
सत्ता गठबन्धनसित आक्रामक देखिए राना, भने – अहिले मूल्य वृद्धिले जनताको ढाड सेकेका छन्, मंसिर ४ गते जनताले गठबन्धनको ढाड सेक्ने छन् ।’


महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) का उम्मेदवार कृपाराम रानाले घरदैलो अभियानलाई तिव्रताका साथ अघि बढाएका छन् । शुक्रवार बेदकोट नगरपालिकाका विभिन्न वडाहरुमा आयोजित चुनावी कार्यक्रमहरुमा राना सहभागि भएका छन् । रानाले जनताको अपेक्षा र समस्या पहिल्याउन जनतामाझ आएको बताउँदै नागरिकको समस्या बुझेर समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
जनताले जे आवश्यकता महसुस गरेका छन्, तिनै आवश्यकतालाई सम्बोधन गर्नेगरी आफु अघि बढ्ने उनको भनाई थियो । गठबन्धन सरकाले जनतालाई उपभोग्य बस्तु,पेट्रोलियम पदार्थ लगायतका महङ्गी उपहार दिएको बताए ।


बेदकोट –३ मा मुक्त कमलरी महिलाहरुद्धारा आयोजित कार्यक्रममा रानाले भने,‘महङ्गी नियन्त्रण नगर्ने सत्ता गठबन्धनको नियन्त्रण मंसिर ४ पछि जनताले गर्नेछन् । उनले अगाडि थपे,अहिलेको गठबन्धन सरकारले विभिन्न वस्तुमा मूल्य वृद्धि गरेर जनताको ढाड सेकेको छ,मंसिर ४ गते जनताले गठबन्धनको ढाड सेक्नेछन् ।’
आफु मुक्त कमलरीको समस्याप्रति जानकार रहेको बताउँदै रानाले निर्वाचित भएपछि मात्रै समस्या समाधान हुने धारणा राखे । रानाथारु जातीलाई सुचिकरण गरिएको,आरक्षणको व्यवस्था गरिएको जानकारी दिदै उनले भने, ‘रानाथारु समुदायलाई सिपयुक्त बनाएर रोजगारीको अवसर सिर्जना गर्नेछु ।’
उनले समाजमा पिछडिएका दलित,जनजाति लगायतका समुदायलाई राज्यको मूलधारमा ल्याएर विकासका कामहरु अग्रसर गराउने प्रतिवद्धता व्यक्त गरे ।
