचन क्षेत्र नं. २ ख र काँग्रेसका पूर्व जिल्ला उप सभापति बन्धु राना निर्वाचन क्षेत्र नं. १ क मा प्रदेश सभा सदस्य उम्मेदवार भएका छन् । उनीहरु बाहेक सबै अन्य समुदायका उम्मेदवार चुनावी मैदानमा आएका छन् ।
सत्ता गठबन्धनका काँग्रेस र माओवादी बाहेक एकीकृत समाजवादीबाट पनि ती समुदायका उम्मेदवार चुनावी मैदान बाहिर बसेका छन् । समाजवादीबाट सुदूरपश्चिम प्रदेश सकारका आर्थिक मन्त्री प्रकाश रावल र पूर्व मन्त्री लाल बहादुर खड्का प्रदेश सभा सदस्यका उम्मेदवार छन् ।
सत्ता गठबन्धनका काँग्रेस र माओवादीका ९ उम्मेदवारमध्ये काँग्रेसका ६ जना चुनावी मैदानमा छन् । कञ्चनपुर ३ मा रमेश लेखक, २ मा एनपी साउँद, प्रदेश सभा सदस्यमा दिवान सिह विष्ट, बन्धु राना, बेल बहादुर राना र बहादुर सिह थापा उम्मेदवार छन् । माओवादी केन्द्रबाट कञ्चनपुर १ मा विना मगर र प्रदेश सभामा ओम बिक्रम भाट र टेकेन्द्र प्रसाद भट्ट उम्मेदवार भएका छन् ।
काँग्रेसका उम्मेदवारमध्ये लेखक, साउँद, थापा र विष्ट यस अघि निर्वाचित भएका नेता हुन् । उनीहरुमा साउँद सबैभन्दा बढी सातौ पटक चुनाव लड्न लागेका छन् । सबैभन्दा कम चुनाव लडेका विष्ट तेस्रो पटक चुनावी मैदानमा छन् । काँग्रेसका पूर्व जिल्ला सभापति थापा २०६४ देखि चौथो पटक चुनाव लड्न लागेका छन् ।
अघिल्लो निर्वाचनमा हारेका राना दोस्रो पटक चुनावी मैदानमा छन् । पूर्व उप सभापति राना पहिला पटक चुनाव लड्न लागेका छन् । माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्य उम्मेदवार मगर तेस्रो पटक चुनाव लड्न लागेकी छन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी हुन् । उनी माइती घरमा बसेर चुनावी लड्दै आएकी छन् ।
प्रदेश सभा सदस्यका उम्मेदवार भट्ट तेस्रो पटक र भाट पहिलो पटक चुनावी मैदानमा छन् । थारु समुदायका माओवादी नेता देवीलाल चौधरीको टिकट खोसेर भाटलाई उम्मेदवार बनाएको हो । उम्मेदवारी मनोनयतको अघिल्लो रातिसम्म चौधरीलाई दिइएको टिकट एकाएक खोसिएको थियो । टिकट खोसिएका चौधरीको कृष्णपुरमा मात्रै १५ हजार बढी थारु मतदाता छन् ।
अघिल्लो निर्वाचनमा यस प्रदेशबाट महेशदत्त जोशीलाई टिकट दिइएको थियो । प्रदेश सभा सदस्य ३ क मा लडेका भट्ट र भाट दुबैले अडान नछाडेपछि माओवादी केन्द्रका तत्कालिन इन्चार्ज लेखराज भट्टले दुबैलाई नदिएर जोशीलाई उम्मेदवार बनाएका थिए । माओवादी केन्द्र छाडेर एमालेका भएका भट्ट अन्तिमसम्म भाटलाई उम्मेदवार बनाउन चाहेका थिए । भाट लेखराज मन्त्री हुँदासम्म स्वकीय बसेका छन् ।
भट्टले माओवादी केन्द्र छाडे पनि भाट पनि माओवादी केन्द्रमा बसेका छन् । एमालेले ९ सीटमा ८ मा उम्मेदवार बनाएको छ । एमालेमा पनि राना बाहेक अन्य सबै अन्य समुदायका उम्मेदवार भएका छन् । अघिल्लो निर्वाचनमा दलित समुदायबाट उम्मेदवार नभएको एमालेबाट प्रदेश सभा सदस्यमा कुलबीर चौधरी चुनाव लडेका थिए ।
एमालेबाट प्रतिनिधि सभामा ३ मा निरुदेवी पाल, २ मा नर बहादुर धामी र १ मा तारालामा तामाङ्ग उम्मेदवार भएका छन् । प्रदेश सभा सदस्यमा २ ख मा राना बाहेक सुरेन्द्र विष्ट, बचन बहादुर सिह, पल्लवराज भट्ट र बीर बहादुर थापा उम्मेदवार भएका छन् । कञ्चनपुर ३ मा राप्रपासित तालमेल गरेका कारण धर्मराज जोशी उम्मेदवार भएका छन् ।
एमाले र माओवादी केन्द्रबाट प्रतिनिधि सभामा महिला उम्मेदवार बनाएका छन् । काँग्रेसबाट २०४८ देखि अहिलेसम्म महिला उम्मेदवार चुनावी मैदानमा आएका छैनन् । यस बाहेक थारु र दलित समुदायका उम्मेदवार पनि काँग्रेसबाट चुनावी मैदानमा आउन असमर्थ भएका छन् ।
कञ्चनपुर ३ क मा स्वतन्त्र उम्मेदवार भएका दिपक बहादुर सिहले राजनीतिक दलहरुले समावेशी सिद्धान्तको पालना गर्न नसक्दा महिला, दलित, जनजातिको समावेशी उम्मेदवार हुन नसकेको बताए । ‘पार्टीमा एकै जना वर्षौदेखि उम्मेदवार छन्, अरुले मौका पाउने कुरा नै छैन’ उनले भने,‘यस्तो अवस्थामा समावेशी व्यवस्थाको अर्थ नै के हुन्छ र ।’
