
प्रदेश अध्यक्ष भण्डारीको गृह जिल्ला बैतडीमै मच्चियो एमालेभित्र रडाको, छानबिन समिति एकातिर, चन्दलाई कारवाही सिफारिश अर्कोतिर

महेन्द्रनगर । एमाले बैतडीले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अन्र्तघात छानबिनका लागि समिति गठन गरेको छ । एमाले जिल्ला सचिव चक्र कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
जिल्ला कमिटीले गठन गरेको छानबिन समितिले काम सुरु नगर्दै एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दलाई कारवाहीका लागि सिफारिश गरिएको छ । उनलाई एमाले जिल्ला कमिटीले बुधबार कारवाहीका लागि प्रदेश कमिटीमा सिफारिश गरिएको छ ।

गाउँपालिका अध्यक्ष चन्दमाथि निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन असहयोग गरेको आरोप लागेको छ । अध्यक्ष चन्दको गाउँपालिकाबाट एमालेका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका दुबै उम्मेदवारले अग्रता लिएका थिए ।
निर्वाचनमा दुबै उम्मेदवारका अग्रता लिए पनि चन्दलाई एकाएक कारवाहीका लागि सिफारिश गरिएपछि चौतर्फी विरोध सुरु भएको छ । चन्दका समर्थकहरुले पूर्वाग्रह राखेर गरिएको कारवाही सिफारिश फिर्ता गर्न दबाव दिएका छन् । चन्दलाई कारवाही गरिए तल्लो स्वराड क्षेत्रमा एमाले सकिने चिन्ता पनि उनीहरुले गरेका छन् ।
एमालेको सुदूरपश्चिम प्रदेश अध्यक्ष दामोदर भण्डारी आफैं बैतडीमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । भण्डारीको समूहका सुरेन्द्र पाल प्रदेश क मा निर्वाचित भएका छन् । अर्का उम्मेदवार लिलाधर भट्ट चुनाव हारेपछि चन्द कारवाहीका लागि सिफारिश गरिएका छन् । एमालेका पराजित नेता भट्ट अघिल्लो निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।
एमाले बैतडीले चन्दलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गर्न सिफारिस गरेको छ । बुधबार बसेको सातौँ जिल्ला कमिटि बैठकले अध्यक्ष चन्दलाई कारवाहीका लागि सिफारिस गरेको हो ।
मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमिका खेलेको भन्दै जिल्ला कमिटिको बुधबार बसेको बैठकले पार्टीबाट निष्काशन गर्न प्रदेश कमिटिलाई सिफारिस गरेको एमाले बैतडीका अध्यक्ष सुरेन्द्र पालले बताए ।
चन्दलाई पालिका अध्यक्षबाट समेत पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्न प्रदेश कमिटीलाई आग्रह गरिएको छ ।
समिति गठनपछि छानबिन नगरी जिल्ला कमिटी आफैंले चन्दलाई कारवाहीका लागि सिफारिश गरिएपछि छानबिन समिति नै विवादमा तानिएको छ ।
‘एकातिर छानबिन समिति गठन गरिएको छ, त्यो समितिले जिल्लामा आएका उजुरी, प्रमाण सबै अनुसन्धान गरेर मात्रै टुङ्गोमा पुग्नु पर्ने हो’ एमाले सुदूरपश्चिम प्रदेश कमिटीका एक सदस्यले भने, ‘यो त जे गर्दा पनि हुन्छ भन्ने जसरी कारवाही सिफारिश गरिएको छ, यसले पार्टीभित्र झन समस्या आउन सक्छ ।’
छानविनका लागि जिल्ला कमिटी सचिव चक्र कार्कीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा जिल्ला सचिवालय सदस्य नरेश पाण्डे ‘निर्मल’ र सिगास गाउँपालिका ईन्चार्ज योगेन्द्र अवस्थी छन् ।
बैठकमा निर्वाचनमा अन्र्तघात गर्ने झण्डै दुई दर्जन कार्यकर्तालाई कारवाही गर्न छलफल भएको नेताहरु बताउँछन् ।
