कञ्चनपुर ३ क मा माओवादीलाई धोका, काँग्रेसका लेखकले १३६१९ मत पाउँदा माओवादीका भट्टले पाए आधा भन्दा कम ५६७४ मात्रै
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क मा नेकपा एकीकृत समाजवादीका प्रकाश रावल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा एमालेबाट प्रदेश सभा निर्वाचित उनी यस पटक समाजवादीबाट निर्वाचित भएका हुन् ।
सत्ता गठबन्धनमा प्रदेश सभा सदस्य माओवादी केन्द्रको भाग परेपछि रावल समाजवादीबाट प्रतिस्पर्धामा होमिएका थिए । उनले ८ हजार १ सय ६३ मत ल्याएर निर्वाचित भएका छन् ।
रावलका मुख्य प्रतिद्वन्द्वी राप्रपाका धर्मराज जोशी ६ हजार, ४१४ र माओवादी केन्द्रका भट्टले ५ हजार ६७४ मत ल्याएका छन् । राप्रपाका जोशीलाई एमाले र माओवादी केन्द्रका भट्टलाई काँग्रेसको साथ थियो ।
एमाले र काँग्रेस दुबैको साथ पाएका उम्मेदवारलाई पराजित गर्दै रावल दोस्रो पटक प्रदेश सभा सदस्य भएका छन् । उनी सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री हुन् ।
सत्ता गठबन्धनका उम्मेदवार भट्ट र जोशी दुबैको मत भन्दा रावलले बढी मत पाएका छन् । सत्ता गठबन्धनका काँग्रेसका उम्मेदवार रमेश लेखकले यस प्रदेश सभा क्षेत्रका १३ वडाबाट १३ हजार ६ सय १९ मत पाएका छन् । लेखकको साथ भएका माओवादी केन्द्रका प्रदेश सभा सदस्य उम्मेदवार भट्टले भने उनी भन्दा ७ हजार ९ सय ४५ कम मत पाएका छन् ।
यस प्रदेश सभा सदस्यमा भीमदत्त नगरपालिका वडा नं. १,२,३,४,५,६,७,८,९,१०,१७, १९ र बेदकोट नगरपालिका ८ पर्छन् । बेदकोट ८ काँग्रेसका उम्मेदवार लेखकको वडा हो ।
प्रदेश सभा सदस्यमा पराजित भट्ट माओवादी केन्द्रका कञ्चनपुर इन्चार्ज हुन् । यस प्रदेशमा भीनपा १९ मा माओवादी केन्द्रले जितेको थियो । यस वाहेक भीनपा २,३, ७,९,१० माओवादी केन्द्रको राम्रो मत थियो ।
सत्ता गठबन्धनमा लेखकलाई मत दिने काँग्रेस मतदाताले भट्टलाई मत नदिएर समाजवादीका रावल वा राप्रपाका जोशीलाई दिएको आशंका गरिएका छन् ।
स्थानीय तह निर्वाचनमा यस क्षेत्रमा काँग्रेस ११ हजार ३९, एमाले ६ हजार ५३३, माओवादी केन्द्र २ हजार ३२५, समाजवादी २ हजार ७३, राप्रपा २ हजार ९सय ७९ र अन्यले २सय ६५मत पाएका थिए ।
स्थानीय तह निर्वाचनमा आएको मतका आधारमा माओवादीका सबै मतदाताले काँग्रेस उम्मेदवारलाई मत दिएका छन् । काँग्रेसका मतदाताले भने माओवादीलाई मत दिन अनिच्छुक देखिएका छन् ।
समाजवादीले स्थानीय तह निर्वाचनमा बेदकोट नगरपालिका ८ मा वडा अध्यक्ष जितेको थियो । भीनपा ९ मा समाजवादी दोस्रो भएको थियो ।
अघिल्लो निर्वाचनमा रावलले १२ हजार ८१७ मत ल्याएका थिए । यस क्षेत्रमा काँग्रेसका बागी पिताम्बर जोशीले १ हजार ९ सय २५ मत ल्याएका छन् ।
यसैगरी मौलिक जरोकिलो पार्टीका मोहन सिह धामी २ सय २८, नेकपा मालेका पदम सिह खत्री ३ सय ७४, नेपाल मजदुर किसान पाटीका सुरेन्द्र दमाई ८५, काँग्रेसका बागी गोपाल सिह बुढापाल १ सय ५१, स्वतन्त्र उम्मेदवार दिवान सिह मेजार(आग्री) २ सय ७१, समाजवादीका बागी लोक विक्रम थापा ६ सय ३७ र महादेव भट्ट १३ मत ल्याएका छन् । उनीहरुमध्ये भट्ट र दमाई दुबैले उम्मेदवारी निष्क्रिय पारी राप्रपाका जोशीलाई समर्थन गरेका थिए ।
प्रदेश सभा क्षेत्रका ४६ हजार ५८४ मतदातामध्ये २५ हजार २३६ मत खसेका थिए । जसमध्ये २३ हजार ९३५ मत सदर भएका थिए ।