
भीमदत्त र दोधारा चाँदनीले औपचारिक रुपमा रोयल्टी बाँडफाँट सम्झौता खारेज गर्दै महाकाली नदीमा लगाए भागबण्डा

महेन्द्रनगर । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाले अघिल्लो कार्यकालको रोयल्टी बाँडफाँट सम्झौता औपचारिक रुपमा खारेज गरी महाकाली नदीमा भागबण्डा गरेका छन् । पाँच वर्ष अघि स्थानीय तह निर्वाचनपछि महाकाली नदीको नदीजन्य पदार्थ उत्खननमा विवाद आएपछि दुबै नगरपालिकाबीच रोयल्टी बाँडफाँट सम्झौता गरिएको थियो ।
यस वर्ष दोधारा चाँदनी नगरपालिकाले भीमदत्तसित सम्झौता नविकरण गरी ठेक्का खोलेपछि भीमदत्तसित फेरि विवाद उत्पन्न भएको थियो । त्यसपछि दुबै नगरपालिकाले उत्खनन गर्न पाउने क्षेत्र छुट्याएर महाकाली नदीमा भागबण्डा गरेका छन् । दुबै नगरपालिकाको प्राविधिक सहितको टोलीले सोमबार झोलुंगे पुल र ४ लेनको पक्की पुललाई आधार मानेर नदीको बीच भाग छुट्याएका छन् । जीपीएस विधिबाट केन्द्रबिन्दु पहिचान गरिएको हो।

अब उक्त केन्द्रलाई आधार मानेर दुवै पालिकाले आ–आफ्नो तर्फको भूभागबाट निर्माण सामग्री उत्खनन गर्न सक्ने भएका छन् । जनप्रतिनिधि र प्राविधिकहरूले लामो समयको छलफलपछि नदीमा डिमार्केसन गरेर आफ्नो क्षेत्र छुट्याएका छन् ।
‘प्राविधिक रूपमा विवाद टुंगिएको छ, दुवै पालिकाका प्राविधिकले डिमार्केसन गरेर आ–आफ्नो क्षेत्र छुट्याइयो,’ दोधारा चाँदनी नगरपालिकाका इन्जिनियर दीपेन्द्र भट्टले भने, ‘अब दुवै पालिकाले सोही क्षेत्रबाट उत्खनन गर्न सक्नेछन् ।’
महाकाली नदीमा निर्माण सामग्री उत्खननका लागि दोधारा चाँदनीले भ्याट सहित १ करोड ३२ लाखमा ठेक्का दिएको छ। तर भीमदत्त नगरपालिकाले आईई वा ईआईएसमेत नगरी अमानतबाट निर्माण सामग्री उत्खनन गरिरहेको छ ।

भीमदत्त नगरपालिकाको नगर सभाले करिब ६ करोडमा ठेक्का दिने सीमा तोकेको थियो । तर हालसम्म पनि आईई वा ईआईए हुन नसकेकाले ठेक्का भएको छैन । भीमदत्तले ठेक्का प्रक्रिया सुरु नगरेपछि दोधारा चाँदनीले छुट्टै ठेक्का प्रक्रिया अपनाएको हो । भीमदत्तले आफ्नो क्षेत्रमा अवैध रुपमा रोयल्टी संकलन गर्दै आएको छ ।
अघिल्लो कार्यकालमा दुबै नगरपालिकाले रोयल्टी बाँडफाँट सम्झौता गरेपछि भीमदत्त नगरपालिकाले ठेक्कापट्टा गर्दै आएको थियो । ठेक्का अनुसार गरिएको आम्दानीका ३८ प्रतिशत रकम दोधारा चाँदनीलाई दिने गरिएको थियो ।
भीमदत्तमा नयाँ नेतृत्व आएपछि दोधारा चाँदनीले गत वर्षको रकम पाएको छैन । भीमदत्तले ठेक्का नखोली अमानतबाट रोयल्टी संकलन गर्ने बताएपछि दोधारा चाँदनी आफ्नो क्षेत्रमा ठेक्का लगाएको हो ।
‘निर्माण सामग्री उत्खननका विषयमा दुई पालिकाबीच देखिएको विवाद टुंग्याएका छौँ,’ भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालय सिंह ऐरले भने, ‘यो सीमांकनभन्दा पनि उत्खननका लागि छुट्याइएको क्षेत्र मात्रै हो।’
उनका अनुसार दुवैतर्फ तटबन्धबाट २÷२ सय मिटर छाडेर उत्खनन गर्न सकिनेछ । यसका लागि केन्द्र पनि पहिचान गरिएको छ । दुवै पालिकाले केन्द्रलाई नै आधार मानेर उत्खनन गर्न सक्नेछन्। ‘अहिले गरिएको डिमार्केसन सधैंका लागि होइन, अर्को वर्ष भंगालो अर्को तर्फ गए त्यही अनुसार जानु पर्छ,’ इन्जिनियर ऐरले भने ।
महाकालीबाट संकलन हुने रोयल्टी दुवै पालिकाको प्रमुख आम्दानीको स्रोत हो । यही कारणले दुई पालिकाबीच बेलाबेलामा विवाद हुने गरेको छ। महाकाली नदीका बारेमा हुने विवाद तथा सम्भावनाका विषयमा समन्वयका लागि दुवै पालिकाका नदी किनारका वडाध्यक्षहरू रहने गरी कार्यदल गठन गर्ने सहमतिसमेत भएको इन्जिनियर ऐरले बताए ।
कार्यदलले बेलाबेलामा आउने समस्यादेखि प्रभावित क्षेत्रमा निम्तिने समस्या र सम्भावनाका विषयमा छलफल गर्नेछ ।
