
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा सत्ता गठबन्धनका विना मगर र एमालेका तारालामा तामाङ्ग अन्तिम चुनावी प्रचार लिएर मतदाताका घरदैलोमा पुगेका छन् । अघिल्लो निर्वाचनका सहयोगी यस पटक प्रतिस्पर्धी भएका छन् ।
माओवादी केन्द्रका नेता निवर्तमान साँसद मगर यस पटक सत्ता गठबन्धनबाट उम्मेदवार छन् । एमालेबाट सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री तामाङ उम्मेदवार छन् । एमाले उम्मेदवार तामाङ्ग एमालेको मत र मगरको ५ वर्षे कार्यकालमा गरिएका कामलाई जनतासम्म लगेको छ । मगर मन्त्री हुँदा क्षेत्रका लागि केही काम गर्न नसकेको एमालेको तर्क छ । एमालेका उम्मेदवार तामाङ्गले अघिल्लो निर्वाचनको चुनावी घोषणा पत्र अनुसार एउटा पनि काम हुन नसकेको बताए ।

उनी आफैंले भने आफू ६ महिना प्रदेश सरकारमा मन्त्री हुँदा गरेका विकास निर्माणका काम मतदातालाई बताएका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार मगर अघिल्लो कार्यकाल गरिएको प्रचार र काँग्रेसभित्रको असन्तुष्टिले अप्ठेरो पर्ने चिन्तमा छन् । काँग्रेसका १० नेता चुनाव प्रचारमा सहभागी नभएपछि मगर थप तनावमा परेकी छन् । माओवादी केन्द्रका पूर्व सहकर्मीको साथ गुमाएकी उनी काँग्रेसबाट पनि साथ पाउनेमा सशंकित देखिएकी छन् ।
माओवादी नेता कार्यकर्ताले काँग्रेसका सुदूरपश्चिम प्रदेश समिति सदस्य भुलिया रानालाई कारवाही गर्न फेसबुकबाट सार्वजनिक रुपमा आव्हान गरि सकेका छन् । काँग्रेसभित्र १० जनालाई कारवाहीको सूची तयार भएपछि गठबन्धनभित्र वैमनस्यता बढेको छ ।
कञ्चनपुर–१ ‘क’ मा कांग्रेसबाट बन्धु राना र ‘ख’ मा दिवानसिंह विष्ट उम्मेदवार छन्। ‘क’ मा पुनर्बास नगरपालिका र लालझाडी गाउँपालिका तथा ‘ख’ मा बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाको भूगोल गर्दछ ।
पुनर्बास नगरपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिका यस क्षेत्रमा छन् । गत बैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बैलौरी र पुनर्वास नगर प्रमुखमा क्रमशः माओवादी र कांग्रेस, बेल्डाँडी र लालझाडी गाउँपालिका अध्यक्षमा क्रमशः कांग्रेस र एमाले विजयी भएका थिए।
उक्त निर्वाचनमा नगर प्रमुख र गाउँपालिका प्रमुखहरुले प्राप्त गरेको मत आधार मान्दा कञ्चनपुर–१ मा कांग्रेसको २२ हजार ८८९, एमालेको १८ हजार २९४, माओवादीको १३ हजार ४०८, नेकपा एकीकृत समाजवादीको ३ हजार ७३४ र राष्ट्रिय जनमोर्चाको २०४ मत छ ।
स्थानीय तह निर्वाचनमा पनि क्षेत्र नं. १ बाट काँग्रेसले चुनावी तालमेल बहिस्कार सुरु गरेको थियो । अहिले पनि प्रदेश सभा सदस्यका उम्मेदवार दिवान सिह विष्ट मुख्यमन्त्री बनाउने प्रधानमन्त्री देउवाको आश्वासनपछि उम्मेदवार भएका छन् । उम्मेदवारी अघि विष्टले पनि विनालाई केही काम नगरेको भन्दै आलोचना गरेका थिए ।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा मगर हाल प्रदेश सभा सदस्य उम्मेदवार रहेका कांग्रेस नेता विष्टलाई पराजित गर्दै निर्वाचित भएकी थिइन्। मगर ३८ हजार ४७६ मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी हुँदा विष्टले १९ हजार २१९ मत ल्याएका थिए ।
२०७० को संविधान सभा निर्वाचनमा भने विष्टले मगरलाई पराजित गरेका थिए। उनी १० हजार २९४ मतसहित संविधानसभा सदस्य निर्वाचित हुँदा मगरले ९ हजार २३६ मत प्राप्त गरेकी थिइन्। एमालेका लाल बहादुर विश्वकर्मा दोस्रो भएका थिए ।
