माया हत्याकाण्ड : प्रहरीको प्रारम्भिक अनुसन्धानमा सशस्त्र प्रहरी जवान नै संलग्न देखिए, खोजीका लागि व्यापक प्रहरी परिचालन
महेन्द्रनगर । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सशस्त्र प्रहरी जवान भरत कोली माया हत्यामा संलग्न देखिएपछि खोजीका लागि प्रहरी परिचालन गरिएका छन् । उनी भारत जान सक्ने आशंकामा महाकाली नदीको तटीय सहितका क्षेत्रमा प्रहरी परिचालन गरिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार कोलीको खोजीका लागि व्यापक प्रहरी जनशक्ति परिचालन गरिएको छ । प्रहरी कार्यालयलाई सहयोग गर्न प्रदेश प्रहरीको टोली पनि बैतडी पुगेको छ ।
प्रहरीले हत्यामा सशस्त्र प्रहरी जवान सशस्त्र देखिएको बताए पनि उनी सम्बन्धी विवरण बाहिर ल्याएको छैन । घर विदामा आएका सशस्त्र प्रहरी कोली हत्यापछि गाउँबाट फरार भएको स्थानीयले बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी प्रेम बहादुर शाहीले प्रारम्भिक अनुसन्धानको क्रममा उक्त तथ्य खुलेको र दोषीलाई पक्राउ गर्न सादा पोशाकमा प्रहरी खटाइएको बताए । बुधबार प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको टोली घट्नास्थल पुगेको थियो ।
शिवनाथ गाउँपालिका ६ स्थित शिवनाथ मन्दिर नजिक मंगलबार साँझ २१ वर्षिया माया लुहारको धारिलो हतियारले घाँटी रेटेर हत्या गरिएको थियो । उनीसँगै रहेकी १५ वर्षीया बालिका नेहा लुहार घाइते अवस्थामा फेला परेकी थिइन् । माया घाइते नेहाकी फुपु हुन् । माया प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा म्यादी प्रहरी भएकी थिइन् ।
प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा घाइते बालिका नेहाको बयान लिएको छ । प्रारम्भिक बयानमा उनले सशस्त्र प्रहरीका जवान भरत कोलीले हत्या गरेको बताएकी हुन् ।
‘पीडित बालिकाको बयान र घटना हुनुअघिका दिनमा मृतक माया र ती सशस्त्र प्रहरी जवानका बीचमा भएको वार्तालापले गर्दा उनको संलग्नताको आशंका गरिएको हो,’ डिएसपी शाहीले भने ।
सशस्त्र प्रहरी बल नेपालमा कार्यरत शिवनाथ गाउँपालिका–४ का कोली घर बिदामा आएका थिए । मायासँग कोलीको राम्रै चिनजान रहेको स्थानीयले बताए ।
म्यादी प्रहरीको समय सकिएपछि घर फर्किने बेला मृतक मायाको फोन कोलीले खोसेर आफूसँगै राखेको जानकारी परिवारले दिएको पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष तथा प्रवक्ता जनकबहादुर चन्दले बताए ।
मंगलबार बिहान १० बजे तिर घरबाट पञ्चेश्वर गाउँपालिका–३ कुलाउमा लुगा सिलाउन गएको भनिए पनि माया फोन लिन र कोलीसँग भेटघाट गर्न घरबाट १५ वर्षीय नेहालाई साथमा लगेर शिवनाथ गएको खुल्न आएको छ ।
लुगा सिलाउन भनेर हिँडेकी युवती घर नफर्के पछि बुधवार आफन्तले प्रहरीमा खबर गरेर खोजी गर्दै जाँदा बुधवार बेलुकी ४ः१५ बजे माया मृत अवस्थामा फेला परेकी थिइन् भने नेहा घाइते अवस्थामा भेटिएकी थिइन् ।
प्रहरी नायब उपरीक्षक शाहीले आरोपित फरार रहेकाले उनको घर पुगेर थप विवरण बुझ्ने काम भइरहेको टेलिफोनमा बताए ।