

महेन्द्रनगर । बैतडीमा घाँटी रेटिएर गम्भीर घाइते भएकी नेहा लुहारको उपचारमा सरकारी निकाय गम्भीर लापरवाही देखाएका छन् । घाँटी रेटिएर गम्भीर अवस्थामा पुगेकी उनलाई सुविधा सम्पन्न अस्पतालमा नलगेर पाटन स्वास्थ्य केन्द्रमा लगिएको छ ।
पाटन स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि उनलाई डडेल्धुरास्थित क्षेत्रीय अस्पताल ल्याइएको छ । गम्भीर अवस्थाकी नेहालाई सुरुमा प्राथमिक स्वास्थ्य केन्द्र लगेर सरकारी निकायले उदासिनता देखाएका छन् ।
बैतडीका नागरिक अगुवा भोजराज जोशीले नेहाको उपचारका सरकारी निकायबाट देखाएको लापरवाहीप्रति आक्रोश पोखेका छन् । उनले गरीबको छोरी भएका कारण उपचारमा लापरवाही गरिएकोमा आक्रोश पोखेका छन् ।
‘नेताहरुका छोरा छोरीको घाँटी काटिएको भए त्यहा हिजो नै हेलिकप्टर आउँथे, तर एउटा गरिव नेहा लुहारको घाँटी रेटिएको थियो..कसलाई के मतलब अहिले डडेल्धुरा अस्पताल पुगिन..’ उनले भनेका छन् ।

शिवनाथ गाउँपालिका ६ स्थित शिवनाथ मन्दिर नजिक घाँटी रेटेर हत्या गरिएको अवस्थामा भेटिएकी २१ वर्षिया माया लुहारसंगै नेहा पनि निस्केकी थिइन् । उनी पञ्चेश्वर र शिवनाथको सीमा क्षेत्र बालाडाँडामा गम्भीर घाइते अवस्थामा भेटिएकी हुन् ।
उनले दिएको जानकारीका आधारमा खोजी गर्दा मायाको शव भेटिएको थियो । उनको घाँटीको रुद्रघण्टीभन्दा माथि धारिलो भागमा हतियार प्रहार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले मायाको शव र नेहा रक्ताम्य अवस्थामा भेटिएको बताए ।
बुधबारसम्म पनि घर नफर्केपछि घर परिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा मायाको हत्या र नेहा गम्भीर घाइते अवस्थामा भेट्टिएकी हुन् ।
घटनापछि बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाही आफैं घट्नास्थल तर्फ हिँडेका छन् ।

