
महेन्द्रनगर । बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी २१ बर्षीया माया लुहारको घाँटी रेटेर हत्या गरिएको घट्ना सम्बन्धि अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख प्रमुख प्रेम बहादुर शाही आफैं घट्नास्थल पुगेका छन् । उनले घट्नास्थल निरीक्षण गरी लुहारका आफन्त र स्थानीयसित घट्ना सम्बन्धी जानकारी लिएका छन् ।
बुधबार विहान मायाको शव भेटिएपछि प्रहरी प्रमुख शाही नेतृत्वको टोली शिवनाथ पुगेको हो । प्रहरी टोली पुगेपछि घट्नास्थल मुचुल्का गरी मायाको शव जाँचका लागि पाटनस्थित प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको थियो । प्रहरीले हत्याकाण्डमा जोगिएकी नेहालाई पनि सोधपुछ गरी घट्ना सम्बन्धी जानकारी लिएको छ । उनलाई बुधबार साँझ उपचारका लागि डडेल्धुरास्थित उप क्षेत्रीय अस्पताल ल्याईएको थियो ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा सशस्त्र प्रहरी जवान भरत कोली हत्यामा संलग्न हुन सक्ने आधार देखिएका छन् । त्यस आधारमा प्रहरीले सशस्त्र प्रहरी जवान कोलीको खोजी पनि अघि बढाएको छ ।
घर विदामा आएका शिवनाथ ६ सोलपोलका कोली हत्यापछि गाउँबाट फरार भएका छन् । मंगलबार साँझतिर माया र नेहामाथि चक्कु प्रहार गरिएको प्रहरीको आशंका छ । घाँटीमा चक्कु लगाएपछि नेहा भागेर ज्यान जोगाउन सफल भएकी छन् । उनको डडेल्धुरास्थित उप क्षेत्रीय अस्पतालमा उपचार भई रहेको छ ।
सशस्त्र प्रहरी जवान भरतले केही दिन अघि जबरजस्ती गरी खोसेको मोबाइल लिन माया नेहा र गाउँका अन्य जनासंगै शिवनाथ आएकी हुन् । घर परिवारलाई भरतले नभएर साथीले मोबाइल लगेको बताएकी माया लुगा सिउन भन्दै शिवनाथ आएकी थिइन् । त्यहीं बेला कोलीसित भेटघाट भएपछि घट्ना हुन पुगेको स्थानीय बताउँछन् ।
स्थानीयले शिवनाथ मन्दिर नजिक बसेका उनीहरुमध्ये नेहालाई अलग बसाएर भरतले मायाको हत्या गरेपछि नेहामाथि चक्कु प्रहार गरेको हुन सक्ने आशंका गरेका छन् । नेहाले पनि आफूमाथि आक्रमण भएपछि प्रतिकार गरी फरार भएर ज्यान जोगाएको बताएकी छन् । रातभरि जङ्गलमा बसेकी उनी बुधबार विहान घाइते अवस्थामा भेटिएकी हुन् । घाइते अवस्थामा भेटिएपछि पनि नेहाले पुलिसले चक्कु हानको बताएकी थिइन् ।
नेहाको घर परिवारले पनि माया र भरतबीच फोनमा कुराकानी हुने गरेका बताएका छन् । निर्वाचनमा म्यादी प्रहरी भएकी माया चुनावमा शिवनाथमा खटिएकी थिइन् । उनी शिवनाथमा खटिएपछि सशस्त्र प्रहरी कोली विदामा घर आएको हुन सक्ने प्रहरीको आशंका छ ।
मंगलबार घरबाट कपडा सिलाउन जान्छु भनि पञ्चेश्वर ३ कुलाउतिर हिँडेकी माया घर नफर्केपछि खोजी गर्दै जाँदा हत्या गरेको अवस्थामा बुधबार शव फेला परेको थियो । उनीसंगै गएकी १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी थिइन् ।
मायाको शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा राखिएको छ । मायाको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको र घटनाको अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लोकराज जोशीले बताए । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीको नेतृत्वमा प्रहरीले घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको छ ।
प्रहरीले घट्नाको अनुसन्धान भइरहेकाले विस्तृत विवरण दिन अस्वीकार गरेको छ । पञ्चेश्वर गाउँपालिकाका प्रवक्ता जनक बहादुर चन्दले बुधबार मयााको मोबाइल खोसेर लगेको र त्यसपछि गाउँबाट वेपत्ता भएकाले सशस्त्र प्रहरी हत्यामा संलग्न हुन सक्ने बताएका थिए ।
