ghar sansar

भीमदत्त आफैंले थाल्यो खोला नालामा अवैध दोहन, रोयल्टी ठेक्का लगाउन नसक्दा आम्दानीको ठूलो स्रोत खतरामा

dirghayu ad

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा महाकाली नदी सहितका खोलामा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईई) वा प्रारम्भिक वातावरणीय मूल्याङ्कन (आईईई) नगरी धमाधम उत्खनन गरी रोयल्टी संकलन गरिएको छ । नदीजन्य पदार्थको उत्खननका लागि गरिएको ईआईई र आईईईको समय अवधि गत भदौमा सकिएको थियो ।

नगरपालिकाले गत असोज १ गतेदेखि महाकाली नदी सहितका खोलाबाट रोयल्टी रकम संकलन गर्न थालेको हो । त्यसका लागि सबै खोलामा नगर प्रहरी परिचालन गरिएका छन् । इआइ र आइईई गर्न नसकेपछि ठेक्का नखोलेर नगर प्रहरी लगाए रोयल्टी संकलन गर्न थालिएको हो ।

ratnam malkhad

भीमदत्त नगरपालिकामा गत जेठ ५ गते निवर्तमान मेयर सुरेन्द्र विष्टको कार्यकाल सकिएपछि काँग्रेस सभापति पदम बोगटी नयाँ मेयर आएका छन् ।

जेठ ९ गते पदभार सम्हालेका बोगटीले नेतृत्व सम्हालेपछि पहिलो वर्षमा रोयल्टी ठेक्का लगाउन असमर्थ भएका छन् । नगरपालिकाले रोयल्टी ठेक्काका लागि चाहिने ईआईई र आईईई गर्न नसकेपछि ठेक्का लगाउन सकिने अवस्था नआएको हो । ठेक्का लगाउन नसकेपछि नगर प्रहरी लगाएर अवैध रुपमा रोयल्टी संकलन गर्न थालिएको हो ।

‘भदौमा म्याद सकिएपछि नयाँ बनाउनु पर्ने हो, त्यसतर्फ कसैको ध्यान नै गएन, अहिले अवैध रुपमा भए पनि आम्दानी गरि रहेका छौ’ भीमदत्त नगरपालिकाका एक वडा अध्यक्षले भने,‘नत्र एक रुपैँया पनि आउने अवस्था छैन, यसले बर्बाद हुन बाहेक केही विकल्प छैन ।’

भीमदत्तको आन्तरिक स्रोतमा रोयल्टी सबैभन्दा ठूलो आम्दानीको स्रोत हो । नदीजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवाबाट गत आर्थिक २०७८÷७९ मा नगरपालिकाले ६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

संघीय शासन व्यवस्था सुरु हुन अघिसम्म तत्कालिन जिल्ला विकास समितिले रोयल्टी रकम संकलन गर्दै आएको थियो । २०७४ को स्थानीय तह निर्वाचनपछि रोयल्टी रकम संकलन जिम्मा स्थानीय सरकारलाई दिइएको हो ।

भीमदत्तले गत असारमा सम्पन्न नगर सभाबाट महाकाली नदी सहितका खोला नालाको ईआईई र आईईई गर्ने निर्णय पारित गरेको छ । नगर सभाबाट महाकाली सहित खोलाबाट ठेक्का हुन नसकेमा जनशक्ति परिचालन गरी रोयल्टी संकलन गर्ने निर्णय पारित गरिएको छ । त्यस निर्णय विपरित नगरपालिका ठेक्का नखोली नगर प्रहरी परिचालन गरी रोयल्टी संकलनमा लागेको छ ।

नगरपालिकाले ईआईई र आईईई नगर्दा ठेक्का प्रक्रिया अगाडि बढाउन सकिएको छैन । ईआईई र आईईई नगर्दासम्म नदीजन्य पदार्थ संकलनका लागि नदी क्षेत्रमा प्रवेश गर्नु अवैध मानिन्छ ।

नदीजन्य पदार्थ संकलनलाई वैज्ञानिक र व्यवस्थित गर्न मूल्यांकन नगरी हुँदैन । कुन क्षेत्रबाट कति घनमिटर नदीजन्य पदार्थ संकलन गर्ने र वातावरणमा प्रभाव पर्न नदिन के–के गर्ने भन्ने विषय ईआईई र आईईईमा समावेश भएको हुन्छ । ईआईई र आईईई विना नै नदीजन्य पदार्थ संकलन गर्दा बाढी, डुबान, कटान र भूक्षयको खतरा हुने विशेषज्ञहरु बताउँछन् ।

महाकाली नदीबाट ढुंगा, गिट्टी, बालुवा संकलन भइरहेकोबारे मेयर बोगटी बेखबर छन् । टेलिफोनबाट उनीसामु जिज्ञासा राख्दा उनले भने, ‘मलाई जानकारी छैन । महेन्द्र खड्कालाई फोन गर्नुस्, वहाँ प्रवक्ता हो ।’

भीमदत्त नगरपालिकाका महेन्द्र खड्काले ईआईई गर्ने काम प्रक्रियामा रहेको र कर्मचारी मार्फत रोयल्टी उठाइरहेको जानकारी दिए । ‘ईआईई गर्न अलि ढिलो भयो,’ उनले भने । कर्मचारी मार्फत रोयल्टी उठाउने निर्णय नगर कार्यपालिका बैठकबाट भए÷नभएकोबारे उनले स्पष्ट जानकारी दिन सकेनन् । कार्यपालिका बैठकमा उनी समेत सदस्य हुन्छन्, उनले भने, ‘मलाई थाहा भएन, म फिल्डमा छु ।’

नगरको नयाँ नेतृत्वले समयमै ईआईई र रोयल्टी संकलनको ठेक्का सम्झौता गर्न नसक्दा नगरपालिकाको आन्तरिक आयमा धक्का लाग्ने भएको छ ।

भीमदत्तले ठेक्का खोल्न नसकेपछि दोधारा चाँदनी नगरपालिका आफ्नो क्षेत्रमा एक करोड १८ लाखको ठेक्का खोलि सकेको छ । यस अघि भीमदत्त र दोधारा चाँदनी नगरपालिकाले रोयल्टी बाँडफाँट सम्झौता गरी रोयल्टी संकलन गर्दै आएका थिए ।

एमालेका जिल्ला अध्यक्ष विष्टको कार्यकालमा दोधारा चाँदनी नगरपालिकासित सम्झौता भएको थियो । दोधारा चाँदनीले रोयल्टी बाँडफँटबाट वार्षिक ४८ लाख रकम पाएको छ । त्यस अघिका दुई वर्ष आफैं संकलन गर्दा १५ लाखसम्म मात्रै आम्दानी गरेको थियो ।

भीमदत्तमा नयाँ नेतृत्व आएपछि दोधारा चाँदनी नगरपालिकाले गत वर्षको रोयल्टी बापतको रकम पाउन सकेको छैन । त्यसका लागि दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु तीन पटक भीमदत्त नगरपालिका पुगि सकेका छन् ।

Himal dental
सम्बन्धित
Loading...