
हत्या आरोपी सशस्त्र प्रहरीले कब्जामा लिएको मायाको मोबाइलभित्र लुकेको छ हत्याको रहस्य, अनुसन्धानबाट भेटिने आशमा प्रहरी
महेन्द्रनगर । बैतडीको शिवनथामा घाँटी रेटेर हत्या गरिएकी पञ्चेश्वरकी माया लुहारको हत्याको कारण सशस्त्र प्रहरी जवान भरत कोलीले कब्जा गरेको मायाको मोबाइलबाट भेटिने अपेक्षा गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा सशस्त्र प्रहरी जवान कोलीले चक्कु प्रहार गरी हत्या गरेको खुलेपछि प्रहरीले मोबाइल फोनलाई अनुसन्धानमा प्राथमिकता दिएको हो । प्रहरीका अनुसार केही दिन अघि कोलीले कुलाउँबाट मायाको मोबाइल खोसेर ल्याएका थिए । त्यहीं मोबाइल लिन बोलाएर उनले मंगलबार साँझ मायाको घाँटी रेटेर हत्या गरेका हुन् ।
प्रहरीले माया र भरतबीच चुनाव सकिएपछि कुलाउमा भेटपछि उनी मोबाइल खोसेर ल्याएको भेटाएको हो । मोबाइल खोसेर ल्याएको स्थानीयले देखे पनि मायाले घर परिवारलाई भने जानकारी नदिएको पाईएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक प्रेम बहादुर शाहीले त्यो मोबाइल अहिलेसम्म फेला पर्न नसकेको र खोजी भइरहेको बताए । बुधबार शव भेटिएपछि शाही आफैं घट्नास्थल पुगेर अनुसन्धान गरि रहेका छन् ।
प्रहरी स्रोतका अनुसार मायाको मोबाइलबाट उनका साथीहरुसँग भरतले फेसबुक म्यासेन्जरमा कुराकानी गरेको पाइएको छ । ‘को–कोसँग के–के संवाद भए त्यो अझै खुलेको छैन् । तर मायाका अन्तरंग साथीहरुसँग भरतले कुराकानी गरेको हुनसक्ने प्रहरीको आशंका छ । ‘त्यसक्रममा युवतीको अरुसँग पनि अफेयर भएको शंका भरतले गरेको हुन सक्छ,’ अनुसन्धानमा प्रहरी संलग्न स्रोतले भन्यो ।
प्रहरी अनुसन्धानका क्रममा माया र भरतबीच विहेका कुरासम्म चलेको बाहिर आएको छ । मायाको मोबाइल कब्जा लिएका भरतले योजना बनाएर मायालाई बोलाएर हत्या गरेको प्रहरीको आशंका छ । ‘बिहे गर्न तयार भएकी युवतीलाई भरतले घनघोर जंगलमा बोलाएका थिए र, साथमा हतियार पनि’ स्रोतले भन्यो, ‘‘मोबाइलबाट मायाका केही सिक्रेट कुरा थाहाँ पाएर योजनावद्ध ढंगले मर्डर गरेको हुन सक्ने सम्भावना छ,’ स्रोतले भन्यो ।’
प्रहरी अनुसन्धानमा मंगलबार विहान ११ बजे कपडा सिलाउन कुलाउ जान्छु भन्दै घरबाट निस्केका उनीहरु शिवनाथ पुगेका छन् । भरतले खासेको मोबाइल लिन माया नेहा सहित आएको हुन सक्ने आशंका गरिएको छ ।
सैलोडास्थित जबलपुर माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने उनी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा म्यादी प्रहरी भएर शिवनाथमा खटिएकी थिइन् । पोखरामा कार्यरत शिवनथाका भरत पनि विदामा घर आएको देखिएको छ ।
शिवनाथ ४ का भरत कोली पनि घर विदामा आएका थिए । उनी पोखरास्थित सशस्त्र प्रहरी बलमा कार्यरत थिए । माया र भरतका बीच भेटघाट गर्ने सल्लाह भएरै विदामा आएको घटनाक्रमहरुले देखाएको छ।
उनीहरुको बीचमा चुनावको बेला मात्र होइन्, त्यसअघि पनि फोन र म्यासेन्जरमा कुराकानी हुने गरेको खुलेको छ। ‘म तिम्रो बहिनीसँग बिहे गर्छु’ भन्दै भरतले मायाको दाजुलाई यसअघि नै प्रस्ताव राखेको स्थानीय बताउँछन् ।
‘जात मिल्ने, जागिरे पनि भएकाले मायाको परिवारबाट कुनै रोकतोक थिएन्, उनीहरु विवाह गरिदिनेमा राजि थिए,’ स्थानीय समेत रहेका पञ्चेश्वर गाउँपालिका–४ का वडाध्यक्ष जनक बहादुर चन्दले भने, ‘बुवाको पहिल्यै मृत्यु भइसकेको थियो, बहिनीको मन मिल्छ भने बिहे गर्दिन्छु भन्दै दाई घर सल्लाहमा थिए ।’
शिवनाथ मन्दिर क्षेत्रको जंगल सुनसान हुन्छ । दिनमा हिँडडुल कम हुन्छ । त्यस्तो स्थानमा विश्वासकै कारण युवती भेटन गएकी थिइन् । मायासँग भदैनी नेहा पनि थिइन् ।
जंगलको बीचमा पुगेपछि भरतले हामी एकछिन कुराकानी गछौँ भन्दै नेहालाई टाढा पठाएका थिए । धेरै बेरसम्म उनीहरुसँग छुट्टिएर नेहा एक्लै बसिन । ढिलो भएपछि हेर्न गएको उनले प्रहरीलाई बयान दिएकी छन् ।
फुपुको हत्याले अत्तालिएकी नेहा चिच्याएपछि भरतले चक्कुले उनको घाँटीमा प्रहार गरेका थिए । दोस्रो पटक प्रहार गर्न खोज्दा नेहाले प्रतिकार गरेको र त्यस क्रममा चक्कु भाँचिएको प्रहरीले जनाएको छ ।
त्यसपछि भरतले नेहालाई लखेटेका थिए । घटनास्थल भन्दा केही तल उनको क्याप फेला परेको छ । चक्कु पनि बरामद भएको छ ।
अहिले भरत फरार छन् । उनको खोजीका लागि शिवनाथ र पञ्चेश्वरमा भने व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।
बुधबार मायाको शव शिवनाथ मन्दिर छेउको टेलिफोन टावर नजिक फेला परेको थियो। नेहा त्यहाँबाट अलिक टाढा बाटोमा घाइते अवस्थामा भेटिएकी थिइन्। नेहाको डडेल्धुरास्थित उप क्षेत्रीय अस्पताल उपचार भई रहेको छ ।
