महेन्द्रनगर । कञ्चनपुरमा अघिल्लो निर्वाचन हारेर चुनाव लडेका सबै नेता निर्वाचित भएका छन् । तत्कालिन वाम गठबन्धनसित पराजित उनीहरु यस पटक सत्ता गठबन्धनबाट उम्मेदवार भएर निर्वाचित भएका छन् ।
अघिल्लो निर्वाचनमा पराजित भएर प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचित हुनेमा काँग्रेसका नेताहरु छ । काँग्रेस केन्द्रीय सदस्य यज्ञराज जोशी, पूर्व उप सभापति गोपाल गुरुङ्ग र पुस्करनाथ ओझा बाहेक अघिल्लो निर्वाचन लडेका सबै नेता यस पटक चुनाव लडेर निर्वाचित भएका छन् ।
प्रतिनिधि सभा सदस्यमा काँग्रेसका केन्द्रीय सदस्यद्वय रमेश लेखक र एनपी साउँद दुबै निर्वाचित भएका छन् । २०७४ को निर्वाचनमा लेखक एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्ट र साउँद एमालेकै अर्का निवर्तमान साँसद नर बहादुर धामीसित पराजित भएका थिए । साउँद अहिले धामीलाई पराजित गरी साँसद भएका छन् ।
कञ्चनपुर ३ मा लेखक एमालेका निरुदेवी पाललाई पराजित गरी साँसद निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्यमा लेखकले ३० हजार ५सय २३ र पालले १८ हजार ४ सय ४८ मत ल्याएका छन् ।
अघिल्लो पटक उनले २६ हजार १०६ मत ल्याएका थिए । उनी यस क्षेत्रमा तेस्रो पटक साँसद निर्वाचित भएका छन् । उनी २०५६ मा पहिलो पटक निर्वाचित भएका थिए ।
कञ्चनपुर क्षेत्र नं. २ मा काँग्रेसका साउँद ८ हजार ४५५ मत अन्तरले धामीलाई हराउँदै निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा धामीले साउँदलाई ८ हजार मत अन्तरले हराएका थिए ।
साउदले २८ हजार, १ सय, धामीले २१ हजार, ६४५ मत ल्याएका छन् । विद्यार्थी राजनीतिबाट आएका उनीहरु दुबै जना दोस्रो पटक चुनावी प्रतिस्पर्धामा आएका हुन् । काँग्रेसका साउँद २०५१ देखि कञ्चनपुरमा चुनाव लड्दै आएका छन् ।
कञ्चनपुरका ६ प्रदेश सभा सदस्यमध्ये अघिल्लो निर्वाचनमा पराजित तीन जना प्रदेश सभा सदस्य निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्यमा पराजित दिवान सिह विष्ट निर्वाचन क्षेत्र नं. २ ख बाट निर्वाचित भएका छन् ।
उनी सत्ता गठबन्धनका उम्मेदवार विना मगरसित पराजित भएका थिए । यस पटक सत्ता गठबन्धनमा प्रतिनिधि सभा माओवादी केन्द्रको भाग परेपछि विष्ट प्रदेश सभा सदस्य लडेका हुन् ।
प्रदेश सभा सदस्यमा विष्टले विष्टले ८ हजार ५२० मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका पल्लवराज भट्टले ७ हजार ६०३ मत ल्याएका छन् ।
कञ्चनपुर क्षेत्र २ ख मा काँग्रेसका बहादुर सिह थापा निर्वाचित भएका छन् । उनले एमाले केन्द्रीय सदस्य कृपाराम रानालाई १ हजार ७ सय २६ मत अन्तरले पराजित गरेका छन् । थापाले १० हजार ६६८, रानाले ८ हजार ९४२ मत ल्याएका छन् ।
थापा अघिल्लो निर्वाचनमा नेकपा एकीकृत समाजवादीका लाल बहादुर खडकासित पराजित भएका थिए । २०७४ मा खड्का एमालेबाट प्रदेश सभा सदस्य लडेका थिए । अहिले समाजवादीमा चुनाव लडेका खड्काले ४ हजार ४०४ मत ल्याएका छन् ।
काँग्रेस महाधिवेशन प्रतिनिधि बेल बहादुर राना कञ्चनपुर ३ ख मा निर्वाचित भएका छन् । २०७५ मा उनी माओवादी केन्द्रका मान बहादुर सुनारसित पराजित भएका थिए ।
अहिले उनी एमालेका सुरेन्द्र विष्टलाई पराजित गरी निर्वाचित भएका छन् । उनले १३ हजार ३५ मत ल्याएका छन् । उनले एमाले उम्मेदवार विष्टलाई ४ हजार ७ सय १३ मत अन्तरले पराजित गरेका छन् ।
अघिल्लो निर्वाचनमा पराजित काँग्रेस नेता गुरुङ्ग निर्वाचन क्षेत्र नं. १ क बाट चुनाव लडेका थिए । उनी एमालेका तारालामा तामाङ्गसित पराजित भएका थिए । अहिले तामाङ्ग प्रतिनिधि सभा सदस्यमा जितको नजिक पुगेका छन् । गुरुङ्गले यस पटक चुनाव लड्ने इच्छा नदेखाएपछि बन्धु राना लडेका थिए । उनी एमालेका बीर बहादुर थापासित पराजित भएका छन् ।
निर्वाचन क्षेत्र नं. ३ क बाट चुनाव हारेका केन्द्रीय सदस्य जोशी प्रदेश समानुपातिक उम्मेदवार भएका छन् । उनी प्रत्यक्ष र समानुपातिक दुबैमा सिफाशि भएका थिए ।
जोशी एकीकृत समाजवादीका प्रकाश रावलसित पराजित भएका थिए । रावल यस पटक फेरि प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।