
महेन्द्रनगर । राष्ट्र सेवक तथा ऋण सहकारी संस्था लि. कञ्चनपुरको २१ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । नेफ्स्कुनका सञ्चालक एवम् सुदूरपश्चिम प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधव प्रसाद जोशीको प्रमुख आतिथ्यम साधारण सभा गरिएको छ ।
सहकारीका अध्यक्ष पूर्ण बहादुर कुँबरको अध्यक्षतामा गरिएको उद्घाटन सत्रमा प्रमुख अतिथि जोशीले पानसमा दिप प्रज्वलन गरी साधारण सभा उद्घाटन गरे ।

उनले सहकारीका सिद्धान्तलाई आत्मसात गरी सहकारीको लक्ष्य र उद्देश्य अनुसार सहकारी सञ्चालन हुनु पर्नेमा जोड दिए । उनले सहकारी सरकारको तीन खम्बे आर्थिक नीतिको प्रमुख हिस्सेदार भएको उल्लेख गर्दै सहकारीबाट आर्थिक क्रान्ति हुने विश्वास व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा सहकारीका सल्लाहकारहरु देबदत्त जोशी, राज बहादुर चन्द, प्रताप चन्द लगायतले शुभ कामना मन्तव्य राख्दै सहकारीलाई सबै राष्ट्र सेवक कर्मचारीसम्म पुगाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा सहकारीका अध्यक्ष कुँबरले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष केशवदत्त बडूले आर्थिक र लेखा समितिका संयोजक शिवराज अवस्थीले आन्तरिक लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाबाट तिनै प्रतिवेदन सहितको सहकारीको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम पारित गरिएको छ ।
२०५७ मा निजामती कर्मचारी बचत तथा ऋण सहकारी संस्था लि.को नाममा दर्ता भएको सहकारीको नाम सोही वर्ष साधारण सभाबाट राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था राखिएको थियो । हाल सहकारीमा ६ सय ४ शेयर सदस्य छन् ।
७७ लाख ३९ हजार शेयर रकम भएको सहकारीले यस वर्षसम्म १७ करोड ८५ लाख निक्षेप संकलन गरेको छ । यसैगरी सहकारीले २ करोड ६२ लाख ऋण प्रवाह गरेको छ ।
यस वर्षसम्म सहकारीले १३ लाख ४२ हजार नाफा आर्जन गरेको छ । साधारण सभामा सहकारीले उत्कृष्ठ बचतकर्ता र असल ऋणीलाई सम्मान गरेको छ ।
उत्कृष्ठ बचकर्तामा धना जोशी र रघुबर भट्ट सम्मानित भएका छन् । यसैगरी असल ऋणीमा सुशिला उराव र गोविन्द प्रसाद जोशीलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जोशीले उनीहरु सबैलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।
सहकारीका सचिव पुरुषोत्तम भट्टले सञ्चालन गरेको कार्यक्रममा सदस्य बिस्ना पन्त भट्टले स्वागत मन्तव्य राखेकी थिइन् ।
