पटक पटक चुनाव लड्ने नेताको स्रोत सोध्न आग्रह गरिएको प्रतिवद्धता मतदाताको घरदैलोमा पुगाउँदै स्वतन्त्र उम्मेदवार सिह, भन्छन्–राजनीतिलाई आजीवन पेशा बनाइयो, त्यसैले त पटक पटक चुनाव लडि रहेका छन्
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिहले पटक पटक चुनाव लड्ने नेतालाई चुनाव खर्चको स्रोत सोध्न आग्रहलाई आफ्नो प्रतिवद्धता समावेश गरेका छन् ।
उनले केही दिन अघि सार्वजनिक गरेको चुनावी प्रतिवद्धता पत्रमा पटक पटक चुनाव लडेर फेरि मत माग्न घरदैलोमा आउने उम्मेदवारलाई आम्दानीको स्रोत सोध्न आग्रह गरेका छन् ।
काँग्रेसका महाधिवेशन प्रतिनिधि सिह पटक पटक होइन, एक पटक, राजनीतिक पेशा होइन, सेवा हो भन्ने नारा लिएर चुनावी मैदानमा होमिएका छन् । उनले केही दिन अघि पत्रकार सम्मेलन गरी चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका थिए ।
‘पटक पटक चुनाव लड्ने नेतालाई चुनाव लड्ने स्रोत कहाँबाट आउँछ भनेर सोध्नु आग्रह गर्छु्’ प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।
उनी पटक पटक चुनाव लडेर राजनीतिलाई आजीवन पेशा बनाउन खोजिएकोमा असन्तुष्टि जनाएर स्वतन्त्र भएर चुनावी मैदानमा आएका छन् ।
‘एक पटकसम्म राम्रो हो, ल दुई पटकसम्म पनि ठिक छ, त्यो भन्दा बढी त ठिक भएन, यहाँ त पटक पटक चुनाव लडि रहेका छन्’ उनी भन्छन्, ‘अमेरिका बेलायततिर एक दुई पटक राष्ट्रपति हुन्छन्, के उनीहरु नसकेर, असक्षम भएर फेरि राष्ट्रपति नभएका हुन् र, होइन, राजनीतिक सेवा हो, यहाँ त राजनीतिलाई आजीवन पेशा नै बनाउन थालियो ।’