
महेन्द्रनगर । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ४७ स्थानमा मतगणना जारी छ। निर्वाचन आयोगको तथ्याङ्कअनुसार हालसम्म ३ निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
आयोगका अनुसार हालसम्म काठमाडौं क्षेत्र ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ क्षेत्र १ मा टेकबहादुर गुरुङ र मुस्ताङ क्षेत्र १ मा योगेश गौचन थकाली निर्वाचित भइसकेका छन् ।

जारी मतगणनामा कांग्रेसका उम्मेदवार ४८ स्थानमा अगाडि छन्। नेकपा (एमाले) ३४, नेकपा (माओवादी केन्द्र) १८, राष्ट्रिय स्वतन्त्र पार्टी १३, नेकपा (एकीकृत समाजवादी) ७ र अन्य उम्मेदवार २४ स्थानमा अगाडि छन् ।
प्रदेशसभाको प्रत्यक्षतर्फ प्रदेश १ मा एमाले १५, कांग्रेस ११, माओवादी ५, एकीकृत समाजवादी ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी २ स्थानमा अगाडि छन् । मधेश प्रदेशमा जनमत पार्टी २, कांग्रेस ८, एमाले १२, जनता समाजवादी पार्टी ५ र अन्य उम्मेदवार १४ स्थानमा अगाडि छन् ।
मधेश प्रदेशमा जनमत पार्टीका २ उम्मेदवार विजयी भएका छन् । सप्तरी निर्वाचन क्षेत्र १ मा सतिशकुमार सिंह र क्षेत्र २ मा महेशप्रसाद यादव विजयी भएका छन् ।
बागमती प्रदेशमा कांग्रेस १६, एमाले १४, माओवादी केन्द्र ५, एकीकृत समाजवादी र राप्रपा ४÷४ तथा अन्य २ स्थानमा अगाडि छन् ।
बागमती प्रदेशसभाको प्रत्यक्षतर्फ काठमाडौँ निर्वाचन क्षेत्र १ मा कांग्रेसका छिरिङ दोर्जे लामा र ललितपुर निर्वाचन क्षेत्र २ मा रामकृष्ण चित्रकार तथा ललितपुर निर्वाचन क्षेत्र १ मा एमालेका रामेश्वर श्रेष्ठ विजयी भएका छन् ।
गण्डकी प्रदेशमा कांग्रेस ८, एमाले ११, माओवादी केन्द्र ३ र एकीकृत समाजवादी १ स्थानमा अगाडि छन् । गण्डकीमा मनाङ क्षेत्र १ बाट कांग्रेसका मुनिन्द्रजङ्ग गुरुङ, मुस्ताङ क्षेत्र १ बाट नाम्डु गुरुङ, क्षेत्र २ बाट विकल शेरचन विजयी भएका छन्।
मनाङ क्षेत्र २ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ विजयी भएका छन् । लुम्बिनी प्रदेशमा एमाले ११, कांग्रेस ९, माओवादी केन्द्र ४, राष्ट्रिय प्रजातन्त्र पार्टी ३, जनता समाजवादी पार्टी २ र अन्य उम्मेदवार ६ स्थानमा अगाडि छन् ।
कर्णाली प्रदेशमा कांग्रेस र माओवादी केन्द्र ४÷४ तथा सुदूरपश्चिम प्रदेशमा कांग्रेस ५, एमाले ४, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार १÷१ स्थानमा अगाडि छन् ।
