धनगढी । दार्चुलामा नेकपा एमालेका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै सत्तारुढ गठबन्धनमा आवद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका छन्। गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा नेकपा माओवादी र नेपाली काँग्रेसका कार्यकर्ताहरुले हिजो आइतबार रातिदेखि सडक अवरुद्ध पारेका हुन् ।
हिजो नौगाड गाउँपालिका–६ खेडमा प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा आयोजित आमसभामा गइरहेका एमाले कायकर्ताबीच झडप भएको थियो । गठबन्धनका कार्यकर्ताले झडपमा संलग्न एमाले कार्यकर्तालाई पक्राउ नगरेसम्म सडक नखुलाउने बताएका छन् ।
गठबन्धनले जिल्लाभरका सयौं कार्यकर्तालाई धुलीगडा खेडा क्षेत्रमा उतारेर सडकमा चक्काजाम गरेको एमाले दार्चुलाले जनाएको छ । एमाले नौगाड गाउँपालिकाका अध्यक्ष जनकसिंह ठगुन्नाका अनुसार सडक बन्द गरिएपछि नौगाडमा भएको एमालेको चुनावी सभामा गएका कार्यकर्ता तथा स्थानीय सर्वसाधारणहरु घर फर्कन सकिरहेका छैनन्।
कार्यक्रममा लागि गएका कलाकारसहितका सहभागी स्थानी तथा कार्यकर्ताहरु होपरीगाड जामिर क्षेत्रमै थुनिएका छन् ।
यता, गठबन्धनमा रहेको नेकपा माओवादी दार्चुलाले भने एमालेका कार्यकर्ताले आफ्ना कार्यकर्ताहरुमाथि घरमै गएर समेत कुटपिट गरेको जनाएको छ । कुटपिटमा संलग्न एमाले कार्यकर्तालाई कारबाही गरिनुपर्ने गठबन्धनको माग छ ।
यस्तै दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने सुरक्षा बैठक राखेर सडक खुलाउने प्रयास भइरहेको बताएका छन् । हिजोदेखि प्रयास भइरहेकोमा गठबन्धनले नमानेका कारण अहिले पनि प्रयास जारी रहेको उनको भनाइ छ ।
साभार : थाह खबर