
महेन्द्रनगर । सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक, प्रदेश सभा सदस्यका उम्मेदवार बेल बहादुर राना र सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री मान बहादुर सुनारले हात समातेर खिचेको तस्बिरले चर्चा पाएको छ । सत्ता गठबन्धनका तीनै नेताले एक अर्काको हात समातेतको तस्बिर बाहिर ल्याएर आन्तरिक असन्तुष्टि छर्लङ्ग गरि दिएका छन् ।
‘सत्ता गठबन्धनभित्र यतिसम्मको अन्तुष्टि रहेछ, हात समातेका तस्बिर खिचेर देखाउने अवस्थासम्म आयो’ दोधारा चाँदनी नगरपालिकामा राजनीतिका जानकार एक शिक्षकले भने,‘यसले गठबन्धन झनै संकटमा फसेको रहेछ भन्ने पो देखियो त ।’

मन्त्री सुनार सहित तीन नेताले भने हात समातेर सामूहिक तस्बिर सार्वजनिक गरी सत्ता गठबन्धन एक ठाउँमा भएको सन्देश दिन खोजेका छन् । कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकले सुनार र राना दुबैलाई बाँया दाँया राखेर तस्बिर खिचाएका छन् ।
सत्ता गठबन्धनमा टिकट खोसिएपछि माओवादी केन्द्रका नेता सुनार असन्तुष्ट भएका हुन् । उनलाई मनाउन लेखक यस अघि आफैंले सुनारको घरमा गएर छलफल गरेका थिए । अहिले भने उनले राना र सुनार दुबैसित तस्बिर खिचाएका छन् ।
सत्ता गठबन्धनमा प्रदेश सभा सदस्यका लागि सुनारको नाम अन्तिमसम्म सूचीमा राखिएको थियो । उम्मेदवारी दर्ताको दुई दिन अघि एकाएक सुनारका प्रतिस्पर्धी रानालाई उम्मेदवार बनाएपछि उनी असन्तुष्ट बन्न पुगेका हुन् । अघिल्लो निर्वाचनमा सुनारले रानालाई हराएका थिए । सुनार यस पटक पनि प्रदेश सभा सदस्यमा दोहारिने चाहनामा थिए । राानका कारण टिकट खोसिएपछि सुनार असन्तुष्ट भएर तटस्थ बसेका थिए ।
काँग्रेस नेताहरुका अनुसार प्रधानमन्त्री शेर बहादुर देउवाको जोडबलमा माओवादी केन्द्रबाट अन्तिमसम्म टिकटका लागि सूचीबाट हटाइएका हुन् । देउवाले प्रद्येश सभा सदस्य क मा माओवादी केन्द्रका टेकेन्द्र प्रसाद भट्टलाई उम्मेदवार बनाएर समाजवादीका प्रकाश रावललाई बाहिर राख्ने रणनीति अपनाएका छन् । माओवादी नेता सुनारसित देउवा उनी काँग्रेस हुँदा पनि अनुदार भएका थिए ।
देउवाले यस यस पटक सुनारलाई टिकट रोकेर २०५१ को मध्यावधि निर्वाचनको रिस फेरेको चर्चा पनि हुन थालेका छन् । मध्यावधि निर्वाचनमा देउवाले टिकट दिएका काँग्रेस केन्द्रीय सदस्य एनपी साउँद विरुद्ध बागी लडेर उनले देउवालाई चुनौती दिएका थिए । सुनारका कारण साउँद उनी भन्दा कम मत ल्याएर निर्वाचन क्षेत्र नं. ३ छाड्न बाध्य भएका थिए ।
काँग्रेस नेताहरुका अनुसार २०५१ को मध्यावधि निर्वाचनमा प्रतिनधि सभा सदस्यका लागि साउँद, रमेश लेखक र सुनारको दावी थियो । देउवाले साउँदलाई उम्मेदवार बनाएपछि लेखक र सुनार दुबै असन्तुष्ट भएका थिए । त्यसपछि लेखकसित सल्लाहमा सुनार बागी लडेका थिए ।
