

महेन्द्रनगर । नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । बुधबार बिहान सिंहरदरबारस्थित दलको कार्यालयमा भएको मतदानका क्रममा देउवा ६४ मत सहित दलको नेतामा विजयी भएका हुन् । उनका प्रतिस्पर्धी महामन्त्री गगन कुमार थापाले २५ मत प्राप्त गरेका छन् ।

थापालाई शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, युवा नेता प्रदीप पौडेल लगायतको समर्थन थियो भने देउवालाई उपसभापति पूर्ण बहादुर खड्का, रामचन्द्र पौडेल, प्रकाशमान सिंह लगायतको समर्थन थियो ।
दलको नेता चुनिन ५० प्रतिशत मत कटाउनुपर्ने थियो । यस अनुसार दलको नेता बन्न ४५ सांसदको समर्थन आवश्यक थियो । देउवाले पहिलो चरणमै ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन्। दलको नेतामा निर्वाचित भएसँगै देउवाका लागि छैटौं पटक प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ ।
