माया लुहार हत्याकाण्ड : घर विदामा आएका सशस्त्र प्रहरीका जवानमाथि आशंका, जो हत्यापछि गाउँबाट फरार भएका छन्

Amity

महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहार र १५ वर्षीया नेहा लुहार गाउँकै अन्य दुई जना साथीसँग मंगलबार बिहान घरबाट निस्किए । लुगा सिलाउन उनीहरु पञ्चेश्वर गाउँपालिका–३ कुलाउ गएका थिए।

घरबाट कुलाउ पुग्न करिब डेढ घण्टाको पैदल यात्रा गर्नुपर्छ। माया र नेहा नाताले फुपु–भदै हुन् । उनीहरुसँगै घरबाट लुगा सिलाउन गएका अन्य दुई जना बेलुका घर फर्किए। तर, माया र नेहा बेलुकासम्म घर फर्किएनन् ।

janjyoti campus

कुलाउमै इष्टमित्र भएकाले उनीहरु त्यहीँ बसेको परिवारका सदस्यहरुले अनुमान गरे। तर, उनीहरु दोस्रो दिन बिहानसम्म सम्पर्क नआएपछि परिवारले खोजी गरे । परिवारका सदस्यहरुले कुलाउमा रहेका इष्टमित्रलाई सम्पर्क गरे।

त्यहाँ पनि उनीहरु भेटिएनन् । त्यस पछि परिवारका सदस्य र गाउँलेहरुले माया र नेहाको खोजीमा तिब्रता दिए। नेहालाई बुधबार दिउँसो गोठालाले पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगा फेला पारे।

उनी घाइते अवस्थामा थिइन् । नेहाले मायाको घाँटी रेटर हत्या भएको सुनाइन्। गाउँलेहरुले प्रहरीलाई खबर गरपछि नेहाले भनेकै ठाउँमा मायाको शव भेटियो ।

मायाको शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको हो। उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत रहेका थिए । माया म्यादी प्रहरी पनि थिइन्। घरबाट लुगा सिलाउन भनेर निस्किएकी माया कहिल्यै नफर्किने गरी अस्ताएकी छन् ।

घाइते नेहाको अहिले उपचार भइरहेको छ। स्थानीयले घटनामा शिवनाथ गाउँपालिका–६ सोलपालाका एक शसस्त्र प्रहरीमाथि आशंका गरेका छन्।ती शसस्त्र प्रहरीका जवान बिदामा घर आएका थिए ।

केही दिनअघि कुलाउमा उनले मायाको मोबाइल खोसेका थिए । घरमा सोधीखोजी गर्दा मायाले मोबाइल ‘साथी’ले लगेको बताएकी थिइन्। ती शसस्त्र प्रहरीका जवान अहिले फरार हुँदा उनीप्रति शंका बढेको स्थानीय बताउँछन् ।

‘शसस्त्र प्रहरीका जवानले केही दिन अगाडि मोबाइल खोसेको र अहिले उनी फरार रहेकाले आशंका बढेर गएको छ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले घटनास्थलको काम सकेर शव पोष्टमार्टमका लागि पाटन अस्पताल पठाइएको बताए ।

‘घटनास्थलको काम सकेर शव पोष्टमार्टमका लागि पठाएका छौं, घटनाका बारेमा बुझ्दैछौं,’ उनले भने, ‘अहिलेसम्म कसैलाई नियन्त्रणमा लिएका छैनौं ।’

ghar sansar
सम्बन्धित
Loading...