सुनारलाई टिकट दिन राप्रपाका केन्द्रीय सदस्य तिर्थराज चटौतले देउवासम्म लबिङ्ग गरेका थिए । देउवाले चटौतलाई सुनारको विवादास्पदक छविका कारण टिकट दिने नसकिने भन्दै फर्काएका थिए । २०५१ पछि राप्रपा भएका उनी त्यति बेला काँग्रेसमा थिए ।
सुनारले अघिल्लो निर्वाचनमा रमेश लेखकलाई लक्षित गरी उनी विरुद्ध धेरै स्थानमा भाषणा गरेका थिए । उनले २०५१ मा लेखकका कारण आफू बागी बनेको प्रष्टीकरण दिएका थिए । मध्यावधि निर्वाचन लडेपछि उनी केही समय काँग्रेसमा निष्क्रिय बसेर माओवादी केन्द्र प्रवेश गरेका थिए ।
बागी लडेर काँग्रेसका केन्द्रीय सदस्य लेखकसित सम्बन्ध सुधार हुन नसकेर किनारामा पारिएपछि उनी काँग्रेस छाड्न पुगेका हुन् । काँग्रेसमा उनी कञ्चनपुरको कोषाध्यक्षसम्म भएका थिए ।
लेखक बाहेक प्रदेश सभा सदस्यका उम्मेदवार रानासित सुनारको सम्बन्ध झन अप्ठेरो अवस्थामा छ । सत्ता गठबन्धन गर्नु अघि रानाले सुनारलाई पाँच वर्षमा केही पनि गर्न नसकेको घोचपेच गरेका छन् । तीन नेताको तस्बिर आएपछि रानाले सुनारलाई घोचपेच गरेका भिडियो बाहिर आएका छन् । साविक दोधारा गाविसका दुबै राना र सुनारबीच काँग्रेसमा पनि तिक्ततापूर्ण सम्बन्ध रहेको काँग्रेसका नेता बताउँछन् ।
काँग्रेस नेता लेखकले सुनारको खुलेर आलोचना नगरे पनि उनका काका बीर बहादुर सुनारलाई नजिक राखेर उनलाई वेवास्ता गरेका थिए । २०७० को संविधान सभा सदस्य निर्वाचनमा सुनारका कारण लेखक हार्न सक्ने आशंका देखिएपछि उनले बीर बहादुर सुनारलाई सक्रिय रुपमा परिचालन गरेका थिए । त्यसपछि स्थानीय तह निर्वाचनमा उनलाई दोधारा चाँदनी नगरपालिकाको मेयर बनाएर राज्यमन्त्री सुनारको रिक्तता पूर्ति गर्ने रणनीति अपनाएका थिए ।
कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा सत्ता गठबन्धनभित्र माओवादी केन्द्रको ५ हजार हाराहारी जनमत छ । दोधारा चाँदनी माओवादी केन्द्र जनमत र संगठन दुबै हिसाबले कमजोर छ । माओवादीबाट स्वतन्त्र भएका भीम कुमाल नै माओवादीका लागि चुनौती बनेका छन् ।
स्थानीय तह निर्वाचनको मतका आधारमा सत्ता गठबन्धन दोधारा चाँदनीमा कमजोर भएपछि प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवार तनावमा परेका छन् । स्थानीय तह निर्वाचनमा काँग्रेस र माओवादी दुबैले एक एक वडा मात्रै जितेका छन् ।
एमाले र राप्रपाको चुनावी तालमेल सत्ता गठबन्धनका लागि अर्को खतरा देखिएको छ । त्यस बाहेक चुनावी प्रचारमा प्रदेश सभा सदस्य रानाले उठाएका क्षेत्रीयता र जातीयताको मुद्दाले उनी विवादमा तानिएका छन् । काँग्रेसभित्र उनी हरेक निर्वाचनमा उम्मेदवार हुने नेताका रुपमा परिचित छन् । २०७४ र २०७९ का दुबै स्थानीय तह निर्वाचनमा उनी उम्मेदवारका आकाँक्षी थिए ।
सत्ता गठबन्धनभित्र सुनारको असन्तुष्टिले थप अप्ठेरो हुने भएपछि मतदातालाई सन्तुष्टिको सन्देश दिन सामूहिक तस्बिर खिचेर सार्वजनिक गर्न पर्ने अवस्था आएको हो ।
