चुनाव प्रचारमा बैतडीसम्म पुगे प्रधानमन्त्री देउवा, कञ्चनपुर आउने प्रचार गरिए पनि आएनन्

महेन्द्रनगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ​बैतडी शहीद दशरथ चन्द र द्वारिकादेवी ठकुरानीको जिल्ला भएकाले यहाँ गठबन्धनले जित्नु आवश्यक रहेको बताएका छन् ।

‘दशरथ चन्द जन्मेको र द्वारिकादेवी ठकुरानीको ठाउँमा आउँदा निकै खुसी छु’, उनले भने, ‘शहीद दशरथ चन्द र द्वारिकादेवी ठकुरानीको जिल्ला रहेकाले यहाँ गठबन्धनका उम्मेदवारले जित्न आवश्यक छ ।’

janjyoti campus

बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ​ देउवाले देश देश महत्त्वपूर्ण मोडमा उभिएको चर्चा गर्दै गठबन्धनलाई विजय गराउन आवश्यक रहेको बताए ।

उनले भने, ‘केपी ओलीले दुईपटक संसद् विघटन गरेकाले यो गठबन्धन बनेको हो। गठबन्धनका उम्मेदवारलाई जिताउनुस्, यो गठबन्धन १०–१५ वर्षसम्म जान्छ। गठबन्धनको सरकार लामो समयसम्म चले देश समृद्ध बन्नेछ, देशमा विकास हुनेछ ।’

देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढ्ने बताए। उनले भने, ‘पञ्चेश्वर आयोजना बन्छ, पञ्चेश्वर बनेमा यहाँको विकास हुन्छ । यसलाई अवश्य अघि बढाउँछौं। पञ्चेश्वरलाई अघि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सकारात्मक हुनुहुन्छ ।’

यसका साथै उनले पाटन–पञ्चेश्वर सडक खण्ड छिट्टै कालोपत्रे हुने बताए। बैतडीको तल्लो स्वराड क्षेत्रमा पहिलेभन्दा अहिले धेरै विकास भएको भन्दै उनले अझै अधुरा विकास निर्माणका कार्य अगाडि बढाउने बताए । उनले भने, ‘धर्मघाटमा पुल, पाटन–उग्रतारा–मेलौली सडक खण्ड निर्माण लगायतका बाँकी विकास निर्माणका काम अगाडि बढाउनेछौं ।’

सोही सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाले देशको विकास र आर्थिक समृद्धिका लागि गठबन्धनलाई जिताउन आग्रह गरिन् ।

प्रधानमन्त्री देउवा दोस्रोपटक बैतडी पुगेका हुन्। यसअघि कात्तिक २३ गते पनि बैतडीको पाटनमा आयोजना गरिएको सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका थिए ।

गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहेका छन्। प्रदेशसभा (क) मा नेपाली कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा छन् ।

प्रधानमन्त्री देउवा यस पटक चुनाव प्रचारमा कञ्चनपुर आएनन् । २०६५ को संविधान सभा सदस्य निर्वाचनमा उनी तत्कालिन कञ्चनपुर निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित भएका थिए ।

कञ्चनपुरमा देउवाका दुई विश्वासपात्र रमेश लेखक र एनपी साउँद चुनावी मैदानमा छन् । सत्ता गठबन्धनले देउवालाई अन्तिमसम्म कञ्चनपुर आउने प्रचार गरेको थियो ।

ghar sansar
सम्बन्धित
Loading...